काठमाडौं। साउन ८ गते एक युवती क्यानडाबाट काठमाडौं ओर्लिन्छिन्।
७/८ महिना अघि मात्र क्यानडा पुगेकी ती युवती काठमाडौं आएको उनका परिवारका कसैलाई पनि थाहा हुँदैन। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि ब्वाइफ्रेन्डलाई फोन गर्दै लिन बोलाउँछन्। ब्वाइफ्रेन्ड एयरपोर्ट पुग्छन् र गलफ्रेन्डलाई आफ्नो डेरा कोठामा लिएर आउँछन्।

त्यसको सात दिनपछि प्रहरीले ती ब्वाइफ्रेन्डलाई पक्राउ गर्छ। ब्वाइफ्रेन्डमाथी गम्भिर आरोप लागेको हुन्छ- बलात्कार गरेको। त्यस्तो आरोप लगाउने तीनै क्यानडाबाट आएकी युवती हुन्छिन्। उनले आफुलाई बन्धक बनाएर बलात्कार गरेको उजुरी प्रहरीमा गरेकी थिइन्। यतिबेला ती युवक ललितपुर प्रहरीको हिरासतमा छन्। ती युवक हाल एबिबिएस तेस्रो वर्षमा अध्ययन गरिरहेका विधार्थी हुन्। यति भनेपछि घटनाको पुरा विवरण थाहा पाउने मन तपाईलाई पक्कै भयो होला।
प्रहरी अनुसन्धान, पिडित भनिएकी युवती र आरोपी भनिएका युवकले दिएका बयानका आधारमा हामीले यो भिडियो तयार गरेका छौँ। गोपनीयताका कारण हामीले यहाँ पिडित भनिएकी युवतीलाई रविना र आरोपी युवकलाई रविन भनेर सम्बोधन गर्ने छौँ।
सुरु गरौँ पिडित भनिएकी युवतीको जाहेरी र घटना विवरण कागजबाट। रविनाका अनुसार रविनसँग उनको स्कुल पढ्दादेखि चिनजान थियो। दुई वर्षयता उनीहरुबीच घनिष्ट सम्बन्ध थियो। अझ भनौँ उनिहरु लभ अफेयरमा थिए। यसैबीच झन्डै ६ महिना अघि रविना उच्च शिक्षा अध्ययनका लागि क्यानडा पुगिन्। रविना र रविनाबीच सामाजिक सन्जालमा कुरा भइरहेको थियो।
रविनाका अनुसार रविनले कलेज विदा भए नेपाल आउन रविनालाई भनेका थिए। त्यसपछि बुबा आमालाई समेत सरप्राइज दिने गरी उनी नेपाल आएकी थिइन्। साउन ८ गते दिउँसो २ बजे काठमाडौं आएकी रविनाले रविनलाई फोन गरी लिन बोलाइन्। रविन स्कुटी लिएर लिन पुगे। उनिहरु दुवै जना रविनको कोठा आए। रविनाका अनुसार त्यस दिन साँझ रविना केही सामान लिएर कुपन्डोलस्थित फुपुको छोरी बस्दै आएको डेरामा पुगेकी थिइन्।
दुई दिनपछि अर्थात साउन १० गते रविनले रविनालाई फोन गरेर भेट्न बोलाएका थिए। उनिहरु दिउँसो लबिम मलमा फिल्म हेर्न पुगे। साँझ रविनले रविनालाई आफ्नो डेरा कोठा लगेका थिए। त्यस दिन रविनले आफ्नो मोबाइल खोसेर राखेको, बलात्कार गरेको र कतै निस्कन नदिएको आरोप रविनाको छ। उनका अनुसार रविनले आफ्नो इच्छा लागेको समयमा उनलाई जबर्जस्ती गर्थे।
साउन १३ गते बिहान आफुले इन्कार गर्दा रविनले निर्घाट कुटपिट गर्दै बलात्कार गरेको दावी रविनाको छ। त्यसै दिन रविनलाई छलेर आफु कोठाबाट निस्किएको र आफन्तलाई भनेपछि प्रहरीसम्म आएको उनले बयान दिएकी छिन्। उपचार गराइरहेकै अवस्थामा रविनाले प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरी अनुसन्धानमा रविनाको शरिरका विभिन्न भागमा चोट देखिएको छ।
