काठमाडौं। अमेरिकामा बस्दै आएको एक नेपाली परिवारमा फेरी दुखद् घटना भएको छ। टेक्ससमा बस्दै आएको परिवारका सबै ३ जनाको गोली प्रहारबाट ज्यान गएको छ।
स्थानीय सुरक्षा अधिकारीले श्रीमती र छोराको ज्यान लिएर ५३ वर्षीय ललित प्रधानले आफ्नो ज्यान लिएको हुन सक्ने आशंका गरेका छन्। ३७ वर्षीय रन्जना श्रेष्ठ, ३ वर्षीय प्रनिष प्रधानलाई शनिबार बिहान करिब २ बजे ललितले गोली हानेको प्रारम्भिक अनुमान गरिएको छ।

रन्जना र प्रनिषको घरमै मृत्यु भएको थियो। ललितलाई भने अस्पताल पुर्याएको केही समयमा मृत घोषणा गरिएको थियो। गोलीको आवाज आएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा रन्जना र प्रनिषको मृत्यु भइसकेको थियो। ललित भने गम्भिर अवस्थामा भेटिएका थिए।
घटनास्थलको प्रकृती हेर्दा ललितले दुई जनालाई गोली हानेर आफ्नो पनि ज्यान लिएको आशंका सुरक्षा अधिकारीको छ। घटनाको कारणबारे केही बाहिर आएको छैन।
मृतक ललित भुटानी शरर्णार्थी हुन्। उनी भुटानि शरर्णार्थीको पुनर्वासअन्तर्गत झन्डै डेढ दशकअघि अमेरिका पुगेका थिए। रन्जनाको माइति भने काठमाडौं रहेको बताइएको छ।


