न्युयोर्क : अन्तर्राष्ट्रिय व्यावशायीक फुटबलमा पछिल्लो समय एउटा टर्म चर्चामा छ- त्यो हो रिटायरमेन्ट लिग।
युरोपका ठुला घरेलु लिगमा खेलिरहेका खेलाडीहरुले करियरको अन्तिम समयतिर रोजिरहेका त्यस्ता लिगलाई रिटायरमेन्ट लिग भनिन्छ जहाँ ती खेलाडीले मनग्गे पैसा पाउँछन्।

पछिल्लो समय अमेरिकाको मेजर लिग सकर अर्थात एमएलएस र साउदी अरबको साउदी प्रो लिगको छवी यस्तै छ। करियरको अन्तिम तिर भएर के भयो र, नाम चलेका ठुला खेलाडिहरु आएकै कारण यस्ता लिगहरुले एकाएक हाईप लिइरहेका छन्।
यतिबेला एक खेलाडीको कारण मेजर लिग सकर अझ चर्चामा आएको छ। एक विश्व चर्चित मिडफिल्डरले ३१ वर्षकै उमेरमा मेजर लिग सकर क्लब जोइन गर्ने निर्णय गरेका छन्। यति कम उमेरमै किन उनले युरोपियन क्लब छाडे ? के उनले आफ्नो करियर दाउमा लगाउँदैछन् ? यस्तै यस्तै प्रश्नहरु उठिरहेका छन्।
हो अर्जेन्टिनी फुटबल टोलीका मिडफिल्ड माएस्ट्रो रोड्रिगो डी पल एमएलएस क्लब इन्टर मायमी पुगेका छन्। इन्टर मायमी अर्थात अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले खेलिरहेको क्लब। सन् २०२३ देखि मेस्सी यो क्लबमा खेलिरहेका छन्। डी पलले यति चाँडै युरोपबाहिरका क्लब रोज्छन् भनेर सायदै मेस्सी र इन्टर मयामीले विश्वास गरेको थियो।
डी पल यसअघि सन् २०२१ देखि स्पेनिस ला लिग क्लब एट्लेटिको म्याड्रिडबाट खेलिरहेका थिए। उनले गत सिजन क्लबका लागि ५३ खेलमा ३ गोल र १० असिस्ट गरे। उनी ला लिगा टिम अफ दी सिजनमा परेका थिए।
एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनका लागि डी पललाई क्लबको मिडफिल्ड इन्जिन थिए। उनले तत्कालै सिमोन एट्लेटिको म्याड्रिडबाट बाहिरिएला भन्ने सोचेका थिएनन्।
डी पल र एट्लेटिको म्याड्रिडबीचको सम्झौता सन् २०२६ मा सकिँदै थियो। नयाँ सम्झौताका लागि आफुले भनेजति अफर गर्न नसक्ने देखेपछि डी पल कन्ट्रयाक्ट सकिनुभन्दा एक वर्ष अगावै अन्य क्लबमा मुभ हुने मुडमा पुगेका थिए। डी पलले नै इन्टर मायमीसँग अप्रोच गरेको बुझिएको छ। डी पलको इच्छाअनुसार एट्लेटिको म्याड्रिडले उनलाई इन्टर मायमीमा लोनमा पठाएको छ। एट्लेटिको म्याड्रिडसँगको सम्झौता सकिएपछी डी पलले आफ्नो इच्छाअनुसार इन्टर मायमीसँग सम्झौता गर्न सक्नेछन्।
डी पलले इच्छा व्यक्त गरेपछि इन्टर मायमीका मालिक उनीसँग सम्झौता गर्न स्पेन नै पुगेका थिए र सम्झौता गरेर मात्र फर्किए।
