काठमाडौं। तीन दिनपछि हुने नेपाल प्रिमियर लिगको मिनि अक्सनका लागि खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ। एक सय ५० जना खेलाडीहरु खाली रहेका ३८ वटा कोटाका लागि प्रतिस्पर्धामा रहनेछन्।
नेपाल क्रिकेट संघ-क्यानले बुधबार ए, बी र सि क्याटोगोरीका टोटल एक सय ५० जना खेलाडीको सर्ट लिस्ट गरेको छ।

आगामी नोभेम्बर डिसेम्बरमा आयोजना हुने अनुमान भइरहेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेल्न ४ सय ५८ जना खेलाडीले मिनि अक्सनका लागि नाम दर्ता गराएका थिए ए, बी र सि क्याटोगोरीका लागि।
तीमध्ये एक सय ५० जना खेलाडीलाई सर्ट लिस्ट गरिएको हो। अब उनिहरुको नाम आगामी शनिबार हुने मिनि अक्सनमा बोलिने छ। मिनि अक्सनका लागि सर्ट लिस्ट भएकामध्ये ८ जना ए क्याटोगोरी, ३५ जना जना बी क्याटोगोरी र एक सय ७ जना सी क्याटोगोरीका खेलाडी छन्।
ए क्याटोगोरीका खेलाडीको बेस प्राइस १० लाख, बी क्याटोगोरीको खेलाडीको बेस प्राइस ५ लाख र सी क्याटोगोरीको खेलाडीको बेस प्राइस २ लाख रुपैयाँ रहने छ। ए क्याटोगोरीको खेलाडीलाई अधिकतम १५ लाख, बी क्याटोगोरीका खेलाडीलाई अधिकतम १० लाख र सी क्याटोगोरीका खेलाडीलाई अधिकतम ५ लाख रुपैयाँसम्म बोलि लगाउन सकिने छ।
अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावाकर, मोहम्मद आदिल खान, सुर्य तामाङ, सुनाम गौतम ए क्याटोगोरीमा छन्। हामीले पाएको जानकारी अनुसार १७ जनाले ए क्याटोगोरीमा नाम दर्ता गराएका थिए। तीमध्ये ८ जना मात्र सर्ट लिस्टमा परेका छन्। पवन र आदिल गत वर्ष अक्सनमा थिएनन्। आदिल मुद्धाको विवादमा थिए भने पवन घाइते थिए। ए क्याटोगोरीमा रहेका अन्य ६ जना खेलाडी फ्रेन्चाइजले रिलिज गरेका हुन्। उनिहरु सबै ६ जना गत संस्करणमा ए क्याटोगोरीबाट खरिद भएका थिए।
नेपाल क्रिकेट संघ-क्यानका अनुसार फ्रेन्चाइजहरुले देखाएको रुची र प्राविधिक विश्लेषणबाट खेलाडीको सर्ट लिस्ट गरिएको छ। तुलानात्मक रुपमा किन ए क्याटोगोरीमा थोरै खेलाडीले नाम दर्ता गराए, किन सी क्याटोगोरीका धेरैलाई सर्ट लिस्ट गरियो ? यहाँ उल्लेखनीय के छ भने खेलाडीले अक्सनमा आफ्नो नाम कुन क्याटोगरीमा दर्ता गराउने भन्ने अधिकार उनिहरुलाई नै दिइएको थियो। तर उनिहरुले बुझेका थिए- नाम दर्ता गराउनुभन्दा महत्वपूर्ण कुरा त्यस क्याटोगोरीबाट आफुलाई लिन्छन् की लिन्नन् भन्ने हो।
खेलाडीको सर्ट लिस्टलाई हेर्यौँ भने बी क्याटोगोरीमा आकाश त्रिपाटी, अनिल खरेल, अर्जुन कुमाल, मौसम ढकाल, युवराज खत्री छन्। यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका स्पीनर युवराज सिनियर टोलीको तयारीका लागि बोलाइने गरिएको प्रारम्भिक टोलीमा अँटाइरहेका खेलाडी हुन्। भुवन कार्की, पृथु बास्कोटा, प्रदिप ऐरीजस्ता पुराना खेलाडी पनि बी क्याटोगोरीबाट मिनि अक्सनमा सर्ट लिस्ट भएका छन्। यस्तै हालै यू-१६ राष्ट्रिय टोलीबाट खेलेका प्रसिद्ध जैसी, परिमार्जन यादब, रौनक श्रीवास्तव लगायत सी क्याटोगोरीबाट सर्ट लिस्ट भएका छन्।
मिनि अक्सनबाट कुल ३८ जना खेलाडी खरिद गरिने छ। जसमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज , सुदुर पश्चिम रोयल्स, लुम्बिनी लायन्सले ५/५ जना खेलाडी लिनेछन्। यस्तै पोखरा एभेन्जर्स र कर्णाली याक्सले ४/४ जना खेलाडी खरिद गर्नेछन्। यो हिसाब कसरी निस्कियो ? पक्कै तपाईलाई जिज्ञासा भइरहेको होला।
एनपीएलको पहिलो सिजन हरेक फ्रेन्चाइजले ए क्याटोगरीका ३, बी क्याटोगोरीका ४ र सी क्याटोगोरीका ३ जना खेलाडीलाई अक्सनबाट लिनुपर्ने थियो। एक जना ट्यालेन्ट हन्ट प्लेयर र मार्की खेलाडी गरी हरेक टिममा १२ जना नेपाली खेलाडी थिए।
दोस्रो सिजन अघि फ्रेन्चाइजहरुले खेलाडी रिलिज र रिटेनको सूची निकालेका थिए। फ्रेन्चाइजहरुले ४ देखि ६ जनासम्म खेलाडी रिलिज गरेका छन्। त्यसअनुसार सबै ८ वटा फ्रेन्चाइजले ए क्याटोगोरीका ४, बी क्याटोगोरीका २३ र सी क्याटोगोरीका १० जना खेलाडी रिलिज गरेका छन्।
८ मध्ये ६ वटा फ्रेन्चाइजले ट्यालेन्ट हन्ट प्लेयर पनि रिलिज गरे। लुम्बिनी लायन्स र कर्णाली याक्सले भने ट्यालेन्ट हन्ट प्लेयरलाई रिटेन गरे। त्यसरी रिटेन भएका ट्यालेन्ट हन्ट प्लेयरले अब ट्यालेन्ट हन्टको मान्यता गुमाउनेछन्। त्यसले के अर्थ राख्छ र ?
