काठमाडौं। स्याल कराउनु र कुखुरा हराउनु संयोग मात्र होकी स्यालले नै कुखुरा लगेको हो ? यतिबेला नेपालको अग्रणी टेलिभिजन कान्तिपुर टिभिमा यस्तै भएको छ।
प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएका छन्। एउटा टेलिभिजनको प्रधान सम्पादकले राजिनामा दिएको विषयले ठुलै चर्चा पाइरहेको छ।

कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएको विषयको केन्द्रमा छन् क्रिकेटर सन्दीप लामिछाने। लामिछानेले आफुबारे प्रकाशित समाचारमा आपत्ती जनाएपछि विकशित घटनाक्रमबीच पौडेलले राजिनामा दिएका हुन्। कान्तिपुर टेलिभिजनले मंगलबार रुपेश श्रेष्ठलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिएको छ।
सन्दीप प्रकरणमै पौडेलले राजिनामा दिएका हुन् स्पष्टसँग भन्न सकिने अवस्था छैन। व्यक्तिगत कारण देखाएर राजिनामा दिने चलन हुन्छ। तर पौडेलले सन्दीप प्रकरणमै राजिनामा दिएका हुन् भनेर आशंका गर्ने ठाउँहरु चाहीँ छन्।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक शृंखला खेल्न यूएई पुगेका सन्दीप लामिछाने सेप्टेम्बर २७ तारिख साँझ भएको पहिलो खेलमा मैदानमा देखिएनन्। त्यति मात्र होइन सब्स्टिच्युट खेलाडीको सूचीमा समेत उनको नाम थिएन। नेपाली क्रिकेटका पोस्टर ब्वाई सन्दीप यति ठुलो शृंखलामा टिम बाहिर भएपछि मिडियाले चासो राख्नु स्वभाविक थियो। भोलीपल्ट कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणमा एउटा समाचार प्रकाशित भयो। त्यसमा सन्दीप किन टोलीमा अँटाएनन् भनेर लेखिएको थियो।
समाचारको आशय थियो- सन्दीपले आफु क्यानसँग सेन्ट्रल कन्ट्रयाक्टमा नरहेका कारण नासा सेक्युरिटिज उल्लेख भएको जर्सी लगाउन मानेनन्। नासा सेक्युरिटिजले आफुसँग बेग्लै सम्झौता गर्नुपर्ने उनले अडान राखे। त्यही कारण विवाद भयो र सन्दीप टिम बाहिर भए।
कुरा यही थियो। सन्दीपले तथ्यहिन समाचार लेखेको भन्दी कान्तिपुर टिभिमाथी खनिए। उनले भने- खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ—
कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?
अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।
“Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।
र जहाँसम्म CAN सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो। त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?
समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।
सन्दीपको यो स्टाटसपछि सामाजिक सन्जाल कान्तिपुर टिभिमाथी खनियो। कान्तिपुर टिभि हालै भएको जेनजी आन्दोलनमा निशानामा परेको थियो। आन्दोलनको क्रममा कान्तिपुर टिभि कार्यालय जलाइयो। जेनजीले जलाए की जेनजीको नाममा घुसपेठ भएर जलाइयो ? स्पष्ट छैन। तर निकै संवेदनशिल मानिने सन्चार माध्यममा दिनदहाडै आगो लगाइयो।
हाल जेलमा रहेका रवि लामिछाने कुनै समय भन्थे- नेपालमा बाह्र भाइ मिडिया छन्। उनिहरु मिलेर कसैलाई सिध्याउँछन्, समाचार लेख्न उनिहरुलाई प्रमाण केही पनि चाहिँदैन। नेपालका मिडियाहरुले तथ्यहिन समाचार लेख्ने गरेको, कसैलाई संगठित रुपमा सिध्याउन लागि पर्ने गरेको, समाचारका नाममा मोलमोलाई गर्ने गरेको आरोप पटकपटक खेप्ने गरेका छन्।
