काठमाडौं। नेपाल ओलम्पिक कमिटी-एनओसीका लागि भन्दै तदर्थ समिति बनेको छ।
पूर्व अध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधानको अध्यक्षतामा तदर्थ समिती बनेको छ। राखेप र खेलकुद मन्त्रालयले जिवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी कार्यसमितीलाई अवैध भन्दै आएको छ।

श्रेष्ठ विधान संसोधन गरेर तेस्रो कार्यकालका लागि एनओसी अध्यक्ष बनेका थिए। त्यसपछि असन्तुष्टि समूहले राखेप र सरकारलाई गुहारिरहेको थियो।
मंगलबार प्रकाशित एक विज्ञप्तीअनुसार २३ वटा खेल संघको बैठकले तदर्थ समिति बनाएको उल्लेख छ।
केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नेपाल ओलम्पिक कमिटी दर्ता गर्न निर्देशन दिएका थिए। त्यसपछि तदर्थ समिती बनेको हो। हाल सातदोबाटोस्थित एनओसी कार्यालयमा जिवनराम नेतृत्वको समितीलाई प्रवेश निषेध गरिएको छ।
हाललाई पूर्व आईजिपीसमेत रहेका प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती बनाइएको छ।

यसैबीच जिवनराम श्रेष्ठ नेतृत्वको एनओसीले आफु मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त रहेको भन्दै अन्य समितीको अस्तित्व नरहने दावी गरेको छ। आफ्नो लेटरप्याड तथा आईओसी र ओसिएका लोगो प्रयोग गरेर विज्ञप्ती जारी भएकोप्रति पनि उसले आपत्ती जनाएको छ।




