काठमाडौं। कहाँसम्म चाहिँ पुग्छ ? बा, अब लगातार झर्ने पो हो की ! यतिबेला सेयर बजारका लगानीकर्ताहरु यस्तै सोचिरहेका छन्। तपाई पनि यस्तै कन्फ्युजनमा भएको हुनुपर्छ। पुग्छ चाहिँ कतिसम्म ? लगानी गरौँ बजार झर्न पो थाल्ने हो की !
सेयर बजार बढोस् या घटोस् साना लगानीकर्ताहरुलाई बजारमा इन्ट्री गर्न सँधै यस्तै सकस पर्छ। जब बजार बढ्न थाल्छ- लगानीकर्ताहरु हरेक दिन लोभिन्छन्। अस्ति नै लगानी गरेको भए, मनमनै नाफाको हिसाब सुरु हुन्छ। बजार बढ्दा प्राय लगानीकर्तालाई यस्तै हुन्छ। मैले यसो भनिरहँदा यसले मेरै मनको कुरा भनिरहेको छ। तपाईलाई यस्तै लागिरहेको हुनुपर्छ।

यो कुरा किन गरिरहेको छु भने यतिबेला सेयर बजार बुलतर्फ जान सक्ने संकेत गर्दै बढिरहेको छ। फेरी एकपटक चर्चा भइरहेको छ- के नेप्से बुलतर्फ अगाडी बढ्दै छ। यसरी आशंका हुनु पछाडि केही आधारहरु छन्।
सेयर बजार पछिल्लो ५ कारोबार दिनमा मात्र एक सय १० अंकले बढेको छ। त्यसअघि पनि सेयर बजार लगातार बढिरहेको थियो। यो वृद्धको केन्द्रमा छ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति। गत शुक्रबार अर्थात आजभन्दा एक साता अघि मात्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो।
त्यसयता नेप्सेमा ५ दिन कारोबार भएको छ। यसबीचमा केवल एक दिन मात्र नेप्से घट्यो। पछिल्ला तीन दिनमा मात्र एक सय ४४ अंकले बढेको छ। मौद्रिक नीति आएको दोस्रो कारोबार दिन मात्र बजार घटेको थियो। बिहीबार मात्र एकै दिन ७५.८४ अंकले नेप्से बढ्यो।
मौद्रिक नीति आउनुभन्दा अघिल्लो दिन नेप्से करिब २६ अंकले बढेको थियो। त्यस दिन २ करोड एक लाख १८ हजार ८ सय ४६ सेयर कित्ता कारोबार भएको थियो। ९ अर्ब ५० करोड ४३ लाख ८३ हजार ७ सय ४२ रुपैयाको कारोबार भएको थियो।
बिहीबार ३ करोड २१ लाख १४ हजार ४ सय २१ सेयर कित्ता खरिद विक्री भएको छ। त्यसमा १६ अर्ब ३० करोड ८० लाख ९६ हजार २ सय १८ रुपैयाँको कारोबार भएको छ।
मौद्रिक नीति आउनुभन्दा केहि दिन पहिलेदेखि सेयर बजार उचालिन थालेको थियो। सेयर बजारलाई सपोर्ट हुने खालको मौद्रिक नीति आउन सक्ने अनुमानबीच नेप्से उकालो लाग्यो। जस्तो असार १२ गतेयता नेप्सेमा १५ दिन कारोबार भएकामा तीन दिन मात्र नेप्से घट्यो।
असार १२ गतेको कारोबार बन्द हुँदा नेप्से २५९५.७४ विन्दुमा थियो। त्यस दिन करिब साढे ४ अंकले नेप्से घटेको थियो। त्यस दिन एक करोड ६४ लाख ५३ हजार ५ सय ४३ सेयर कित्ता खरिद विक्री भएको थियो भने ७ अर्ब ६६ करोड ८० लाख ८९ हजार ९ सय ४० रुपैयाँको कारोबार भएको थियो।
पछिल्लो एक सातामा मात्र मार्केट क्यापिटलाइजेसन मात्र २ खर्ब ३२ अर्ब बढेको छ। बिहीबारको कारोबारपछि मार्केट क्यापिटलाइजेसन ४७ अर्ब ८३ अर्ब पुगेको छ। यतिबेला सबैभन्दा बढी आकर्षण हाइड्रो पावरमा देखिएको छ।
हाइड्रोको सेयर मात्र एक करोड ४८ लाख कित्ता खरिद विक्री भएको छ। यस्तै वाणिज्य बैंकको सेयर करिब ७३ लाख कित्ता कारोबार भएको छ। लाइफ इन्सुरेन्स, माइक्रोफाइनान्स, म्यानिफ्याक्चरिङ र प्रोसेसिङ समूहको सेयर कित्ता पनि १० लाखभन्दा बढी कारोबार भएको छ।
