काठमाडौं। नेपालले आगामी टी-२० विश्वकप खेल्छ की खेल्दैन ? भोलीबाट ओमानमा सुरु हुने छनोट प्रतियोगिताबाट तय हुँदै छ।
यो छनोट प्रतियोगितामा ९ टोलीले सहभागिता जनाउँदैछन् जसमध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्। यतिबेला नेपालले विश्वकपमा स्थान बनाउँछ की बनाउँदैन विश्व क्रिकेटले हेरिरहेको छ। ? यसका दुई वटा कारण छन्। पहिलो नेपाली क्रिकेटले गरिरहेको प्रदर्शन। दोस्रो नेपाली क्रिकेटको फ्यान बेस।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेको विश्वस्तरको एक मात्र विश्वकप भनेको टी-२० विश्वकप मात्र हो। नेपालले यसभन्दा अघि दुईपटक टी-२० विश्वकप खेलेको छ। पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो।
त्यसका लागि सन् २०१३ मा यूएईमा ग्लोबल क्वालिफायर भएको थियो। ग्लोबल क्वालिफायरमा १६ टिम सहभागी थिए भने त्यसबाट ६ टीमले विश्वकपमा स्थान बनाउने थिए। त्यतिबेला नेपालले यूएईमा शानदार प्रदर्शन गर्यो र विश्वकप खेल्ने सपना पुरा गर्यो।
नेपालले विश्वकपको पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हराएर सनसनी मच्चाएको थियो। बंगलादेशसँग पराजित भएपछि केवल नेटरनरेटका आधारमा मात्र अगाडि बढ्न सकेन। त्यसयता फेरी टी-२० विश्वकप खेल्न नेपालले १० वर्ष कुर्नु पर्यो।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने भनिएको विश्वकपमा एसियाली एसोसिएट टोलीमध्ये दुईवटा टिमलाई कोटा दिइएको थियो। एसियाली छनोटबाट सोझै विश्वकपमा स्थान बनाउने अवसर थियो। नेपालले यो छनोट घरेलु मैदानमै खेल्ने अवसर पायो। मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई हराएर विश्वकपमा १० वर्षपछि कमब्याक गर्यो।
त्यसपछि विश्वकपमा कस्तो खेल्यो, तपाईहरुलाई भन्नै पर्दैन। नेपाली क्रिकेटले त्यसलाई कहाँ विर्सन सक्छ र ? दक्षिण अफ्रिका र बंगलादेशलाई हराउन नसकेपनि नेपालले विश्व क्रिकेटको मन जित्यो। नेपाली क्रिकेट टोलीको तारिफ भयो। यो प्रतियोगिताको अर्को सुन्दर पक्ष के थियो भने अमेरिका र वेस्ट इन्डिजमा उल्लेख्य संख्यामा नेपाली दर्शक रंगशाला पुगेर नेपाली क्रिकेटको फ्यान बेसलाई नयाँ उचाई दिए।
यति भनेपछि नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्ने योजनामा छ त भन्नै परेन। त्यसैले यसपटक विश्वकपमा स्थान बनाए नेपाली क्रिकेटमा त्यो अर्को ऐतिहासिक सफलता हुने छ।
एसिया र इस्ट एसिया प्यासिफिकका गरि ९ टीमले यो छनोट खेल्दैछन्। एसियाबाट ७ टोली र इस्ट एसिया प्यासिफिकबाट पपुआ न्युगिनी र सामोआ गरी दुई टोली खेल्दैछन्। एसियाका नेपालसहित यूएई, ओमान, मलेसिया, कतार, कुवेत र जापान रहेका छन्।
पहिलो चरणमा तीन तीन टोलीका तीनवटा समूह छन्। प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरण अर्थात सुपर सिक्स पुग्नेछन्। नेपाल रहेको समूहमा कुवेत र जापान छन्। सुपर सिक्समा एउटा टिमले चारवटा खेल खेल्ने छ।
६ वटा टिम भएपनि एउटा टिमसँग पहिलो चरणमै खेलेको भएर पुन खेल्नुपर्दैन। पहिलो चरणमा त्यो टिमसँग जित हार जे भएको थियो त्यसै आधारमा अंक क्यारि ओभर हुने छ। त्यसैले पहिलो चरणमा तीनमध्ये दुई टोली सुपर सिक्स पुगेपनि नेपालका लागि दुवै खेल महत्वपूर्ण हुने छ।
