काठमाडौं। तीन सातादेखि मुम्बईबाट हराइरहेका आफ्ना दुवै छोरीहरु भक्तपुरको एक घरमा बिहीबार बिहान झुन्डिएर मृत अवस्थामा भेटिएको जानकारी पाएपछि बाबु बासुदेव पाण्डेले आफु नआईकन शवलाई केही नगर्नु भनेका थिए। उनिहरुले प्रहरीलाई जसरी पनि आईपुग्छु, घटनास्थल जस्तो छ त्यस्तै अवस्थामा रहन दिनु भनेका थिए।
डोरीमा झुन्डिरहेको अवस्थामा शवलाई प्रहरीले दिनभर कुर्यो। राती अबेरसम्म पनि कुर्यो। तर बासुदेव र उनको परिवार आईपुगेनन्। प्लेनबाट आईपुग्न बिहानसम्म समय लाग्ने देखेपछि प्रहरीले राती ११ बजे शवलाई डोरीबाट झार्यो, मुचुल्का गर्यो।

हामीले भक्तपुर प्रहरी प्रवक्ता ढुण्डिराज न्यौपानेसँग कुराकानी गरेका थियौँ। दिनभरको गर्मीले शव गन्हाउन थालेकाले राती नै काठमाडौंमा रहेका मृतकका आफन्तको उपस्थितीमा मुचुल्का उठाएर पोस्ट मार्टमका लागि टिचिङ अस्पताल पुर्याइएको उनले बताएका थिए।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पर्ने बोडेस्थित छतमा टस लगाएको दुई तले घरको भुई तलाको बाहिर एउटै डोरीमा १४ वर्षीय सृजना र १७ वर्षीया मेनुका कँडेल झुन्डिएको अवस्थामा बिहीबार बिहान भेटिएका थिए। उनिहरु त्यस घरको भुई तलामा डेरा गरेर बसिरहेका थिए। त्यस घरमा उनिहरु बस्न थालेको १०/१२ दिन मात्र भएको थियो।
यो घटनापछि मुम्बईमा रहेका मृतकका बुबा आमाले केहि दिनअघि दिएका अन्तवार्ता एकाएक भाइरल बन्यो। त्यही आधारमा मेनुका र सृजना मुम्बईबाट भागेर आएर भक्तपुरमा बसिरहेको भन्ने आशयका समाचारहरु लेखिए।
घटनास्थल वरपरका व्यक्तीहरुसँग गरिएका कुराकानी पनि सामाजिक सन्जालमा भेटिन्छन्। कँडेल दिदि बहिनी स्थानीय एक गार्मेन्टमा काम गरिरहेको र उनिहरुलाई एक चिनेजानेकै महिलाले त्यहाँ काम लगाई दिएको गार्मेन्टका कर्मचारीहरुले बताएका छन्।
घटनालगत्तै मुम्बईमा रहेका मृतक दिदिबहिनीका बुबाआमासँग गरिएको कुराकानी पनि बाहिर आएको छ। बुबाआमाको कुराकानी, घटनास्थल वरिपरिका मानिससँगको कुराकानी र प्रहरीको प्रारम्भिक फाइन्डिङ्सका आधारमा हामीले यो सामग्री तयार पारेका छौँ। कँडेल दिदि बहिनीले किन आफ्नो ज्यान लिने निर्णय लिए, उनिहरु किन भारतबाट भागेर आए । यस विषयमा पक्कैपनि प्रहरीले केही न केही पत्ता लगाउने नै छ।
त्यसअघि घटना हुनुभन्दा तीन दिनअघि सिगास टिभि नामको च्यानलमा मृतकका बुबा आमाले दिएको अन्तर्वार्तालाई हेरौँ जसमा उनिहरुले आफ्ना दुई छोरी मेनुका र सृजना तीन सातादेखि हराइरहेको र नेपालको भक्तपुरमा सिसिटिभिले समेत कभर नगर्ने ठाउँमा काम गर्न लगाइरहेको खबर पाएको बताएका छन्। उनिहरुलाई कसैले फकाएर लगेको भन्दै जसरी पनि आफ्नो जिम्मा लगाउन आग्रह गरिरहेको अन्तर्वार्तामा सुनिन्छ।
बुबा बासुदेवका अनुसार कान्छी छोरी श्रीजना आफु बसिरहेको ठाउँबाट नजिकै रहेको स्टेसनसम्म पनि एक्लै पुग्दैन थिइन्। जेठी छोरी मेनुका केही महिना अघि मात्र त्यहाँ गएकी थिइन्। उनी बहिनीबिना एक्लै निक्लिन्न थिइन्। अभिभावकका अनुसार जेठि छोरीलाई हिन्दी बोल्न आउँदैन थियो भने कान्छी छोरीलाई नेपालबारे धेरै थाहा थिएन।
