काठमाडौं। नेपाली सेयर बजार परिसूचक नेप्से करिब ४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा पुगेको छ। यस अघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेको थियो। त्यसयता उक्त विन्दु छुन सकेको थिएन।
मंगलबार नेप्से बढेपनिकारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकामा मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ। भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ।
नेपालको सेयर बजारको आकार (पूँजीकरण) पहिलो पटक ५० खर्ब पुगेको छ । नयाँ कम्पनी थपिँदै जाने र सूचीकृत सेयरको बजार मूल्य पनि बढ्दै जाँदा मंगलबार बजारको आकार ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
मौद्रिक नीति आएयता मात्र नेप्से करिब २ सय ७१ अंकले बढेको छ। यस्तै मौद्रिक नीति सेयर बजार मैत्री आउन सक्ने अनुमानबीच सेयर बजार असार १५ गतेदेखि लगातार जसो बढिरहेको छ। त्यसयता ३ सय ८० अंक बढेको छ।


