काठमाडौं। भारतीय फुटबलसँग सम्बन्धित एक समाचारले शुक्रबार युरोपसम्म तरङ्ग ल्यायो। समाचार नै त्यस्तै थियो।
भारतको चर्चित न्युज पेपर टाइम्स अफ इन्डियाले विश्वकप विजेता जाभीले भारतीय राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका लागि आवेदन दिएको समाचार प्रकाशित गरेको थियो। त्यसको पुष्टी भारतीय फुटबल टोलिका डाइरेक्टर सुब्रत पलले गरेकाले त्यस समाचारलाई विश्वास नगर्नुपर्ने कारण थिएन।

जाभीले भारतीय टिमको प्रशिक्षकका लागि निवेदन दिएको ? कसरी सम्भव छ ? अधिकांशको मनमा यस्तै जिज्ञासा थियो। तर फेरी पनि यो कुरा भारतीय फुटबल टोलीका डाइरेक्टर सुब्रत पलले पुष्टी गरेका थिए। आधिकारिक स्रोतलाई हवाला दिएर समाचार लेखेपछि कसरी नपत्याउनु ? यति ठुलो विषयमा आधिकारित व्यक्तीले झुटो बोल्छन् भन्ने कल्पना पनि गर्न गाह्रो हुन्छ। आश्चर्यतासहित अधिकाशले विश्वास गरे सायद।
भारतीय फुटबल टोलीमा जुलाईको पहिलो सातादेखि प्रमुख प्रशिक्षकको पद रिक्त रहेको छ। मनोलो मार्क्वेजले राजिनामा दिएपछि भारतिय टोलीमा प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो। त्यसपछि भारतिय फुटबल संघले नयाँ प्रशिक्षकका लागि विज्ञापन खुलायो। जुलाई १३ तारिखसम्म आवेदन दिन सकिने थियो। जाभीले भारतीय फुटबल संघलाई इमेल गरेर आवेदन पेश गरेको सुब्रत पलले दावी गरेका छन्।
आवेदन दिएकामध्येबाट अहिले अहिले सर्ट लिस्ट गरिएको छ। शुक्रबार टाइम्स अफ इन्डियाले लेखेको समाचारअनुसार जाभी सर्ट लिस्टमा परेनन्। उनले माग गरेको महँगो पारिश्रमिकका लागि जाबीलाई सर्ट लिस्टमा पार्न नसकिएको समाचारमा उल्लेख छ। यो समाचारपछि राम्रो प्रशिक्षकलाई लुज गरेको भन्दै भारतीय फुटबल प्रेमीले संघप्रति सामाजिक सन्जालहरुमार्फत आक्रोश व्यक्त गरेका थिए।
यतिबेला भारतीय फुटबल टोलीको प्रदर्शन खराब रहेको छ। २०२३ को अगस्टमा भएको साफ च्याम्पियनसिपको फाइनलमा कुवेतलाई हराएर उपाधि जितेयता भारतले लगातार जसो कमजोर प्रदर्शन गरिरहेको छ। त्यसयता खेलेका २० खेलमा केवल २ खेल जितेको छ भने १२ खेलमा हार ब्यहोरेको छ। ६ खेल बराबरी खेलेको छ। ६ खेल बराबरीमा सकिएका थिए। जितेका खेलमध्ये कुवेत र मालदिभ्सलाई हराएको थियो। यही खराब नतिजाहरुबीच प्रशिक्षकहरु भारीय फुटबलबाट विदा भइरहेका छन्
इगोर स्तिमाचले ५ वर्ष बसेर सन् २०२४ को जुनमा भारतीय प्रशिक्षकको जिम्मवारी छाडेका थिए। त्यसपछि नियुक्त भएका मनोलो मार्क्वेजले एक वर्ष नपुग्दै राजिनामा दिएका थिए। मार्क्वेजले आई लिग क्लब गोवाको पनि जिम्मेवारी सम्हालिरहेका थिए। हाल फिफा वरियतामा भारत एक सय ३३ औँ स्थानमा रहेको छ।