पछिल्लो समय यस्तो आरोप लगाउने समूहको नेतृत्व रवि लामिछानेले गरेका थिए। त्यसो त समाचारमा असन्तुष्ट पक्षले सम्बन्धित मिडियामाथी खनिनु अस्वभाविक होइन। कसैले पनि म दोषी हो भनेर मान्न तयार हुँदैन। दोषी भए जसरी वा समाजमा आफ्नो इमेज बिग्रने गरी समाचार आएपछि त्यसको खन्डन गर्नु वा प्रतिवाद गर्नु सामान्य कुरा हो।
नेपाली मिडियाहरुका कमजोरी कति होलान् , कति ठाउँमा चुक्छन् त्यो अनुसन्धानको विषय होला। तर सन्दीपले आफुबारे लेखिएको समाचारमा गरेको प्रतिवाद नेपाली मिडियाहरु तथ्यपरक, प्रमाणसहित समाचार लेख्दैनन् भन्ने आशयको थियो। उनले जेनजी आन्दोलन र कान्तिपुर टिभिमा भएको आक्रमणलाई समेत संकेत गरेर सच्चिन भनिरहेका थिए।
अब पर्खाई थियो- कान्तिपुर टेलिभिजनको प्रतिक्रियाको। कान्तिपुरले प्रमाणसहित लेख्यो की प्रमाण विना- सबैले चासोपूर्वक कुरिरहेका थिए। कान्तिपुरले समाचार पुष्टी गर्न सकेन र माफी माग्यो। यो प्रकरणमा नेपाली मिडियामा विरलै देखिने घटना भयो। सन्दीपको आरोपपछि कान्तिपुर टेलिभिजनका मालिक सम्भव सिरोहियोको चासो देखियो। मिडियामा सम्पादकीय स्वतन्त्रता अपेक्षा गरिन्छ। समाचारमा मालिकको हस्तक्षेप वा प्रभाव कल्पना गरिँदैन। कुनै विवाद आयो भने त्यसलाई सम्पादकीय नेतृत्वले नै ह्यान्डल गर्छ।
कान्तिपुरमा भएको आक्रमण र आगजनीपछि सम्भव सिरोहिया व्यवस्थापनमा आफ्नो हस्तक्षेपकारी भूमिका देखाइरहेका छन्। आगजनीपछि भौतिक रुपमा कमजोर बनेको कान्तिपुरका लागि उनी लिडर जसरी बोलिरहेका छन्। मालिक भएको र लगानी परेको हिसाबले उनी सबैभन्दा बढी सचेत र सजग हुनु स्वभाविक मान्न सकिएला। तर सन्दीप प्रकरणपछि सम्भव सिरोहियाले आफु सम्पादकीय टिमले गरेका गल्तीहरु टुलुटुलु हेरेर नबस्ने संकेत गरेका छन्। उनले सन्दीप प्रकरणमा आफ्नै न्युजरुमको खुलेर आलोचना गरेका छन्। समाचारको वास्तविकता पत्ता लगाउन आफैले छानबिन समिति बनाएर काम गरेको पनि सम्भव सिरोहियाले सार्वजनिक गरेका छन्।
चिया गफका भरमा समाचार लेखेको भन्दै उनले आफ्नै न्युजरुम र सम्पादीय नेतृत्वलाई भित्तामा पुर्याई दिएका छन्। कुनै पनि समाचार रिपोर्टरले लेखेपछि त्यो प्रकाशित नहुँदासम्म विभिन्न लेयरमा गेटकिपिङ हुन्छ। हुनुपर्छ। समाचार पूर्ण छ की छैन। छाप्नै की नछाप्ने अन्तिम निर्णय प्रधान सम्पादकले गर्ने हुन्। सैद्धान्तिक कुरा यही नै हो।
त्यसैले सम्भव सिरोहियाको त्यो टिप्पणीपछि प्रधान सम्पादक विजय पौडैल नैतिक दबाबमा पर्नु स्वभाविक थियो। हामीले बुझेनअनुसार पौडेल दशैँको विदामा छुट्टी बस्ने तयारी गरिरहेका थिए। तर सन्दीप प्रकरण उचालिएपछि उनी व्यवस्थापनलाई राजिनामा बुझाएर सहकर्मीसँग विदा भएर निस्किएका थिए।
सम्भव सिरोहियाको टिप्पणी र प्रधान सम्पादक विजय पौडेलको राजिनामापछि मानिसहरु भनिरहेका छन्- सन्दीप लामिछाने पो बोल्न सक्ने थिए उनको पछाडि भिड थियो र उनको कुरा मिडियाले सुन्यो। बोल्नै नसक्ने कतिलाई मिडियाले यसरी कपोकल्पित समाचार बनाएर भिक्टिम बनाउला ! तपाईलाई पनि यस्तै लागिरहेको हुनुपर्छ।
यो प्रकरणमा कान्तिपुर टेलिभिजनमा देखिएका दुईवटा घटना सायद नेपाली मिडियाका लागि उदाहरण हुन सक्छन्। पहिलो, समाचारको खन्डनपछि व्यवस्थापन अर्थात मालिकले सत्यतथ्यबारे देखाएको सक्रियता। जसरी सम्भव सिरोहिया अगाडि सरे। अर्को कुरा प्रधान सम्पादकको राजिनामा। कम्तिमा आगामी दिनमा नेपाली मिडियाहरुले प्रमाणसहित मात्र समाचार लेख्नेछन् भनेर अपेक्षा गर्न यो समग्र प्रकरणबाट आशा गर्न सकिन्छ।



