काठमाडौं। नेपाली क्रिकेटका लागि भोली अर्को ऐतिहासिक दिन हुने छ- नेपालले टेस्ट राष्ट्रसँग पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ।
टेस्ट राष्ट्रसँग बाइल्याटरल सिरिज खेल्ने नेपालको सपना वेस्ट इन्डिजले पुरा गर्दै छ। यूएईको शारजहा क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिजबीच तीनवटा टी-२० अन्तर्राष्ट्रिय खेल हुने छ।

शृंखलाको पहिलो खेल भोली हुँदै छ। तपाईलाई लागि रहेको होला- यो शृंखलाको चर्चा किन यति धेरै भइरहेको छ ? नेपालले त भारत, पाकिस्तानदेखि दक्षिण अफ्रिकासँग सम्म खेलिसकेको छ अन्तर्राष्ट्रिय क्रिकेटमा।
वेस्ट इन्डिजसँग खेल्दा त्यस्तो के अचम्म हुने छ ? यसले नेपाली क्रिकेटमा के फरक पार्छ ? पक्कै यस्तै जिज्ञासाहरु तपाईका होलान।
नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीसँग खेल्न थालेको सन् २०१४ देखि हो।
पहिलोपटक नेपालले बंगलादेशसँग खेलेको थियो- सन् २०१४ मा बंगलादेशमै आयोजना भएको टी-२० विश्वकपमा। त्यसपछि सन् २०१८ को एकदिवशीय विश्वकप छनोटमा जिम्बावे र अफगानिस्तानसँग खेल्यो। सन् २०२३ मा नेपालले एकदिवशीय विश्वकप छनोटमा जिम्बावेसँगै अर्को टेस्ट टोली वेस्ट इन्डिजसँग खेलेको थियो।
त्यसै वर्ष नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्यो। सन् २०२४ मा नेपालले वेस्ट इन्डिज र अमेरिकाले आयोजना गरेको टी-२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको पक्कै विर्सनु भएको छैन होला। क्या खेलेको थियो, झन्डै झन्डै जितेको थियो।
टेस्ट टोलीसँग नेपालले खेल्न बाँकी भनेको अब एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफी मात्र हो। एसिया कप र टी-२० विश्वकपमा खेलिसकेको छ। टी-२० विश्वकप पहिलोपटक खेलेको ११ वर्षसम्म नेपालले कुनैपनि टेस्ट राष्ट्रसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थिएन।
टी-२० अन्तर्राष्ट्रिय शृंखला मात्र होइन एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला पनि खेलेको छैन। नेपालले पहिलोपटक सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो। त्यसयता नेपालसँग निरन्तर ओडीआई स्टाटस रहेको छ। यो ब्यागराउन्ड मैले किन जोडेँ भन्ने केहीबेरमा थाहा पाउनु हुने छ।
अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका १२ वटा टेस्ट मान्यता मात्र देश छन्। यी १२ वटा देशले टेस्ट मान्यता प्राप्त नभएका टिमसँग खेल्ने अवस्था सामान्यतया दुईवटा हुन्छन्।
पहिलो एसिया कप वा विश्वकपजस्तै कुनै प्रतियोगितामा छनोट हुनु पर्यो। दोस्रो भनेको बाइल्याटरल सिरिज हुनुपर्यो अर्थात दुई देशबीच मात्र खेलहरुको सिरिज हुनुपर्यो। यस्ता सिरिज खेल्न कम्तिमा ओडिआई स्टाटस त चाहिन्छ नै। तर यत्ति मात्र भएर पुग्दैन। किन पुग्दैन ? त्यसको उत्तर नेपालसँग नै छ। पहिलोपटक ओडिआई मान्यता पाएको झन्डै ७ वर्षपछि नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ।
नेपालले चाहेर मात्र हुँदेन थियो त्यसका लागि टेस्ट राष्ट्रहरु पनि तयार हुनुपर्ने थियो। यस्ता शृंखलाका लागि टेस्ट राष्ट्रले अपोनेन्टको स्तर, आफ्नो व्यस्तता सबै कुरा हेर्छन्।
नेपाल एसोसिएट टोली भएको हिसाबले टेस्ट राष्ट्रलाई कन्भिन्स गर्न त्यति सजिलो थिएन। भलै नेपाली क्रिकेटको फ्यान बेसको चर्चा विश्वस्तरमा हुने गरेको लामै समय भइसकेको छ।
नेपाल क्रिकेट संघ-क्यानमा पारस खड्का सचिव भएर आएपछि उनले ढिलो चाँडो टेस्ट राष्ट्रलाई बाइल्याटरल सिरिज खेल्न बोलाउने कमिटमेन्ट गरेका थिए। गत वर्ष वेस्ट इन्डिजको ए टिम नेपाल आएको थियो।
पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिगमा शिखर धवन, मार्टिन गप्टिल,जिम्मी निसामजस्ता नाम चलेका खेलाडी आएका थिए। वेस्ट इन्डिजका महान् खेलाडी ब्रायन लारा पनि एनपीएल हेर्न आईपुगेका थिए। त्यतिबेला उनले नेपाली क्रिकेटको विकाशमा सक्दो सहयोग गर्ने वचन दिए।
नेपालले आगामी महिना टी-२० विश्वकपको छनोट खेल्दै छ। त्यसअघि वेस्ट इन्डिजजस्तो टिमसँग खेलेर नेपालले उक्त प्रतियोगिताका लागि गतिलो तयारी गर्दै छ।
तपाईलाई पक्कै थाहा भएको हुनुपर्छ-गत टी-२० विश्वकपको पूर्व सन्ध्यामा नेपालले वेस्ट इन्डिज एसँग खेलेको थियो। परिणाम कस्तो निस्कियो- हामी सबैले टी-२० विश्वकपमा देख्न पायौँ।
वेस्ट इन्डिजसँगको शृंखलाको नतिजा कस्तो निस्केला त्यो आफ्नो ठाउँमा छँदै नै छ। त्योभन्दा बढी यो शृंखलाले बाँकी टेस्ट राष्ट्रलाई दिने म्यासेज हुने छ।
आशा गरौँ-नेपालले भन्ने छ- हामी टेस्ट राष्ट्रसँग बाइल्याटरल सिरिज खेल्न सक्षम छौँ। टेस्ट राष्ट्रसँग खेल्न कुनै प्रतियोगिता नै कुर्नुपर्ने अवस्थाबाट मुक्त गर्न नेपाललाई यस्ता बाइल्याटरल सिरिज चाहिएको छ। थियो लामो समयदेखि।
आफुभन्दा निकै बलिया टोलीसँग नियमित खेल्न पाएमा त्यसले नेपाली टोलीको स्तर कहाँबाट कहाँ पुर्याउला- हामी अनुमान र अपेक्षा गर्न सक्छौँ। त्यस अवसरका लागि यतिबेला वेस्ट इन्डिजलाई नेपाली क्रिकेटले धन्यवाद भन्नैपर्छ।
अब कुरा रह्यो यो शृंखलामा नेपालको प्रदर्शन कस्तो रहला भन्ने। किनभने हामी विश्वकप छनोटको पूर्व सन्ध्यामा छौँ। नेपाल जति उत्साही छ त्यति नै सजग छ वेस्ट इन्डिज। नेपालले वेस्ट इन्डिज एसँग एक वर्षअघि गरेको प्रदर्शन र त्यसपछि विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई अत्याएको वेस्ट इन्डिजले विर्सिएको छैन। नेपाल सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक टेस्ट मान्यताप्राप्त देशलाई हराउने प्रयाशमा छ, वेस्ट इन्डिजले यो पक्कै बुझेको छ।
वेस्ट इन्डिजले ३२ वर्षीय बलर अकिल होसेनको कप्तानमा नेपालसँग खेल्ने टिम पठाएको छ। टिममा पूर्व कप्तान जेसन होल्डर पनि छन्। एक वर्ष अघि नेपाल आउको वेस्ट इन्डिज एबाट खेलेका बलिङ अलराउन्डर फाबियान आलेन र बलर केसी कार्टी पनि यो टोलीमा छन्।
वेस्ट इन्डिज टिममा रहेका १८ वर्षे विकेटकिपर जेवेल एन्ड्र्युले यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३ वटा मात्र टी-२० खेलेका छन्। अर्का विकेटकिपर अमिर जांगुले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ। २२ वर्षे ओपनिङ ब्याट्सम्यान अकिम अगस्टीले पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छैनन्।
ब्याटिङ अलराउन्डर नबिन विदैसीले पनि यसअघि टी-२० अन्तर्राष्ट्रिय खेलेका छैनन्। ब्याटिङ अलराउन्डर कायल मेयर्स अनुभवी खेलाडी हुन्। उनको स्ट्राइक रेट करिब एक सय ३८ को रहेको छ। बाँकी धेरै जसो खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा कम अनुभवी छन्।
जुन हिसाबको पावर हिटिङ छवी छ- वेस्ट इन्डिजको, सायद कम खेल खेलेर होला धेरै जसो त्यहाँका खेलाडीको स्टाट्स गतिलो छैन। यता नेपाली टोलीमा रहेका धेरै जसो खेलाडी ५/६ वर्षदेखि नियमित अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन्।
दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आदिल आलम, कुशल भुर्तेल, कुशल मल्ल, करन केसीलगायत ब्याटर पावर हिटरका रुपमा चिनिएका छन्। ललित नारायण राजबंशी र सन्दीप लामिछानेको स्पीनले वेस्ट इन्डिजका कम अनुभवी ब्याट्सम्यानलाई पक्कैपनि अल्मल्याउने छ। तीन खेलमध्ये कम्तिमा एउटा जित पनि नेपाली क्रिकेटका लागि विशेष हुने छ।