जाभीलाई किन सर्ट लिस्ट नगरेको भन्दै आक्रोश व्यक्त भइरहेका बेला जाभीले अप्लाई गरेको विषयले नै युरोपमा तरङ्ग सृजना गरेको थियो। जाभीले कसरी त्यस्तो निर्णय गर्न सक्छन्
,धेरै जसोको मनमा उठेको प्रश्न थियो।
जाभी सन् २०१४ यता कुनै क्लब र राष्ट्रिय टोलीमा छैनन्। उनीले स्पेनिस क्लब बार्सिलोनामा तीन सिजन प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि सन् २०२४ मा जाभीलाई बर्खास्त गरिएको थियो। बार्सिलोनाको प्रशिक्षकका रुपमा उनले ला लिगाजस्ता घरेलु फुटबल उपाधि जितेका थिए। च्याम्पियन्स लिग जित्ने तार्गेट पुरा गर्न नसकेपछि बार्सिलोनाले जाभीलाई हटाउने निर्णय गरेको थियो।
जाभीले एकेडेमी ला मासियासहित बार्सिलोनामा खेलाडीका रुपमा २४ वर्ष विताएका थिए। सन् २०१५ मा उनी बार्सिलोना छाडेर कतारको क्लब अल साद पुगेका थिए। ६ वर्ष त्यहाँ बस्नेक्रममा अन्तिम दुई वर्ष प्रशिक्षकको जिम्मेवारीमा थिए।
अर्थात बार्सिलोना प्रशिक्षकका रुपमा जाभीको दोस्रो क्लब हो। खेलाडिका रुपमा स्पेनका लागि दुईपटक युरोकप र एकपटक विश्वकप जितेका जाभीलाई महान् मिडफिल्डर मानिन्छ। बार्सिलोनाबाट अलग भएपछि अब उनी कहाँ जान्छन् चासो पूर्वक हेरिएको थियो। झन्डै एक वर्ष जबलेस भएका बेला जाभीबारे एकाएक शुक्रबार भारतिय फुटबलसँग जोडेर समाचार आएको थियो।
विश्वकप र युरो कप जितेका, धेरैपटक ला लिगा र च्याम्पियन्स जितेका र प्रशिक्षकका रुपमा भर्खरै करियर थालेका जाभीले फेरी पनि त्यस्तै सफलता खोजिरहेका भनेर सोच्नु अन्यथा हुँदैन।
किनभने यो उनको कोचिङ करियरको सवाल पनि हो। ठुलो सपना र ठुलो सफलताको बानी जो उनलाई परेको छ। उनी जुन लेभलका खेलाडी थिए र हालै बार्सिलोना जस्तो जुन लेभलको क्लब सम्हालेका थिए, त्यसबाट पनि उनले भारतिय फुटबल टोलीको प्रशिक्षकका लागि आवेदन दिएको समाचार सप्राजिङ थियो। भारतीय फुटबलमा उनले पैसाबाहेक केही पनि पाउँदैन थिए जुन जाभीको करियरमा अहिले एस्पेक्ट गर्न सकिने कुरै होइन। भारतको उपाधि दावेदारी भनेको दक्षिण एसियामा मात्र सिमित छ।
यतिबेला युरोपका चर्चित फुटबल पत्राकारहरु भारतिय फुटबलले झुटो प्रचार गरिरहेको दावि गर्दैछन्। फाब्रिजियो रोमानोले जाभी र भारतीय फुटबल संघबीच कुरै नभएको बताएका छन्। यस्तै स्पेनका फुटबल पत्रकार फेरान कोरियाजले भारतीय फुटबल टोलीको प्रशिक्षकको प्रोफाइल बढाउन जाभीको नाम जोडिएको दावी गरेका छन्। यस्तै बार्सा टाइम्सले पनि जाभी निकट स्रोतलाई हवाला दिएर उनले भारतीय प्रशिक्षकका लागि अप्लाई नगरेको उल्लेख गरेको छ।
यता चर्को आलोचनापछि भारतीय फुटबल संघले स्पेनका जाभी भन्दै कसैले फेक इमेल पठाएको स्पष्ट पारेको छ। त्यो इमेल स्पेनका जाभीको आधिकारिक नभएको उसले जनाएको छ।



