काठमाडौं। रौतहटको गौरमा १८ वर्षअघि २७ जना माओवादी कार्यकर्ता मारिएको घटनामा परेको जाहेरीमाथी अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
यो आदेशले तत्कालिन मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबसहित एक सय ३० जनामाथी अनुसन्धान गर्ने बाटो खुलेको छ।

२०६३ चैत ७ गते गौरस्थित राइस मिलमा मधेशी जनाधिकार फोरका कार्यकर्ताको आक्रमणमा परेर माओवादी कार्यकर्ताको क्रुर हत्या भएको थियो। एकै ठाउँमा एकै दिन सभा आयोजना गर्नेक्रममा विवाद हुँदा फोरमका कार्यकर्ताले माओवादीले बनाएको मन्च भत्काउँदै पछि आक्रमणमा पनि उत्रिएका थिए।
घटनामा मारिएकाका आफन्त र घाइतेले यादबकै योजनामा आक्रमण भएको भन्दै उनिसहित १ सय ३० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर राजनीतिक दाउपेचमा उक्त जाहेरीमाथी अनुसन्धान हुन सकेन। त्यसपछि पिडितहरु न्याय माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तत्काल अनुसन्धान अघि बढाउन भनेको हो। अब पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार उनीहरूमाथि अनुसन्धान अघि बढ्नेछ ।
उपेन्द्र यादब हाल जसपा नेपालका नेता हुन्।



