काठमाडौं । भारतले लिपुलेक पास आफ्नै भएको दावी दोहोर्याएको छ। लिपुलेक माथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भारतको भनाई छ।
नेपालले लिपुलेक आफ्नो भएको दावी दोहोर्याएपछि भारतले प्रतिक्रिया जनाएको हो। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुने गरेको दाबी गरेका छन् ।

कोभिडका कारण केही वर्ष रोकिएको भएपनि अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको उनको दाबी छ ।
‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन’उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले अस्वीकार गर्ने बताउँदै स्पष्ट पारेका छन्।
बाँकी सीमाका समस्याका विषयमा नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट कुरा गर्न तयार रहेको भारतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।


