काठमाडौं। जाहेरवाला आफैले सूचना दिएर पक्राउ गराएका अभियुक्तबारे प्रहरीले केहीबेरमा भन्छ( पक्राउ नै परेका छैनन्। दिनभर मिडियामा समाचार आउँछ- ठेकेदार मनोज भेटवाल पक्राउ परे। भेटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले अनामनगर क्षेत्रबाट पक्राउ गरेको सूचनामा मिडियाहरु ढुक्क हुन्छन्।
यो गत असार १३ गतेको कुरा हो। चौतर्फी दबाब आएपछि मानिसहरु सुत्ने बेलामा काठमाडौं प्रहरीले विज्ञप्ती निकाल्छ- मनोज भेटवाल पक्राउ परे। बिहान छाडिएका भेटवाललाई दबाबपछि साँझ पुन पक्राउ गरिएको आशंका गर्न गाह्रो थिएन।

२०७१ साल माघ ११ गते काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २९ तले काठमाडौं टावर बनाउन जलेश्वर स्वच्छन्द विकोईसँग सहमती गर्छ। ५ वर्षभित्र टावर बनाउनुपर्ने र ३० वर्षसम्म चलाउन पाउने सम्झौताका शर्तहरु हुन्छन्।
जलेश्वर स्वच्छन्द विकोईका सन्चालक हुन् मनोज भेटवाल। काठमाडौंका विभिन्न ठाउँमा बनिरहेका आकाशे पुलको ठेक्का भेटवालले नै पाइरहेका थिए। उनको अर्को कम्पनी इनोभेटिभ कन्सेप्ट नेपालले उक्त काम गरिरहेको थियो। भ्यु टावर बनाउने सहमती गरेको ४ वर्षपछि भेटवाल अचानक पक्राउ पर्छन्। चर्चित एपेक्स बैक घोटालामा उनी मुछिन्छन्। कमसल धितो राखेर रिण लिएको र बैकलाई करडौँको क्षति पुर्याएको आरोप उनीमाथी लाग्छ।
२०७६ साल फागुनमा उनी करिब ७५ लाख रुपैयाँको चेक बाउन्समा पक्राउ पर्छन। पर्याप्त रकम नभएको चेक दिएर आफुलाई ठगी गरेको भन्दै भेटवालविरुद्ध जाहेरी परेको थियो। २०७७ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो उनलाई। एपेक्स बैंक घोटालासँग जोडेर अख्तियारले भेटवालसहितविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो।
यता पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको काम चलिरहेकै थियो। त्यसलाई निर्माण गर्न उनी कसरी पैसा जुटाइरहेका थिए, कहाँबाट ल्याइरहेका थिए भन्ने बाहिर आउन थालेको थियो।
जस्तो की २०७६ साल साउनमा भेटवालसहित ४ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले करिब ४ करोड रुपैयाँ बिगो दावी गर्दै मुद्धा दायर गर्छ। भ्यु टावर निमाणका लागि भेटवालले सिंगापुरबाट अवैध तरिकाले पैसा ल्याएको दावी विभागले गर्छ। चलचल्तीको भाषामा भन्दा हुन्डी गरेर नेपाल पैसा ल्याएको आरोप उनिहरुमाथी लाग्छ।
२०७९ साल फागुनमा मनोज भेटवाल फेरी अर्कोपटक पक्राउ पर्छन्। यसपटक उनीविरुद्ध ४ करोड ९९ लाख रुपैयाँ बराबरको चेक बाउन्सको परेको थियो। भ्यु टावर निर्माणका लागि पैसा चाहिएको भन्दै भेटवालले पटकपटक जाहेरवालासँग पैसा लिएर चेक दिएको र नसाँटिएपछि उजुरी परेको थियो। यो मुद्धामा काठमाडौं जिल्ला अदालतले भेटवाललाई ४ करोड ९९ लाख जरिवाना र त्यति नै रकम बिगो भराउने फैसला गरेको छ। भेटवालले न जरिवाना तिरेका छन् नत बिगो भरेका छन्।
यस्तै प्रकृतीको मुद्धामा भेटवाल केहि साता पहिले पुन पक्राउ परेका हुन्। उनले भ्यु टावर निर्माणका लागि भन्दै जाहेरवालासँग पटकपटक पैसा लिएका थिए। लामो समयसम्म लिएको पैसा फिर्ता नगरेपछि भेटवालले विश्वास दिलाउन विभिन्न समयमा चेक पनि इसु गरे। तर ती चेक पनि साँटिएनन्। दुई वर्षअघि वडा कार्यालयमै पुगेर भेटवालले कागज गर्दै ९ करोड ८८ लाख रुपैयाँ बराबरका दुईवटा चेक जाहेरवालाका नाममा इस्यु गरेका थिए।
