काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाबाहेकका सस्थाले मुनाफा तथा लाभांश वितरण गर्न पुरा गर्नुपर्ने आवश्यक शर्तहरुबारे मार्गदर्शन जारी गरेको छ।
मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउन राष्ट्र बैंकले मार्गदर्शन जारी भएको हो। अब त्यस्ता संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी त्यसलाई संस्थाको सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने छ। ।

लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुनुपर्नेछ । यसका लागि अनुमति पत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको र संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पालना गर्नुपर्नेछ ।
शेयर प्रिमियम एवं ‘बार्गेन पर्चेज गेन’बाट नगद लाभांश घोषणा गर्न नपाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु ‘लोन कन्भेन्स’ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैर स्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको लगायत पूर्वशर्तहरु पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ती संस्थाले कम्तीमा जोखिम बहन कोष र जगेडा कोषजस्ता कोषहरूको व्यवस्था गर्नुपर्नेछ । संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्नेछ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ ।
पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने र नेपाल राष्ट्र बैंकले तोकेका अन्य कोषहरूमा जम्मा गर्नुपर्नेछ ।
कोषहरूमा रकम छुट्याई बाँकी रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन् । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति सँगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।


