काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुने बताइएको छ।
ठुला शक्ति राष्ट्रसँग अमेरिकाले कर युद्ध गरिरहेका बेला राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णय आएको हो। ट्रम्पको यो निर्णयले भारतको निर्यातबाट प्रत्यक्ष असर पुर्याउने छ। यसअघि गत अप्रिलमा अमेरिकाले भारतसँग व्यापार घाटा रहेको भन्दै त्यहाँबाट आयात हुने सामानमा २६ प्रतिशत कर लगाउने निर्णय गरेको थियो। तर त्यतिबेला उक्त निर्णय कार्यान्वयन भएको थिएन। वार्ताका लागि त्यसलाई रोकिएको थियो।

भारतले आफ्नो देशबाट आयात हुने सामानमा चर्को कर लगाइरहेको आरोप अमेरिकाको छ। सोही कारणले कर बढाइएको दावी राष्ट्रपति ट्रम्पको छ। अमेरिकाले यसअघि एसियाली राष्ट्रमा मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र जापानलाई अधिकतम २० प्रतिशतसम्म कर लगाएका थिए।
।भारत हाल इलेक्ट्रोनिक्स, औषधि र विशेषगरी स्मार्टफोन उत्पादनको केन्द्र बनिरहेको छ। भारतले यो वर्ष पहिलो पटक चीनभन्दा बढी स्मार्टफोन उत्पादन गर्दैछ। यसअघि चीनसँग ट्रम्पको लामै समयदेखि कर युद्ध चलिरहेको छ।
अमेरिकाले चीनमाथि लगाएको भन्सार दर बढेर १४५ प्रतिशतसम्म पुर्याएको थियो भने चीनले पनि अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशतसम्म वृद्धी गरेको थियो। अहिले दुवै देशले भन्सार ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाएर वार्ताको प्रयाश गरिरहेका छन्।


