काठमाडौं। सन् २००८ मा रोनाल्डीन्होले बार्सिलोना छाडेर एसि मिलान जाने निर्णय लिए। त्यतिबेला बार्सिलोनामा युवा खेलाडी लियोनल मेस्सीको प्रभाव बढ्दै थियो। २७ वर्षे ब्राजिलियन रोनाल्डिन्होले बार्सा छाडेको खबर सामान्य थिएन।
५ वर्ष बार्सिलोनामा रहँदा उनले दुईपटक फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए। बार्सिलोना आउनु अघि ग्रेमियो र पेरिस सेन्ट जर्मनका लागि खेलेका थिए तर क्लब फुटबलमा बार्सिलोना आएपछि मात्र रोनाल्डिन्होको प्रभाव ह्वात्तै बढ्यो।

त्यसैले रोनाल्डिन्होले बार्सिलोना छाड्ने कुरा जति चर्चामा थियो त्यत्तिकै चर्चामा थियो अब उनले लगाउँदै आएको १० नम्बरको जर्सी कसले लगाउँछ ? किनभने बार्सिलोनामा १० नम्बर जर्सीको शान फेरी उच्च बनेको थियो। रोनाल्डिन्होले लोभलाग्दो बनाएका थिए।
सामान्यतया १० नम्बरको जर्सी स्ट्राइकरले लगाउँछन। १० नम्बर जर्सी लगाउने भनेपछि टिमकै खत्रा स्ट्राइकर। विपक्षी डिफेन्डर र गोलकिपरको पसिना छुटाउने खेलाडी। यो एउटा सामान्य मान्यता हो।
कुनैपनि टिममा १० नम्बर जर्सीको महत्व कति छ भन्ने विगतमा त्यो जर्सी कसले लगाएको थियो भन्नेमा निर्भर हुन्छ। सबै टिममा १० नम्बर जर्सीको महत्व हुन्छ भन्ने छैन। उदाहरणका रुपमा रियल म्याड्रिडलाई लिन सकिन्छ जसमा ७ नम्बर जर्सीको बढी महत्व छ किनभने यो जर्सी नम्बर क्रिस्टियानो रोनाल्डोले लगाएका थिए। अन्य क्लबमा अरु जर्सी नम्बरको महत्व ऐतिहासिक हुन सक्छ। डिएगो म्याराडोना र पेलेले लगाएकाले जर्सी नम्बर १० सँधै चर्चामा रह्यो।
बार्सिलोनामा पनि १० नम्बर जर्सीको महत्व ऐतिहासिक छ। विगतमा यो जर्सी नम्बर डिएगो म्याराडोनाले लगाएका थिए। म्याराडोनाले अर्जेन्टिनाको टिमबाट पनि १० नम्बरकै जर्सी लगाएका थिए। रिभाल्डोले पनि ५ वर्ष यो जर्सी नम्बर लगाएर बार्सिलोनाबाट खेले।
रोनाल्डिन्होले दुईपटक फिफा वर्ष खेलाडी जितेका थिए। त्यसैले पनि उनले लगाएको जर्सी नम्बर अब कसले लगाउला ? फुटबल प्रेमिहरुले प्रतिक्षा गरिरहेका थिए। सम्भावना मेस्सीकै बढी थियो। बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन उनलाई अर्जेन्टिना र विश्व फुटबलले नयाँ म्याराडोनाको अर्को रुप भन्न थालेको थियो।
मेस्सी आफै पनि म्याराडोनालाई आफ्नो आदर्श मान्थे। सन् २००५ अर्जेन्टिनाले यू-२० विश्वकप जित्दा गोल्डेन बुट र गोल्डेन बल दुवै हात पार्न सफल भए। सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिकमा गोल्ड मेडल जित्दा मेस्सीकै भूमिका निर्णायक थियो। त्यतिबेलासम्म उनी तीनपटक अर्जेन्टिनाको वर्ष फुटबलर भइसकेका थिए। यू-२० विश्वकप जित्दा १० नम्बरको जर्सी पाएका मेस्सीले ओलम्पिकमा भने १५ नम्बरको जर्सी लगाएका थिए।
त्यसैले रोनाल्डिन्होले लगाउँदै आएको जर्सी नम्बर १० को स्वभाविक दावेदार थिए मेस्सी। क्लबमा ऐतिहासिक महत्व बोकेका यस्ता जर्सी नम्बरहरु लगाउन खेलाडीले चाहेर मात्र पुग्दैन थियो। क्लबले पनि निकै सोचेर निर्णय गर्थे।