यति भनेपछि आरोपी भनिएका रविन चाहीँ के भन्छन् ? तपाईलाई पक्कै जिज्ञासा भइरहेको होला।
रविनका अनुसार करिब २ वर्षअघि रविनासँग सामाजिक सन्जालमार्फत चिनजान भएको थियो। त्यसपछि उनिहरुबीच घनिस्ट सम्बन्ध भयो। भेटघाट र घुमफिरहरु हुन थाले। यत्तिकैमा रविना ७/८ महिना अघी उच्च शिक्षा अध्ययनका लागि क्यानडा लागिन्
। क्यानडा गएपछि रविनाको बानी परिवर्तन भएको र केहि समयसम्म बोलचाल नभएको रविनले बताएका छन्। उनका अनुसार झन्डै तीन महिना अघि रविना आफैले फोन गरेर अब सम्बन्ध सुधार गर्नुपर्छ, पछि विवाह गर्नुपर्छ भनेकी थिइन्। आफु विदामा नेपाल आउने र कोर्ट म्यारिज गर्नुपर्छ भनेकी थिइन्।
साउन ८ गते दिउँसो क्यानडाबाट कुरियरको सामान आएको छ भन्दै आफुलाई फोन आएको र त्यहाँ पुग्दा रविनालाई देखेर आफु छक्क परेको रविनले बयान दिएका छन्। रविनाले आफु कतै नजाने र तिमीसँगै बस्ने भनेर जिद्धि गरेपछि आफुले बाध्य भएर कोठा ल्याएको दावी रविनको छ। उनका अनुसार कोठा आएलगत्तै अपरान्ह ४ बजे आपसी सहमतीमा शारिरिक सम्बन्ध भएको थियो। भविस्यमा विवाह गर्ने योजनासहित उनिहरु हाँसीखुसी बसिरहेका थिए। रविनका अनुसार उनिहरु घुमफिर गर्न, फिल्म हेर्न पनि निस्किएका थिए।
तर साउन १३ गते बिहान एकाएक माहोल बदलिएको थियो। रविनका अनुसार रविनाले अब क्यानडा नफर्कने र नेपालमै विवाह गरेर बस्ने बताएपछि उनिहरुबीच विवाद चर्कियो। हात हालहालको अवस्था बन्यो। रविनले आफुले पटकपटक रविनालाई मुक्का हानेको स्विकार गरेका छन्। तर आफुलाई जोगाउन त्यसो गरेको उनको दावी छ।
त्यस दिन रविनासँग शारिरिक सम्बन्ध नभएको उनले बयानमा भनेका छन्। रविना क्यानडा फर्किए आफूले अन्य केटीसँग विवाह गर्ने भनेर बारम्बार शंका गरेकाले विवाद चर्किएको रविनको दावी छ। झगडापछि रविनाले मेडिकलबाट मलम ल्याएर लगाएको र उनलाई अस्पताल जाउँ भन्दा नमानेको पनि रविनले बयानमा भनेका छन्।
प्रहरीले यो घटनाको अनुसन्धानमा रविन बस्दै आएको घरका घरबेटी, त्यस घरमा बस्ने डेरावाल, रविनाको फुपुकी छोरी, मामाको छोरीसँग पनि सोधपुछ गरेको छ। यस्तै लबिम मलमा फिल्म हेर्न जाँदा सँगै रहेका साथीसँग पनि प्रहरीले सोधपुछ गरेको छ।
रविनले साउन ८ गतेदेखि रविना आफुसँगै बस्दै आएको दावी गरेपनि रविनाकी फुपुकी छोरीले भने साउन ८ गते राती रविना आफ्नो घरमा आएको र साउन १० गते साथीलाई भेट्न निस्किएर नफर्किएको प्रहरीलाई बताएकी छिन्। यता रविन बस्दै आएको घरमा बस्ने अन्यले भने रविनालाई ४/५ दिन त्यहाँ देखेको प्रहरीलाई बताएका छन्।
रविनाका शरिरका विभिन्न भागमा कुटपिटका स्पष्ट घाउहरु रहेको मेडिकल रिपोर्टहरुबाट देखिएको छ। यतिबेला जबर्जस्ती करणी गर्नकै लागि रविनले रविनालाई कुटपिट गरेको अभियोगसहित अदालतमा मुद्धा दायर भएको छ। रविनलाई १० वर्षसम्म कैद सजाय माग गरिएको छ। जिल्ला अदालत ललितपुरले रविनलाई थुनामा पठाउने थुनछेक आदेश गरेको छ।


