काठमाडौं। टी-२० क्रिकेट भन्नेवित्तिकै सबैको दिमागमा सुरुमै आउने भनेको पावर हिटिङ गेम। छक्का र चौकाको त वर्षा नै हुन्छ। ब्याटरहरु एक दुई रनभन्दा बाउन्ड्री बढी ट्राइ गर्छन्।
यही फर्म्याटका लागि वेस्ट इन्डिजका ब्याटरहरु धेरे चिनिएका छन्। त्यसो त वेस्ट इन्डिज दुईपटक टी-२० विश्वकप विजेता पनि बनेको टीम हो। थोरै बलमा धेरै रन बनाउन सक्ने भएकाले वेस्ट इन्डिजका ब्याटरको डिमान्ड विश्वभर छ।

यस्तै लोभलाग्दो छवी भएको वेस्ट इन्डिजसँग नेपालले शनिबारदेखि ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ युएईको शारजहा क्रिकेट मैदानमा। नेपाली क्रिकेटले यो शृंखलालाई ठुलो उत्सव जसरी सेलिब्रेट गरिरहेको छ।
टी-२० क्रिकेटको पावर हाउस वेस्ट इन्डिजसँग खेल्न लाग्दा नेपाल र नेपाली ब्याटरको स्टाट चाहीँ विगतमा कस्तो छ ?
नेपालले हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ पटक २ सयभन्दा बढी रन जोडेको छ। तीमध्ये १० वटा खेलमा जित हात पारेको थियो। सन् २०२३ को अक्टोबरमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो। बलियो टोली नेदरल्यान्ड्सविरुद्ध एकपटक २ सय ३८ र अर्कोपटक २ सय ६ रन बनाएको छ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको प्रदर्शनको कुरा गर्दा हामी स्ट्राइक रेट, एभरेज र पछिल्लो प्रदर्शन तीनवटैलाई हेर्ने छौँ। स्ट्राइक रेटमा करन केसी सबैभन्दा अगाडी छन्। उनले एक सय ५२.४४ स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्।
करनको ब्याटिङ एभरेज भने १५ दशमलब ०४ मात्र रहेको छ। पछिल्ला खेलहरु हेर्यौँ भने करनबाट सन्तोष मान्न सकिने अवस्था छैन। २०२४ को सेप्टेम्बरयता उनले दोहोरो अंकमा रन जोड्न सकेका छैनन्। तर संकटको बेला थुप्रै पटक नेपाललाई उनले उद्धार गरेको इतिहास छ- आक्रामक ब्याटिङ गरेर।
गुल्सन झाको स्ट्राइक रेट एक सय ४१ दशमलब ०२ र ब्याटिङ एभरेज २२.५ रहेको छ। उनले पनि पछिल्लो समय ठुला इनिङ्स खेल्न सकिरहेका छैनन्। कुशल मल्लको स्ट्राइक रेट एक सय ४६.६५ र ब्याटिङ एभरेज २६.३१ रहेको छ। उनी केही समय टिमबाहिर रहेर कमब्याक गरेका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लको प्रदर्शन पछिल्लो समय त्यति खराब छैन।
नेपालका ओपनर कुशल भुर्तेल आक्रामक ब्याटिङ गर्छन्। उनको स्ट्राइक रेट एक सय २९ दशमलब ६३ र ब्याटिङ एभरेज २९.३ रहेको छ। कुशल भुर्तेल यतिबेला उच्च लयमा देखिन्छन्। यस्तै दीपेन्द्रसिंह ऐरीको स्ट्राइक रेट एक सय ४१ दशमलब ०९ र ब्याटिङ एभरेज ३३.१४ रहेको छ। उनी सबैभन्दा राम्रो एभरेज भएका नेपाली ब्याटर हुन्। दीपेन्द्र पछिल्लो समय लयमा फर्किरहेका छन्। उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्।
८ वटा मात्र टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका आदिलको स्ट्राइक रेट एक सय ४२.८५ रहेको छ। तर उनको एभरेज सन्तोषजनक छैन। केवल १५.७१ रहेको छ। २८.३३ एभरेज भएका कप्तान रोहित पौडेलको स्ट्राइक रेट एक सय २० दशमलब ५१ रहेको छ। यस्तै आसिफ शेखको ब्याटिङ एभरेज २४.०८ र स्ट्राइक रेट एक सय ११८.२६ रहेको छ।
यति सुनेपछि अब भन्नुस् वेस्ट इन्डिजविरुद्ध नेपाली टिमबाट कुन ब्याट्सम्यान खह्रो उत्रेलान्। कमेन्ट गर्न नभुल्नु होला।