पछिल्ला लगातारका घटनाले भेटवालले कसरी, कहाँबाट आर्थिक स्रोत जुटाइरहेका छन् ? एउटा पिक्चर देखाइरहेको छ। लिएको पैसा फिर्ता गर्न नसक्नु र विदेशबाट अवैध तरिकाले पैसा ल्याउनुले भेटवाल मात्र होइन भ्यु टावर निर्माणको लगानी पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ। तर यही पिक्चरबीच भेटवाल निस्फ्रिकी हिँडिरहेका छन्। उल्टै जाहेरवालालाई तनाव दिइरहेका छन्।
हामीलाई थाहा छ, भेटवालले पुरानो बसपार्कमा भ्यु टावर बनाइरहेका बेला नजिकैको खुलामन्चमा अवैध रुपमा खुलेहाम टहरा बनाएर भाडामा लगाएका थिए। पछि त्यसको चर्को विरोध भएको थियो। गत वर्ष ठेकेदार कम्पनीले गुपचुप रुपमा काठमाडौं भ्युटावरको १९ तलाको नक्सा स्विकृत गराएको आरोप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएका थिए।
उनले त्यस्तो निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथी छानबिन गरे। त्यतिबेला प्रश्न उठेको थियो( आँखिर कसको आडमा गुरागाईले त्यस्तो निर्णय गरेका थिए। कसको आडमा ठेक्केदार कम्पनी १९ तालको नक्सा स्विकृत गर्न सफल भएको थियो। बालेनले कारबाही अगाडि बढाएपछि काठमाडौ टावर निर्माणको काम रोकिएको थियो। हालै मात्र उच्च अदालत पाटनको आदेशपछि पुन काठमाडौ टावरको काम अगाडि बढिरहेको छ।
यति भनेपछि तपाईको मनमा लागिरहेको होला- आँखिर भेटवाल र काठमाडौं टावरमा कसले लगानी गरिरहेको छ ? भेटवालले काठमाडौं भ्यु टावर निर्माणमा चार अर्ब रुपैयाँभन्दा बढी रकम लगानी भइसकेको विवरण विभिन्न ठाउँमा पेश गरेको बताइन्छ।
विगतमा विभिन्न व्यक्तिसँग पैसा लिएर नतिरेको र हुन्डीको रकममा समेत उनी संलग्न भएको दावी गरिएकाले भेटवालले कसरी पैसा जुटाएका छन् त्यसमा आशंका गर्ने धेरै ठाउँहरु छन्। उनीसँग कारोबार गरेकाहरु भेटवालले अरुकै पैसा चलाएर लगानी गर्ने गरेको दावी गर्छन्।
भेटवाल आफैले पनि आफुसँग बलियो ब्याकअप भएको विश्वास दिलाएर लगानी जुटाउने गरेको उनी निकटहरु बताउँछन्। हामीले यस विषयमा भेटवालसँग नजिक रहेक केही व्यक्तीहरुसँग कुराकानी गरेका थियौँ। काठमाडौं भ्यु टावरमा अग्रवाल थरका एक व्यक्तीले एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उनिहरुले बताएका थिए। भेटवालले आफै पनि मारवाडी समुदायका व्यक्तीले आफुलाई सहयोग गरिरहेको निकटहरुलाई बताउने गरेका छन्।
काठमाडौं टावरमा अन्य व्यक्तीको पनि ठुलै लगानी भएकाले आफु सजिलै पक्राउ नपर्ने र पक्राउ परिहाले पनि अरु लगानीकर्ताले जसरी पनि निकाल्ने विश्वासमा देखिने गरेका छन् भेटवाल।
भेटवाललाई त्यसरी पैसा दिनेहरुले पनि कसरी पैसा ल्याइरहेका छन्, आशंका गर्ने ठाउँहरु रहेको बताइन्छ। उनिहरुले अवैध पैसा भेटवालमार्फत काठमाडौं टावरमा लुकाइरहेको हुन सक्ने स्रोत बताउँछ। ती अग्रवाल थरका व्यक्तीको माथिल्लो तहसम्म सम्पर्क र सम्बन्ध रहेको चर्चा सुनिन्छ।
उनका बारेमा प्रारम्भिक सूचना मात्र भएकाले ती व्यक्ती वास्तविक हुन की हल्ला मात्र हो हामी आगामी भिडियोमार्फत स्पष्ट पार्ने कोशिष गर्ने छौ। यदी वास्तविक हुन भने उनी को र कहाँका हुन्, के गर्छन् रु पहिचान गर्ने प्रयाश गर्ने छौँ। सँगै काठमाडौं टावरमा क-कसको लगानी छ ? भेटवालले क(कसबाट पैसा लिएका छन् ? त्यसलाई पनि ल्याउने छौँ।



