नयाँ दिल्ली : भारतको उत्तराखण्डमा साउन २० गते गएको बाढीमा परि कम्तिमा १७ जना नेपाली सम्पर्कविहिन रहेका छन्। तीमध्ये जाजरकोटको कुशे गाउँपालिकाका मात्र १३ जना रहेको पाइएको छ।
उक्त गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उत्तराखण्डको धरालीमा गएको बाढीमा आफ्नो ठाउँका कम्तिमा १३ जना हराइरहेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कम्तिमा १७ जना नेपाली उक्त बाढीका कारण हराइरहेको भन्दै उद्धारका लागि पहल भइरहेको उल्लेख गरेका छन्। नदीले बगाएर ल्याएको माटोसहितको लेदोले किनारका बस्ती केही मिनेटमै छोपेको थियो।

मानवीय क्षतिको यकिन विवरण आएको छैन। टाइम्स अफ इन्डियाले हालसम्म २ जनाको शव भेटिएको तथा ९ जना सैनिकसहित ७ जना हराइरहेको उल्लेख गरेको छ। ४ सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ।
बेलायतको रोयटर्सले भने स्थानीय अधिकारीलाई उदृत गर्दै कम्तिमा ४ जनाको मृत्यु भएको र ५० भन्दा बढी बेपत्ता रहेको उल्लेख गरेको छ।