स्पेनिस मिडिया मार्काका अनुसार डी पलको निर्णयले अर्जेन्टिनी फुटबल समर्थकहरु आश्चर्यचकित भएका छन्। विश्वकप आउनुभन्दा एक वर्ष अघि युरोपको जस्तो टफ लिग छाडेर डी पलले के गरेका हुन् उनिहरु प्रश्न गरिरहेका छन्। युरोपबाहेक अन्य ठाउँमा लिगमा खेल्दा राष्ट्रिय टोलीमा स्थान बनाउन आवश्यक पर्ने तयारी र स्तर पुग्न नसक्ने उनिहरु चिन्ता व्यक्त गरिरहेका छन्।
डी पलमाथी यतिधेरै चिन्ता हुनुको कारण अर्जेन्टिनाले हात पारिरहेका सफलतामा उनको भूमिका नै हो। उनी पछिल्ला केही वर्षयता उच्च लयमा देखिन्छन्। अर्जेन्टिनाले तीन वर्षको अन्तरमा २ पटक कोपा अमेरिका र एकपटक विश्वकप जित्दा डी पलले मिडफिल्डबाट लोभलाग्दो प्रदर्शन गरेका थिए।
सन् २०१२ देखि व्यावशायीक फुटबल खेल्न थालेका डी पल ला लिगा क्लब भ्यालेन्सिया र इटालीको युडिनेजीजस्ता क्लबका लागि खेलेपनि उनको चर्चा बढी सन् २०२१ को कोपा अमेरिकादेखि सुरु भएको थियो। त्यसअघि उनले सन् २०१८ को विश्वकपपछि अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए। सन् २०२१ मा अर्जेन्टिना कोपा अमेरिका खेल्न ब्राजिल पुगेको थियो।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले उपाधि जित्न नसकेको २८ वर्ष भइसकेको थियो। यसको दबाब खासगरि लियोनल मेस्सीमाथी अत्यधिक थियो। कोपा अमेरिकामा दुईपटक र विश्वकपमा एकपटक फाइनल पुगेर पनि उनले उपाधि जिताउन सकेका थिएनन्। मैदानमा यस्तो देखिन्थ्यो मेस्सीको सपना पुरा गर्न नयाँ पुस्ताको नेतृत्व डी पलले गरिरहेका छन्।
उनी मैदानको जुनसुकै भागमा पनि भिडिरहेको देखिन्थे। फाइनलमा डी पलकै लङ रेन्ज पासमा एन्जेल डी मारियाले ब्राजिलविरुद्ध वन भर्सेस वनमा गोल गरे र अर्जेन्टिनाले अन्तत उपाधि खडेरी टार्यो । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले पहिलोपटक उपाधि जिते।
अर्जेन्टिना सन् २०२३ मा विश्वकप खेल्न कतार आयो। ३७ वर्ष भएको थियो, अर्जेन्टिनाले विश्वकप नजितेको। डी पल, मेस्सी र अर्जेन्टिनाले कस्तो खेले, सायद मैले सम्झाइरहनु पर्दैन। फाइनलमा कुनै समय फ्रान्सविरुद्ध अर्जेन्टिना २-० गोलले अगाडि थियो।
तर यो खेल टाइब्रेकरसम्म पुग्यो। बीचमा सब्स्टिच्युट भएर पछि अर्जेन्टिनालाई आईपरेको संकट नियाल्दै एन्जेल डी मारिया र डी पल रोइरहेको पक्कै सम्झनु भयो। अन्तत अर्जेन्टिनाले टाइब्रेकरमा बाजी मार्यो। मेस्सी, डी मारिया, डी पलहरुले विश्वकप उपाधिको सपना पुरा गरे। अर्को वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गर्यो। यसबीचमा अर्जेन्टिनाले कोपा अमेरिका विजेता र युरो कप विजेताबीच हुने फानलिस्सिमाको पनि उपाधि हात पारेको छ। यी प्रत्येक सफलतामा डी पलको भूमिका महत्वपूर्ण छ। त्यसैले अर्जेन्टिनी समर्थकहरु अझै केहि समय डी पललाई राष्ट्रिय टोलीमा चाहन्छन्।
