काठमाडौं । एउटा हार जसले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर बनाउन सक्थ्यो। त्यो खेल जुन नेपालले सहजै जित्ने अनुमान गरिएको थियो। हालै वेस्ट इन्डिजलाई दुईवटा खेलमा हराएको नेपाल अहिले कुन स्तरमा थियो भन्नै पर्दैन। तर बुधबार राती कुवेतले नेपाल र नेपाली क्रिकेट समर्थकको मुटु बारम्बार हल्लायो। नेपालले नसोचेको चुनौती सामना गर्न पुग्यो।
खेलमा नेपाललाई तनाव हुने गरी धेरैवटा उतारचढावहरु भए।
तर अन्तत नेपाल विजयी भयो। नेपाल र नेपाली क्रिकेट समर्थकले ठुलो राहतको सास फेरे। कुवेत सुपर सिक्स पुग्न सक्ने बलियो टोली भएकाले नेपालका लागि यो जित अहिलेलाई अगाडि बढ्न होइन, सुपर सिक्सबाट टप थ्रीमा रहेर विश्वकपमा छनोट हुन महत्वपूर्ण थियो। कुवेत सुपर सिक्स पुगेको अवस्थामा यो खेलको जित हारको अंक र नेटरनरेट दुवै क्यारि ओभर हुने भएकाले नतिजा कति महत्वपूर्ण थियो नेपालले राम्रोसग बुझेको थियो। २ अंक साथमा लिएर सुपर सिक्स खेल्दा विश्वकपमा छनोट हुने सम्भावना कुवेतला२ पनि थाहा थियो।

यदी यो खेलमा पराजित भएको भए नेपाललाई त्यो निकै भारी पर्न सक्ने थियो। ओमानमा भइरहेको विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। ठुलो रन अन्तरको जस्तो जित देखिए पनि त्यसका लागि गुजारेको समय भने तनावपूर्ण थियो। नेपालले केवल एक सय ४२ रनको लक्ष्य दिएको थियो।
१९ औं ओभरमा २७ रन जोडेपछि नेपालले ठुलो राहतको साहस फेर्यो। त्यस ओभरमा गुल्सन झाले लगातार तीन छक्का प्रहार गरेका थिए। ओपनर कुशल भुर्तेलले नटआउट रहदै ५६ बलमा ६६ रन बनाए। उनी आक्रामक ब्याट्सम्यान हुन् । तर कुवेती बलरले जसरी खेलिरहेका थिए, पिचले जसरी रियाक्ट गरिरहेको थियो, कुशल निकै सम्हालिएर,सुझबुझपूर्वक खेले। दीपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन र गुल्सन झाले ६ बलमा २० रन जोडे।
रोहि पौडेलले १५ बलमा १६ रन, आसिफ शेखले ७ बलमा २ रन, कुशल मल्लले ९ बलमा ४ रन, सन्दीप जोराले ६ बलमा ५ रन बनाए। कुवेतका बलरले कति दबाबमा राखेका थिए भने नेपालले १६ ओभरसम्म ४ विकेट गुमाएर केवल ८६ रन जोडेको थियो। नेपालले सातौै ओभरको पहिलो बलदेखि एउटा पनि बाउन्ड्री प्रहार गर्न सकिरहेको थिएन। १७ औं) ओभरमा नेपालले दुई छक्कासहित १६ रन जोडेको थियो। दीपेन्द्रसिंह ऐरी र कुशल भु्र्तेलको एक एका छक्कापछि नेपालले बल्ल सय रन पुरा गरेको थियो।
१९ औं ओभरको सुरुका दुई बलमा कुशल भुर्तेलले लगातार दुई चौका प्रहार गरे भने गुल्सनले अन्तिम तीन बलमा लगातार छक्का हिर्काए। अन्तिम ओभरमा नेपालले ६ रन मात्र जोड्न सक्यो।
तर अघिल्लो ओभरमा बनेको २७ रनले नेपाली टिमको आत्मविश्वास फर्किसकेको थियो। एक सय ४२ रनको लक्ष्य ढुक्क हुने खालको त थिएन तर नेपाली बलरहरुको स्तरियताका कारण आशा गर्न सकिने ठाउ“ थियो।
सोमपाल कामीले पहिलो ओभरमै विकेट लिए। नेपालले आवश्यक सुरुवात ग¥यो। चौथो ओभरमा ललितनारायण राजबंशी र पाचौं ओभरमा नन्दन यादबले विकेट लिएपछि कुवेतको स्कोर पावर प्ले अर्थात ६ ओभरमा ३ विकेट गुमाएर ३१ रन पुगेको थियो। चौथो विकेटका लागि भने कुवेतले तनाव दिने गरी साझेदारी गरिरहेको थियो।
ओपनर क्लिन्टो अन्टोले मध्यक्रमका यासिन पटेलसग गतिलो साझेदारीको प्रयाश गर्दै थिए।
सन्दीप लामिछाने सुरुका दुई ओभरमा महगो बने। उनले १९ रन दिइसकेका थिए। कुवेतले ९ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको थियो। अब ११ ओभरमा ८८ रन चाहिएको थियो। १० औं ओभरमा दीपेन्द्रसिंह ऐरीले ठुलो ट्वीस्ट ल्याए। सुरुका दुई बलमा एक एक रन दिएका उनले तेस्रो बलमा सेट हुदै गरेका अन्टोलाई शानदार रन आउट गरे।
उनले डाइरेक्ट हिट गर्दै मिडल स्टम्प ढालेका थिए। यो रन आउटलाई अन्टो आफै विश्वास गर्न सकिरहेका थिएनन्। वल्र्ड क्लास फिल्डरको पहिचान बनाएका दीपेन्द्रले अन्टोलाई आउट गरेसगै उनले ब्याक फ्लिप सेलिब्रेसन गरे। यो उनको सिग्नेचर सेलिब्रेसन मानिन्छ।
यो रन आउट कति महत्वपुर्णं थियो भने ३५ रनको साझेदारी मात्र तोडिएन थप २७ रनमा कुवेत अलआउट नै भयो। सन्दीप महगो बनेपछि ११ औं ओभरमा कप्तान रोहित पौडेलले कुशल भुर्तेललाई बलिङमा पठाए। १२ औं ओभरमा आफै बलिङमा आए। तेस्रो बलमै उनले विकेट लिए। १३ औ ओभरमा दीपेन्द्रले बलिङ सम्हाले।
१४ औं ओभरमा आफनो दोस्रो ओभर लिएर आएका रोहितले १९ रनमा खेलिरहेका यासिन पटेललाई चौथो बलमा आउट गरे। लगत्तैको ओभरमा रोहितले सन्दीपलाई बलिङमा फर्काएका थिए।
पहिलो बलमा रन नदिएका सन्दीपले त्यसपछिका लगातार दुई बलमा विकेट लिए। त्यतिबेला सन्दीप र रोहितको सेलिब्रेसनबाट देखिन्थ्यो, उनिहरु र नेपाल टिम कति ठुलो संकटबाट बाहिर निस्किएको थियो।
नेपालले अब समूहको दोस्रो तथा अन्तिम खेलमा जापानसग प्रतिस्पर्धा गर्ने छ। विश्व वरियतामा ४४ औं स्थानमा रहेको जापानमाथी सहजै जित हात पारेर सुपर सिक्सका लागि तयार हुने योजनामा नेपाली टोली छ।


