काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कने बाटो बन्द भएको छ। एमाले केन्द्रिय समिती बैठकले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ।
यसअघि भण्डारीले आफुले केहि समय पहिल्यै एमाले पार्टी सदस्यता नविकरण गरेको बताउँदै आएकी थिइन्।

उनले एमालेको नेतृत्व लिन राजनीतिमा फर्कन लागेको स्पष्ट संकेत गरेकी थिइन्। त्यसपछि एमाले पंक्तीमा ठुलै बहस सृजना भइरहेको थियो।
पूर्व राष्ट्रपति राजनीतिमा फर्कन नहुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका बहुमत केन्द्रीय सदस्य सहमत थिए। त्यसअघि मंगलबार मात्र भण्डारीले आफुलाई राजनीतिमा फर्कन व्यवधान नहुने विश्वास व्यक्त गरेकी थिइन्।
मंगलबार सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभागका राजेन्द्र गौतमले जानकारी दिए ।
उनले भने,‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो। यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’