आगामी वर्ष अमेरिकामा विश्वकप हुँदै छ। लियोनल मेस्सीले यो विश्वकप पनि खेल्न सक्ने अर्जेन्टिनि अधिकारीहरु बताइरहेका छन्।
हालै मेस्सी र डी पलले दर्शक दिर्घामा बसेर इन्टर मायमीको खेल हेरिरहेको तस्विरहरु बाहिर आएका थियो। यो दृश्य मेस्सी र अर्जेन्टिनाका समर्थकका लागि इमोसनल बनाउन सफिसियन्ट थियो।
किनभने डी पल मेस्सीको बडिगार्डका रुपमा परिचित छन्। मैदानमा मेस्सीलाई फल गर्ने, आक्रमण गर्न खोज्नेविरुद्ध डी पल बडिगार्ड जसरी एग्रेसिभ हुन्छन् र मेस्सीलाई कभर गर्छन्। यो दृश्य बारम्बार देखिएकाले उनले मेस्सीको बडिगार्डका रुपमा चर्चा पाएका छन्।
डी पलले आफुले मेस्सीलाई माया गर्ने भएकाले उनको वरिपरि रहने गरेको विभिन्न अवसरहरुमा बताउने गरेका छन्। मेस्सीले पनि आफ्नो केयर गर्ने गरेको डी पलको भनाई छ। कतै मेस्सीकै सल्लाहमा उनी इन्टर मायामी त आएका होइनन् ? आशंका गर्न सकिएपनि यसबारे केही बाहिर आएको छैन।
यतिबेला इन्टर मायमीमा मेस्सीसँगै बार्सिलोनाका अन्य तीन पूर्व खेलाडी पनि छन्। उरुग्वेका लुइस स्वारेज तथा स्पेनका सर्जियो बुसकेट्स र जोर्दी अल्बाले इन्टर मायमीका लागि खेलिरहेका छन्। एमएलएसले हरेक क्लबलाई तीन जना डेजिनेटेड खेलाडीलाई मात्र भित्र्याउन अनुमती दिन्छ।
आगामी डिसेम्बरमा बुसकेट्ससँगको सम्झौता सकिन लागेकाले त्यसपछि इन्टर मायमीले डी पलसँग कम्तिमा ४ वर्षको सम्झौता गर्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। मेस्सी र इन्टर मायमीको सम्झौता पनि आगामी डिसेम्बरमा सकिँदै छ। इन्टर मायमी मेस्सीसँग सम्झौता नविकरण गर्न इन्चुक छ। मेस्सीले आगामी योजनाबारे केही बताएका छैनन्।
यतिबेला एमएलएसजस्तो लिग खेलेर विश्वकपको तयारी हुन्छ की हुँदैन भन्ने चिन्ता अर्जेन्टिनी फुटबल समर्थकलाई छ। अहिले अर्जेन्टिनी टोलीमा रहेकामध्ये मेस्सी सबैभन्दा अनुभवी हुन्, धेरै अन्तर्राष्ट्रिय खेल खेलेको हिसाबले।
७८ खेल खेलेका डी पल अहिलेको अर्जेन्टिनी टोलीका धेरै अनुभवी खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। गोलकिपर एमिलियानो मार्टिनेज एस्टन भिल्ला, डिफेन्डर निकोलस ओटामेन्डी बेनफिका, मिडफिल्डर इन्जो फर्नान्डेज चेल्सी तथा अग्रपंक्तीका जुलियान अल्भारेज एट्लेटिको म्याड्रिड र लौतारो मार्टिनेज इन्टर मिलानका लागि खेलिरहेका छन्।
अर्जेन्टिनाले सन् २०२२ मा भएको विश्वकपपछि २९ खेल जितेको। तीन हार र दुई बराबरीको नतिजा निकालेको छ।