एसियाका नेपालसहित ओमान, यूएई बलिया टोली हुन्। कुवेतले केहि महिना अघि भएको एक शृंखलामा नेपाललाई हराएको थियो। यस्तै इस्तै पपुआ न्युगिनीलाई पनि बलियो टोली मानिन्छ। न्युजिल्यान्डका पूर्व खेलाडी रोस टेलर भएका कारण सामोआको पनि चर्चा भइरहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो विश्व वरियता हेर्ने हो भने यूएई १५ औँ, नेपाल १८ औँ, ओमान २० औँ, पपुआ न्युगिनी २१ औँ, कुवेत २३ औँ, मलेसिया २५ औँ, कतार ३० औँ, जापान ४४ औँ र सामोआ ६९ औँ स्थानमा रहेका छन्। टी-२० क्रिकेटमा अप्रत्यासित नतिजा निस्किएका थुप्रै उदाहरण छन्। त्यसैले कुनै पनि टिमलाई कमजोर आँक्न भुल गर्नु हुन्न भनिन्छ।
नेपालको पछिल्लो प्रदर्शन हेर्दा आशा गर्ने ठाउँहरु धेरै छन्। जस्तो की हालै वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्यो। त्योभन्दा उल्लेखनीय पहिलोपटक टेस्ट राष्ट्रलाई हरायो। त्यति मात्र टेस्ट राष्ट्रसँग भएका शृंखला पनि जित्यो। यसले नेपाली टोलीको स्तर, फर्म र माइन्डसेट यतिबेला कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ। त्यसको पछिल्लो परिणाम प्राक्टिस म्याचमा कतार र ओमानसँग भएको प्रदर्शनलाई लिन सकिन्छ जुन दुवै खेल नेपालले जित्यो।
नेपाली टोलीमा यतिबेला कम्तिमा ४/५ वर्षदेखि सँगै खेलिरहेका धेरै खेलाडिहरु छन्। त्यसमा पनि ब्याटिङ लाइन अप लगभग अन्तिमसम्म छ। कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सन्दिप जोरा, आदिल आलमजस्ता विस्फोटक ब्याट्सम्यानहरु टिममा छन्। दीपेन्द्र त विश्व कीर्तिमानी ब्याटर नै भए। कुशल भुर्तेलको नाममा पनि कुनै समय सबैभन्दा कम बलमा सतक पुरा गर्ने विश्व कीर्तिमान थियो। करन केसीले पनि विस्फोटक ब्याटिङ गर्दै खेल जिताएका थुप्रै उदाहरण छन्।
ब्याटिङ स्पेसलिस्टकै रुपमा रोहित पौडेल, आसिफ शेख पनि टिममा छन्। यस्तै ललित नारायण राजबंशी र सन्दीप लामिछानेको स्पीन विपक्षीलाई सहज हुने छैन। दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेलले पनि धारिलो स्पीन बलिङ गर्न सक्छन् हामीसँग ताजा इतिहास नै छ। नन्दन यादब, करण केसी, सोमपाल कामी, गुल्सन झा र आदिल आलम राम्रो मिडियम पेश बलिङ गर्न सक्छन्।
नेपाली टिममा अहिले कुन स्तरका खेलाडी छन् भन्ने आईसिसिको पछिल्लो प्लेयर र्याङकिङबाट पनि थाहा पाउन सकिन्छ। टी-२० ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी ६८ औँ, रोहित पौडेल ७३ औँ, आसिफ शेख ७७ औँ, कुशल भुर्तेल ८८ औँ स्थानमा छन्। त्यस्तै टी-२० बलरको वरियतामा ललित राजबंशी ५१, दीपेन्द्रसिंह ऐरी ७३ औँ, सन्दीप लामिछाने ८७ औँ स्थानमा छन्। टी-२० अलराउन्डरको सूचीमा दीपेन्द्रसिंह ऐरी चौथो, कुशल भुर्तेल २४ औँ, रोहित पौडेल ४७ औँ, गुल्सन झा ६४ औँ, कुशल मल्ल ७६ औँ र करन केसी ९० औँ स्थानमा रहेका छन्।
यी तथ्यांकहरु काफी छन्, नो इफ नो बट नेपाल विश्वकपमा छनोट हुन चाहन्छ, नेपाली क्रिकेट प्रेमी र समर्थक नेपाललाई लगातार दोस्रोपटक विश्वकपमा देख्न चाहन्छन्। फेरी पनि भुल्न नहुने कुरा के हो भने मैदानमा जसले राम्रो खेल्छ उसैले जित्ने हो, इतिहास र इतिहासका तथ्यांक सेकेन्डरी कुरा हुन्।