आफुहरुसँग बस्न आएकी जेठी छोरी मेनुकालाई उनिहरुले सिलाई बुनाई र कम्प्युटर सिक्न लगाइरहेका थिए। मेनुका २ देखि ४ बजेसम्म सिलाई बुनाई र त्यसपछि बहिनीसँग ७ बजेसम्म कम्प्युटर सिक्थिन्। जुन २७ गते कम्प्युटर सिक्न निस्किएका मेनुका र श्रीजना नफर्किएको उनिहरुका अभिभावकले बताएका छन्।
उनिहरुका अनुसार साँझ कान्छी छोरी सृजनाले आफुहरु ब्यांगलोर गइरहेको र अब पैसा कमाएपछि मात्र भेट्ने भ्वाइस म्यासेज पठाएकी थिइन्। त्यसपछि आ-आफ्नो ड्युटि गरिरहेका आमा बुबा दुईवटी छोरीहरु खोजी गर्न निस्किएका थिए। घरमा छोरीहरुको कपडा पनि देख्दैनन्, राखिएको पैसा पनि भेट्दैनन्। वरपर रहेका आफन्तलाई फोन गरेर बुझ्छन्, उनिहरुले पनि थाहा नभएको जवाफ दिन्छन्।
त्यसपछि प्रहरीलाई उनिहरुले खबर गरे। प्रहरीले ब्यांगलोरतर्फ नभएर नेपालतर्फ गइरहेको सूचना दियो। गत सोमबार अपलोड भएको कुराकानीमा बासुदेवले योजनाबद्ध रुपमा छोरीहरुलाई कसैले भगाएको आशंका व्यक्त गरेको सुनिन्छ।
छोरीहरुकै लागि दुख गरेको र उज्जवल भविस्यका लागि काम गरिरहेको अवस्थामा छोरीहरुबाट धोका पाएको आमा उमाले बोलेको सुनिन्छ। बाबु बासुदेव आफ्ना दुईवटा छोरीहरुलाई फकाएर लैजानेविरुद्ध आक्रोश पोख्छन्। यो अन्तर्वार्ता आएको चार दिनपछि मेनुका र सृजना झुन्डिएर मृत भेटिएको खबर बिहिबार बिहानै बाहिरिएको थियो।
घटनापछि फेरी उमा र बासुदेवसँग गरिएको कुराकानी बाहिर आएको छ। सिगास टिभिमै आएको कुराकानी सुन्ने हो भने चार दिन अघि आएको अन्तर्वार्तापछि मृतकहरुले सुर्खेतमा रहेका आफन्तलाई फोन गर्दै आफुहरुले बुबाआमालाई तनाव दिएको बताएको र अब सुर्खेत फर्कने जानकारी गराएको सुनिन्छ। साथै उनिहरुले केही नयाँ कुराहरु पनि खुलाएका छन्।
बासुदेव र उमाका अनुसार दुवै छोरीहरु हराएपछि उनीहरुसँग सुर्खेतमै रहेका दुई जना केटाहरुको कुराकानी भइरहेको प्रहरीले बताएको थियो। कतै केटाहरुकै योजनामा छोरीहरु भागेका हुन् की भन्ने उनिरुको आशंका रहेछ। त्यसपछि ती दुवै केटा र उनिहरुको परिवारसँग सम्पर्क गर्न खोजेको उनिहरुको भनाई छ। जेठी छोरीलाई विवाह गरेरै दिन आफुहरु तयार भएको तर कान्छी छोरी सानै भएकैले आफुहरुको जिम्मा लगाउन त्यतिबेला भनेको उमाले कुराकानीमा उल्लेख गरेकी छिन्। बासुदेव र उमाका अनुसार ती दुवै केटा र उनिहरुका परिवारले मेनुका र सृजनाबारे आफुहरुलाई जानकारी नभएको जवाफ दिएका थिए।
मेनुका र सृजनाले किन एकासाथ आफ्नै ज्यान लिने निर्णय लिए ? यतिबेला सबैभन्दा चासोको विषय बनेको छ। सायद मृतकको साथमा रहेका मोबाइलबाट प्रहरीले केही पत्ता लगाउने छ। बासुदेव र उमा भने यसमा कसैको भूमिका हुन सक्ने आशंका गरिरहेका छन्। सामाजिक सन्जालमा छोरीहरु हराएको भन्दै आएको बाबु आमाको अन्तर्वार्ताको केही दिनमै दुवै छोरी मृत भेटिनु दुखद बनेको छ।