मेस्सी त्यसअघि पछिल्ला दुई सिजन १९ नम्बरको जर्सी लगाउँदै आएका थिए। सुरुवाती दिनमा उनले ३० नम्बरको जर्सी लगाएका थिए। रोनाल्डिन्होको विदाईपछि अनुमान गरिएजस्तै मेस्सीलाई जर्सी नम्बर १० दिइयो। मेस्सीले आफुले कहिल्यै १० नम्बर जर्सी नमागेको विभिन्न सन्दर्भहरुमा बताएका छन्। तर जे होस् १० नम्बर जर्सी मेस्सीका लागि फलिफाप भयो।
मेस्सीले १० नम्बर जर्सी लगाएको पहिलो सिजनमै बार्सिलोनाले ला लिगा जित्यो, युरोपियन च्याम्पियन्स लिग हात पार्यो। मेस्सी पहिलोपटक फिफा वर्ष खेलाडी बने। पहिलो सिजनमै उनी ला लिगाको सर्वोत्कृष्ट खेलाडी चुनिए। त्यसै सिजन उनी युरोपियन वर्ष खेलाडी पनि डिक्लियर भए। सन् २००९ मा मेस्सीले पहिलोपटक अर्जेन्टिनाको सिनियर टोलीबाट पनि १० नम्बरको जर्सी लगाउन पाए। सुखद संयोग के थियो भने त्यतिबेला अर्जेन्टिनी टोलीका प्रशिक्षक म्याराडोना थिए।
१० नम्बरको जर्सी लगाएर मेस्सीले बार्सिलोनाबाट ६ पटक फिफा वर्ष खेलाडी जिते। १० नम्बरको जर्सी लगाएर उनी करियरमा ८ पटक फिफा वर्ष खेलाडि बनेका छन्। १० नम्बरको जर्सी लगाएर मेस्सीले एकपटक विश्वकप, दुईपटक कोपा अमेरिका र चारपटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्। धैरैपटक घरेलु लिग उपाधि हात पारेका छन्।
सन् २०२१ मा मेस्सीले बार्सिलोना छाडेपछि उनले लगाउँदै आएको जर्सी नम्बर अब कसले लगाउँछ ? जिज्ञासा व्यापक थियो। त्यसो त मेस्सीको सम्मानमा उक्त जर्सी नम्बर बार्सिलोनाले रिटार्य गर्न सक्ने विकल्प पनि थियो।
विश्वका थुप्रै क्लब र देशले आफ्ना महान खेलाडीले लगाउँदै आएको जर्सी ती खेलाडीको सम्मानमा रिटायर गर्छन्। जस्तो की नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लगाउने गरेको जर्सी नम्बर ७७ लाई पनि नेपाल क्रिकेट संघले रिटायर गरेको छ। तर ला लिगाको एउटा नियमका कारण मेस्सीको जर्सी नम्बर रिटायर गर्न बार्सिलोनालाई गाह्रो थियो।
नियमअनुसार ला लिगामा कुनैपनि टिमले स्क्वाड घोषणा गर्दा बढिमा २५ जना खेलाडी र एकदेखि २५ सम्मका नम्बर मात्र जर्सीमा प्रयोग गर्न मिल्छ। कुनै एउटा नम्बर रिटायर गर्नु भनेको बढीमा २४ जनामात्र खेलाडी दर्ता गर्ने अवस्था बन्नु हो।
सोही कारण ला लिगामा कुनैपनि टिमले जर्सी नम्बर रिटायर गर्दैनन्। अन्य देशमा भने यस्तो छैन। जस्तो इटालीमा नापोलीले म्याराडोनाले लगाएको १० नम्बर जर्सीलाई रिटायर गरेको छ। त्यस्तै न्युयोर्क कसमसले पनि पेलेले लगाएको १० नम्बर जर्सी रिटायर गरेको छ। एसि मिलान र एएस रोमाले पनि खेलाडीको सम्मानमा जर्सी नम्बर रिटायर गरेका छन्।
तर बार्सिलोनामा भने १० नम्बर जर्सी खुला राखियो। त्यसैले यो जर्सी अब कसले लगाउला ? चासो बढेको थियो। ला मासियाका उत्पादन अंशु फाती भाग्यमानी देखिए। तर दुर्भाग्य भन्नुपर्छ- उनी चाँडै घाइते हुन पुगे। सन् २०२३ देखि बार्सिलोनाले फातीलाई लोनमा अन्य क्लब पठाइ रहेको छ।