अब एनपीएलको नयाँ सिजनका लागि हरेक फ्रेन्चाइजमा एक जना ट्यालेन्ट हन्ट र मार्की खेलाडीसहित १२ जना नेपाली खेलाडी हुनेछन्। पहिलो सिजनमा जस्तो विभिन्न क्याटोगोरीका यति यति खेलाडी हुनुपर्ने भन्ने क्राइट एरिया यसपटक छैन। भनेको पहिलो सिजनमा हरेक फ्रेन्चाइजमा ए क्याटोगोरीका ३, बी क्याटोगोरीका ४ र सी क्याटोगोरीका ३ जना खेलाडी हुनुपर्ने भनिएको थियो। त्यो नियम यसपटक लागु हुने छैन।
अहिले हेर्नुपर्ने भनेको प्रत्येक फ्रेन्चाइजसँग कति रकम छ त्यो महत्वपूर्ण हुने छ। त्यसका लागि फेरी एकपटक लास्ट टाइमतर्फ फर्कनु पर्ने हुन्छ। लास्ट टाइम हरेक फ्रेन्चाइजले बढीमा ९० लाख रुपैयाँसम्म खर्चिएर खेलाडी अक्सनबाट लिन सक्थे। अर्थात ९० लाखको क्याप तोकिएको थियो।
९० लाखको क्यापमा बचेको रकम र यसपटक रिलिज गरिएका खेलाडीलाई खर्चिएको रकम बराबरबाट मिनि अक्सनबाट खेलाडी खरिद गर्नेछन् फ्रेन्चाइजहरुले।
जस्तो की कुनै फ्रेन्चाइजले लास्ट टाइमको अक्सनमा ८५ लाख रुपैयाँमात्र खेलाडी खरिदमा खर्च गरेको थियो भने त्यस फ्रेन्चाइजसँग ५ लाख रुपैयाँ बचेको थियो। यसपटक रिलिज गर्दा त्यस फ्रेन्चाइजले ३५ लाख रुपैयाँ बराबरका खेलाडी रिलिज गरेको रहेछ भने अब त्यो फ्रेन्चाइजसँग ४० लाख रुपैयाँ बराबरको खेलाडी खरिद गर्न सक्ने क्षमता देखिन्छ।
तर त्यसरी खर्च गर्दा मार्की र ट्यालेन्ट हन्ट प्लेयरबाहेक टिममा अनिवार्य १० जना नेपाली खेलाडी हुनुपर्ने छ। त्यसैले यसपटक टिमलाई क्याटोगोरीअनुसारको खेलाडी संख्या पुरा गर्नुपर्ने दबाब चाहीँ हुने छैन।
तर पैसा छ भन्दैमा एक दुई जनामै सिध्याई हाल्ने छुट पनि हुने छैन किनभने उनिहरुले मार्की खेलाडी र ट्यालेन्ट हन्ट प्लेयरबाहेक १० जना नेपाली खेलाडीको कोटा अनिवार्य पुरा गर्नुपर्ने नेपाल क्रिकेट संघ-क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन्। यदी कुनै टिमले ट्यालेन्ट हन्टलाई रिटेन गरेको रहेछ भने ती टिमले यसपटक अर्को ट्यालेन्ट हन्ट प्लेयरलाई लिनुपर्ने छ। जस्तो लुम्बिनी लायन्स र कर्णाली याक्सले ट्यालेन्ट हन्ट प्लेयरलाई रिटेन गरेको थियो अब उनिहरुले यो सिजनका लागि अर्को ट्यालेन्ट हन्ट प्लेयर लिनुपर्ने छ।
अहिले रिटेन भएका खेलाडी हेर्ने हो भने विराटनगर किङ्ससँग ए क्याटोगोरीका तीन, बी क्याटोगोरीका २ र सी क्याटोगोरीका २ जना खेलाडी छन्। यस्तै जनकपुर बोल्ट्ससँग ए क्याटोगोरीका ३, बी क्याटोगोरीका एक र सी क्याटोगोरीका दुई जना खेलाडी छन्। यस्तै काठमाडौं राइनोजसँग ए क्याटोगोरीका ३ तथा बी र सीका एक एक खेलाडी छन्।
पोखरा एभेन्जर्ससँग ए, बी र सी क्याटोगोरीका २/२ खेलाडी छन्। लुम्बिनी लायन्ससँग एका दुई, बीका एक र सी क्याटोगोरीका २ जना खेलाडी छन्। चितवन राइनोजसँग ए र बीका दुई दुई तथा सी क्याटोगोरीका एक खेलाडी छन्। यस्तै कर्णाली याक्ससँग एका दुई, बीका एक र सी क्याटोगोरीका ३ खेलाडी छन्। सुदुर पश्चिम रोयल्ससँग एका तीन तथा बी र सि क्याटोगोरीका एक एक खेलाडी छन्।



