काठमाडौं। राष्ट्र बैंकले दुईवटा वाणिज्य बैंक र दुईवटा फाइनान्सलाई कारबाही गरेको छ। उनिहरुमाथी विभिन्न नियम उल्लंघन गरेको आरोप लगाइएको छ।
सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एशिया बैंक तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारबाही गरिएको हो।

सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा निर्देशन विपरीत संशोधन गरी सुविधा वृद्धि गरेको आरोप लगाइएको छ। ब्याजदर अन्तरको गलत गणना, नयाँ कर्जा लिएर पुरानो कर्जा चुक्ता गर्ने काम, जमानतको भुक्तानी समयमा नगर्ने र कर्जा नोक्सानी व्यवस्थापनमा कमजोरी देखिएको राष्ट्र बैंकले जनाएको छ।
यता एनआइसी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको र कर्जा सम्झौतामा आवश्यक विवरण स्पष्ट उल्लेख नगरेको भन्दै उसलाई सचेत गराइएको छ।
गुहेश्वरी मर्चेन्टले कर्मचारी विनियमावलीमा राष्ट्र बैंकको स्वीकृति बिना संशोधन गरेको र सञ्चालक नियुक्तिमा नियम उल्लंघन गरेको भन्दै सचेत गराइएको छ। राष्ट्र बैंकले पोखरा फाइनान्सलाई न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना तिराउने निर्णय गरेको छ।


