काठमाडौं। र, फाइनल्ली प्रिति राईलाई विदेशी क्लबले आबद्ध गरेको छ। केही वर्ष यता राईलाई विदेशी क्लबले भित्र्याउन सक्ने खेलाडीका रुपमा हेरिएको थियो। सावित्रा भण्डारी साम्बालाई फ्रान्स र एन्जिला तुम्बापो सुब्बामाथी ग्रिसका क्लबले भित्र्याइरहेका बेला कतै प्रितिले पनि युरोपियन क्लबको यात्रा तय गर्ने हुन की ? अनुमानहरु भइरहेका थिए।
मध्यपूर्वी जोर्डनको अल इतिहाद क्लबले प्रितिलाई भित्र्याएको छ। अल इतिहाद जोर्डनको घरेलु लिग विजेता क्लब हो। हाल महिला फुटबलको फिफा वरियतामा ७५ औँ स्थानमा रहेको जोर्डनमा अल इतिहादले पछिल्ला लगातार दुई घरेलु लिग उपाधि जितेको छ।

छोटो कदकी प्रिति राई नेपाली महिला फुटबलमा सावित्रा भण्डारीपछी सम्भवत सर्वाधिक धेरै चर्चामा रहेकी खेलाडी हुन्। मिडफिल्डबाट केहि वर्षयता उनले जादुमयी प्रदर्शन गर्दै आएकी थिइन्।
गत वर्ष साउदी अरबमा भएको वेस्ट एसियन फुटबल फेडेरेसन अर्थात वाफ च्याम्पियनसिपमा प्रितिले गतिलो छाप छाडेकी थिइन्। त्यतिबेला नेपाललाई वाफले गेस्ट टिमका रुपमा प्रतियोगितामा सहभागी गराएको थियो।
नेपालले फाइनलमा जोर्डनसँगै नै प्रतिस्पर्धा गरेको थियो। सावित्रा भण्डारी फ्रान्समा फर्कनु पर्न भएकाले नेपालले फाइनलमा उनलाई मिस गरेको थियो। यद्यपी प्रितिलगायत खेलाडीको शानदार प्रदर्शनपछि जोर्डनलाई खेल जित्न हम्मेहम्मे परेको थियो। नेपालले खेललाई टाइब्रेकरसम्म धकेलेको थियो। टाइब्रेकरमा जोर्डन भाग्यमानी देखियो। प्रितिले सेमिफाइनलमा लेबनानविरुद्ध दोस्रो हाफको इन्जुरी समयमा शानदार गोल गरेकी थिइन्।
अल इतिहादले जोर्डनको लिग विजेताका रुपमा आगामी एएफसी च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्ड खेल्दै छ। त्यसअघि उसले प्रितिलाई आबद्ध गरेको छ। अल इतिहादका ८ जना खेलाडी अहिले जोर्डनको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। त्यसमा गोलकिपरदेखि डिफेन्डर र मिडफिल्डरसहितका अनुभवी खेलाडी छन्। जोर्डनकी कप्तान मेयसा जिबराह सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा विश्वकै सर्वाधिक गोलकर्ता हुन। एक सय ३८ गोल गरेकी उनी हाल साउदी अरबको क्लबबाट व्यावशायीक फुटबल खेलिरहेकी छिन्।
प्रितिले नेपाली राष्ट्रिय टोलीका लागि २१ खेलमा ५ गोल गरेकी छिन्। उनले सन् २०२१ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन्। टोलीका अन्य खेलाडीजस्तै प्रितिले पनि नेपालका लागि हालसम्म उपाधि जित्न सकेकी छैनन्। नेपालले थुप्रैपटक फाइनलको यात्रा तय गरेपनि उपाधि जित्न सकेको छैन
प्रितिलाई जोर्डनको क्लबले भित्र्याएको खबरसँगै नेपाली महिला फुटबल फेरी चर्चामा आएको छ। दुई दिनअघि मात्र सावित्रा भण्डारीलाई अस्ट्रेलियाको ए लिग खेलिरहेको न्युजिल्यान्डको वेलिङ्टन फिनिक्सले आबद्ध गरेको थियो। उनलाई दुई वर्षका लागि वेलिङ्टनले आबद्ध गरेको छ। त्यसअघी साम्बा फ्रान्सको पहिलो डिभिजन लिग फुटबल खेलिरहेकि थिइन्।
नेपाली टोलीको अर्की सदस्य रेखा पौडेल पनि अहिले युएईमा आबुधावी कन्ट्री क्लबबाट खेलिरहेकि छिन्। आबुधावी कन्ट्री पनि यूएईको महिला लिग फुटबल विजेता क्लब हो। उसले पनि एएफसी च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्ड खेल्दै छ। गोलकिपर एन्जिला हालै ग्रिसको लिग फुटबल खेलेर फर्किएकी छिन्
पुजा राना पनि भुटानमा व्यावशायीक फुटबल खेलिरहेकी छिन्।
स्रोतका अनुसार प्रितिलाई अल इतिहादले २ वर्षका लागि अनुबन्धन गरेको छ। हाम्रो जानकारीमा आएअनुसार उनलाई मासिक कम्तिमा एक हजार अमेरिकी डलर अफर गरिएको छ।
टिमका दुई महत्वपूर्ण खेलाडी विदेशी क्लबमा गएपछि शसस्त्र प्रहरी बल एपीएफ क्लबलाई समस्या हुन सक्ने देखिएको छ। साम्बा र प्रिति दुवै एपीएफका जागिरे हुन्। प्रिति दुई महिना अघि मात्र शसस्त्र प्रहरीको स्थायी जागिरे बनेकी थिइन्।
त्यसअघि सन् २०१९ देखि उनी शसस्त्र प्रहरी बलमा करारमा रहेर खेलिरहेकि थिइन्। यहाँ उल्लेखनीय के छ भने एपीएफले पनि आगामी एएफसी च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्ड खेल्दै छ उज्वेकिस्तानमा।
तर साम्बा र प्रिति दुवै एपीएफ टोलीमा रहने छैनन्। एएपीएफले विदेशका क्लबमा गएर खेल्न चाहने खेलाडीलाई रोकेको छैन। हामीले बुझेअनुसार त्यसरी खेल्ने खेलाडीले एपीएफको जागिर छाड्नु पर्दैन। जस्तो की साम्बा लामो समयदेखि विदेशमा गएर खेलिरहेपनि अहिले पनि उनी एपिएफकी जागिरे हुन्।
जे होस् नेपाली महिला फुटबलमा एकपछि अर्को खुसीको खबर आइरहेको छ। अब पुरा हुन बाँकी भनेको अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले उपाधि जित्नु छ। त्यसका लागि विदेशका माथिल्लोस्तरका लिगमा पुगेर नेपाली खेलाडी खेलेको अनुभव राष्ट्रिय टोलीका लागि भविस्यमा फलदायी हुन सक्ने छ।