त्यसयता कसैलाई नदिइएको जर्सी नम्बर १० पाउने भाग्यमानी बनेका छन् १८ वर्षे लेमिन यमाललाई। जसरी रोनाल्डिन्होपछि मेस्सीलाई स्वभाविक दावेदार मानिएको थियो त्यसैगरी यमाललाई दावेदार मानिएको थियो यसपटक। संयोग नै मान्नुपर्छ- मेस्सीले १० नम्बर पाउनु अघि उनी १९ नम्बर जर्सी लगाउँथे। अहिले यमाले पनि १९ नम्बर जर्सी लगाइरहेका थिए।
केही दिन अघि मात्र १८ औँ जन्मदिन मनाएका यमालसँग बार्सिलोनाले बुधबार सम्झौता सन् २०३१ सम्मका लागि लम्ब्यायो। सँगै घोषणा गर्यो-अब जर्सी नम्बर १० यमालले लगाउने छन्।
मेस्सी र अंशु फातीजस्तै यमाल पनि ला मासियाकै उत्पादन हुन्। यमाललाई बार्सिलोनामा १० नम्बर जर्सीको लिगेसी धान्न सक्ने खेलाडीका रुपमा हेरिँदै आएको थियो।
यमालले सन् २०२२/२३ सिजन बार्सिलोनाबाट डेब्यु गरेका थिए भलै त्यस सिजन उनले एक खेल मात्र खेलेका थिए। पछिल्ला दुई सिजन उनले घरेलु लिगमा केवल ४ खेल मात्र मिस गरे। यसबीचमा यमालले दुईपटक घरेलु लिग तथा कोपा डेल रे र स्पेनिस सुपर कप जितेका छन्। गत वर्ष युरो कप जितेका छन्। गत वर्ष भएको युरो कपमा उनी बेस्ट यङ प्लेयर घोषित भएका थिए।
उनले बार्सिलोनाका लागि एक सय ५ खेलमा २५ गोल र ३४ असिस्ट गरेका छन्। उनले स्पेनको सिनियर टोलीबाट २० खेलमा ६ गोल गरेका छन्। प्ले मेकरका रुपमा उनको दबदबा विश्वस्तरमा बढिरहेको छ। उनले फ्रान्सका केलियन एमबाप्पेजस्ता खेलाडीहरुलाई ओझेलमा पारिरहेका छन्।
गत वर्ष युरो कप भइरहेका बेला एउटा तस्विर भाइरल भएको थियो जसमा मेस्सीले नुहाईदिइरहेको देखिने ६ महिनाका बालक यमाल थिए। त्यो एउटा फोटो सुट थियो जुन झन्डै दुई दशकपछि एकाएक चर्चामा आएको थियो। यही विभिन्न कनेक्सनका कारण यमाललाई नयाँ मेस्सी भन्ने जमात ठुलो छ। तर १० नम्बरको जर्सी पाएपछि यमालले आफुलाई मेस्सिसँग तुलना गर्न नचाहेको बताएका छन्। आफुले आफ्नै तरिकाले पहिचान बनाउने संकेत उनको छ। यद्यपी मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको स्विकारेका छन्।
पछिल्लो समय यमाल आफैले १० नम्बरको जर्सी लगाउने इच्छा व्यक्त गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। पेले, म्याराडोनादेखि मेस्सीसम्मले लगाएको यो जर्सी नम्बरको लिगेसी धान्न यमाललाई सजिलो भने हुने छैन। उनले युरोपियन च्याम्पियन्स लिग, विश्वकपदेखि फिफा वर्ष खेलाडीसम्म जित्न बाँकी छ। प्ले मेकरसहित नियमित गोल गर्न सक्ने खेलाडीका रुपमा उनले आफुलाई उभ्याउनु पर्ने छ।
यमालले हरेकपटक यो जर्सी नम्बर लगाइरहँदा दर्शकहरुले पेले, म्याराडोनादेखि मेस्सीसम्मलाई सम्झन सक्ने बनाएमा उनका लागि ठुलो सफलता हुने छ। जर्सी नम्बर १० को लिगेसी उनले धान्छन् धान्दैनन्। यतिबेला फुटबल प्रेमिहरु व्यग्र प्रतिक्षामा छन्।



