काठमाडौं। नेपालले विश्वकप क्रिकेट छनोटको तयारी थालेको करिब तीन साता भयो। नेपाल क्रिकेट संघ-क्यानले ३२ जनालाई प्रशिक्षणमा बोलाएको थियो।
यतिबेला भारतको बैगलोर र काठमाडौंमा रहेर नेपाली टोलीका लागि तयारी भइरहेको छ। यी दुवै ठाउँमा भइरहेका ट्रेनिङमा सन्दीप लामिछाने समावेश छैनन्। अहिले मात्र हुन् जुन दिनदेखि नेपालले ३२ जना खेलाडी बोलाएर प्रशिक्षण थाल्यो त्यही दिनदेखि सन्दीप टिम प्रशिक्षणमा सहभागी छैनन्।

यतिबेला भारतको बैंगलोरस्थित एनसीएमा २० जना खेलाडी र प्रशिक्षक स्टुवार्ट ल छन्। यता काठमाडौंमा भइरहेको प्रशिक्षणमा ११ जना खेलाडी र सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्।
नेपाल टोलीले अगष्टको दोस्रो साता अस्ट्रेलियामा विश्वकप छनोट तयारीका रुपमा एक प्रतियोगिता खेल्दै छ। त्यसअघि अगस्ट पहिलो साता बैंगलोरमा रहेको टोली नेपाल फर्कने छ।
त्यसपछि अस्ट्रेलिया जाने टिमको घोषणा गरिने छ। टिमको प्रशिक्षणमै सहभागी नभइरहेका सन्दीपबारे छनोट समितीले के र कसरी निर्णय गर्छ, पक्कैपनि तपाईलाई जान्ने इच्छा भइरहेको होला।
सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय गरेपछि अहिलेको घटना भएकाले यसलाई आशंकापूर्वक हेरिएको छ। सेन्ट्रल कन्ट्रयाक्टमा नबसेबापत सन्दीपले मासिक एक लाख रुपैयाँ गुमाइरहेका छन्।
उनी सेन्ट्रल कन्ट्रयाक्टमा किन बसेनन्, यसले उनलाई के फाइदा हुन्छ। अहिलेसम्म केही स्पष्ट भइसकेको छैन। बाहिरबाट हेर्दा उनलाई हुने फाइदा पनि केही देखिँदैन। यति हुँदा हुँदै उनी त्यस्तो निर्णयमा किन पुगे अझैपनि क्रिकेटप्रेमीहरु अचम्मित छन्।
हालै नेपाल प्रेससँगको कुराकानीमा क्यान सचिव पारस खड्काले सन्दीप सेन्ट्रल कन्ट्याक्टमा नबस्दा उनलाई हुने फाइदा आफुले केही नदेखेको भन्दै त्यसले उनलाई कुनै विशेष ट्रिट नहुने स्पष्ट पारेका थिए। साथै उनलाई सेन्ट्रल कन्ट्रयाक्टमा सँधै ढोका खुला रहेको पारसले बताएका छन्।
अहिले सन्दीप किन टिमको प्रशिक्षणमा आइरहेका छैनन् भन्नेबारे हामीले क्यानका जिम्मेवार पदाधिकारीहरुसँग कुराकानी गरेका थियौँ। उनिहरुले प्रशिक्षक र क्यानसँगको समन्वयमै सन्दीप टिमबाहिर रहेको बताए। एक पदाधिकारीका अनुसार सन्दीपले प्रशिक्षकलाई आफु केही समय टिमससँग सहभागी हुन नसक्ने बताएका थिए। यदी ती पदाधिकारीको कुरा विश्वास गर्ने हो भने टिमको तयारी सुरु भएको झन्डै तीन साता भइसकेको छ, सन्दीप अझै आएका छैनन्।
अर्का एक पदाधिकारीले भने सन्दीपले आफै तयारी गर्छु भनेकाले उनलाई अनुमती दिइएको बताए। उनका अनुसार कोचहरुसँग समन्वय गरेर सन्दीप आफै नियमित ट्रेनिङ गरिरहेका छन्। उनिहरुको कुरा सुन्दा दुईवटा कुरा थाहा हुन्छ पहिलो सन्दीप क्यान र प्रशिक्षकसँग समन्वय गरिरहेका छन्। दोस्रो उनी आफै तयारी गरिरहेका छन्। यो उनिहरुलाई सुन्दा लाग्ने कुरा हो।
एउटा प्रश्न चाहीँ उठ्छ- यदी त्यसो हो भने राष्ट्रिय टिमको तयारी जस्तो कुरामा क्यानले कसरी खेलाडी विशेषलाई टिम प्रशिक्षणमा नआउने छुट दिइरहेको छ ? के यसका लागि नै सन्दीपले सेन्ट्रल कन्ट्याक्ट त्याग्ने निर्णय लिएका हुन् ? प्रश्न उठ्न सक्छ। त्यसो त सन्दीपले आफै तयारी गरेर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्ने विगतका विभिन्न घटनाक्रमहरुबाट देखाइसकेका छन्। टी-२० विश्वकपका बेला पनि उनले आफै तयारी गरेका थिए। त्यसअघि पनि यस्ता घटना भएका थिए।
अर्कातर्फ सानो भएपनि एउटा आशंका चाहीँ भइरहेको छ- सन्दीपले अब आफु टिमका लागि उपलब्ध नभएको सन्देश त दिइरहेका छैनन् ? सायद यो पक्कै होइन।
किनभने यसअघि आफु सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय उनले सुनाइरहँदा त्यो क्रिकेट र नेपालबाट टाढिने कदम नभएको स्पष्ट पारेका थिए। केहि दिन अघि पनि आईसिसीको बैठकमा क्यान सचिव पारस खड्काले बोलेको विषयमा सन्दीपले खुलेर तारिफ गरेका थिए।
सन्दीप बाहिर रहेर ट्रेनिङ गरिरहेको विषयमा क्यानले फरक सोच केही बनाएको छैन। अहिलेका लागि सन्दीपले आफुलाई बाहिर बसेर पनि तयार गर्न सक्ने विश्वासमा क्यानका पदाधिकारीहरु देखिन्छन्। बरु सन्दीपले अहिले टिमबाहिर बसेर प्रशिक्षण गरेजस्तै फेरी अर्को यस्तो अनौठो निर्णय गर्छन् की भन्ने चिन्ता उनिहरुलाई छ।
यतिबेला सन्दीप नेपाली टिमभन्दा केही पहिल्यै अस्ट्रेलिया जाने चर्चा पनि छ। क्यानका एक जिम्मेवार पदाधिकारीले सन्दीपले मौखिक जानकारी गराएपनि लिखित रुपमा केही नआएको बताए। अस्ट्रेलियापछि नेपालले वेस्ट इन्डिजसँग टी-२० शृंखला खेल्दै छ। त्यसपछि ओमानमा आगामी अक्टोबरमा टी-२० विश्वकप छनोट हुने छ।



