काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसियसन (नाडा) सोको १७ औँ सस्करण मंगलबार राजधानीमा सुरु भएको छ। नाडाको आयोजनामा हरेक वर्ष हुने यो सो मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । अटो सोमा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी रहेको छ । अटो सोमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकको छ।

यसपालिको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताए । बजारमा माग बिस्तारै बढिरहेको भन्दै ढकालले दुई वर्षअघिको तुलनामा ४० प्रतिशत बढी सवारी बिक्री हुने आंकलन गरिएको समेत बताए।
बैंक तथा वित्तीयसंस्थामा तरलता बढेको र ब्याजदर एकल अंकमा सीमित रहेको उनले बताए । महासंघले १० अर्बको कम्पनी सञ्चालन गरेको भन्दै त्यसलाइ लिक्विडिटी मान्दा ४० अर्बबराबरको आन्तरिक लगानीबाट प्रसारणलाइनलगायत निर्माण गर्न सकिने उनको भनाइ छ ।
अटो क्षेत्रले नेपालभर हाल १० लाख बढी रोजगारी सृजना गरेको बताइन्छ।