पछिल्लो एक वर्षको कारोबार हेर्ने हो भने नेप्से ३ हजार विन्दुसम्म पुगेको छ भने २ हजार ३ सय साढे ६४ विन्दुसम्म झरेको देखिन्छ।
११ महिनायताकै उच्च कारोबार रकम रहेको छ। भदौ ११ गते साढे १८ अर्ब रुपैयाँ कारोबार भएको थियो। यस्तै नेप्से गत फागुनको तेस्रो सातायता सबैभन्दा माथिल्लो विन्दुमा पुगेको छ। फागुनको तेस्रो साता नेप्से २ हजार ८ सय ९० विन्दुमा पुगेको थियो। त्यतिबेला २ करोड ६० लाख ३० हजार कित्ता सेयर खरिदविक्री भएको थियो भने १४ अर्ब ११ करोड १६ लाख ५२ हजार रुपैयाँ कारोबार भएको थियो।
नेपालमा नेप्से ३ हजार १ सय ९८ दशमलब ६ विन्दुसम्म पुगेको इतिहास छ। यो सन् २०२१ अगस्टतिरको कुरा भयो। ५ वर्ष भयो यो विन्दु विट भएको छैन। त्यतिबेला राष्ट्र बैंकले सेयर कर्जा सम्बन्धी ल्याएको एउटा नीतिले नेप्से प्रभावित बन्यो। लगानीकर्ताहरु चिन्तामा डुबे। व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडसम्म मात्र सेयर कर्जा लिन पाइने नीति ल्याइएको थियो। त्यसैले लगानीकर्ताले आफ्नो पोर्टफोलियोअनुसार भनेजति पैसा बैंकबाट पाउन सकेनन्।
यतिबेला सेयर बजार किन बढिरहेको छ भन्ने कुरा बुझ्न यही विषयसँग गहिरोसँग जोडिएको छ। सेयर कर्जा, बैंकको व्याजदर, घरजग्गा कारोबारलगायतले नेप्से प्रभावित हुन सक्ने बताइन्छ। यी कुराहरुमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको प्रभाव रहन्छ। नेपाल राष्ट्र बैकले केही समय अघि नयाँ गभर्नरका रुपमा विश्वनाथ पौडेललाई पाएको थियो। पौडेलले जिम्मेवारी सम्हालेयता राष्ट्र बैंकले पहिलो मौद्रिक नीति ल्याएको छ।
पछिल्ला वर्षहरुमा बैंकको ब्याजदार लगातार घटिरहेको छ। यसपटक पनि ब्याजदर घट्यो। उता सेयर कर्जाअन्तर्गत व्यक्तिगततर्फको सिमा १५ करोडबाट २५ करोड पुर्याइएको छ। कुनै समय ४ करोड रुपैयाँ मात्र भएको सिमा अहिले २५ करोड पुगेको छ।
व्यक्तिले आफ्नो सेयर पोर्टफोलियोअनुसार २५ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन्। अहिले संस्थागततर्फ सेयर कर्जाको सिमा छैन। एकातर्फ ब्याजदर घट्नु र अर्कोतर्फ सेयर कर्जाको क्याप बढ्नुले नेप्सेमा हरियाली बढिरहेको अनुमान गर्न सकिन्छ। पछिल्लो तीन सातामा करिब ३ सय अंकले सेयर बजार बढेकाले लगातार बढिरहेको बजारमा लगानीकर्ताहरु झुम्मिनु स्वभाविक हो। राष्ट्र बैंकले ल्याएको नीतिपछि बजार बढिरहेकाले पनि त्यो अनुमान गर्न सकिन्छ। सेयर कारोबारको संख्या, कारोबार रकमको संख्या सबै बढिरहेको छ जसले लगानीकर्तालाई लोभ्याइरहेको छ।
यतिबेला लगानीकर्ताले विचार पुर्याउनु पर्ने भनेको कुनैपनि कम्पनीको सेयर किन्दा त्यो कम्पनीको फाइनान्सियल अवस्थालाई हेर्न भुल्नु हुन्न। त्यसो नगरे ठुला लगानीकर्ताको जालमा पर्ने र ठुलो क्षति हुने सम्भावना रहन्छ।
बुक भ्यालु कति छ, इपिएस कति छ, कत्तिको बोनस दिइरहेको छ जस्ता आधारभुत कुराहरुमा लगानीकर्ताले ध्यान दिनुपर्छ।


