काठमाडौं। नेपाल ४ महिनापछि भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट भएको छ।
ओमानमा भइरहेको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार यूएईले सामोआलाई हराएपछि नेपाल विश्वकप पुग्ने पक्का थियो। नेपालले आफ्ना दुई खेल बाँकी रहँदै विश्वकपमा स्थान बनाएको छ।

नेपालले बुधबार नै हुने खेलमा ओमानलाई हराएको भएपनि आफै विश्वकपमा स्थान बनाउने थियो। तर त्यसलाई कुरिरहन परेन। नेपालले ओमानसँग भएको खेल पनि ३८ रनले जित्यो।
विश्वकपमा छनोट हुनुको खुसी त छँदै छ एकातिर, अर्कोतर्फ भारतमा विश्वकप खेल्नु नेपाली क्रिकेटका लागि अर्को उपलब्ध भएको छ। हालसालै भएको जेनजी आन्दोलनपछि संक्रमण, तनाव, अन्योल र विभाजित अवस्थामा पुगेको नेपाली समुदायलाई क्रिकेट टोलीले हात पारेको यो सफलताले एक ढिक्का बनाएको छ।
यसपटक ठुलो संख्यामा नेपालीहरुले आफ्नै देशले विश्वकप खेलेको रंगशालामै पुगेर हेर्न पाउनेछन्। सम्भवत् आगामी टी-२० विश्वकप हेर्न नेपालबाट क्रिकेट प्रेमीको लर्को लाग्ने छ।
नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी-२० विश्वकपका लागि छनोट भएको हो।
नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। त्यसपछि फेरी विश्वकप खेल्न नेपालले १० वर्ष कुर्नु पर्यो। गत वर्ष अमेरिका र वेस्ट इन्डिजले विश्वकप आयोजना गरेका थिए। जहाँ पुगेर नेपालले बंगलादेश र दक्षिण अफ्रिकालाई आच्छुआच्छु मात्र बनाएन, टेस्ट राष्ट्रलाई हराउन सक्ने टोलीका रुपमा विश्व क्रिकेटको ध्यान तान्यो।
ओमानमा अहिले भइरहेको एसियाली तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा यूएईले सामोआलाई हराएपछि नेपाल दुई खेल खेल्न बाँकी रहँदै विश्वकप पुग्ने पक्का भएको हो।
नेपालले पहिलो चरणमा खेलेका दुवै खेलमा कुवेत र जापानलाई हराएको थियो भने सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएई र दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो। नेपालले अब अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ। यो खेल जितेमा नेपालले यो छनोट प्रतियोगिताको उपाधि पनि हात पार्ने छ।
यो छनोट प्रतियोगितामा एसिया तथा इस्ट एसिया प्यासिफिकका ९ टोली सहभागी छन्। यीमध्ये पहिलो चरणमा तीनवटा समूहबाट दुई दुई टोली सुपुर सिक्स पुगेका थिए। सुपर सिक्सका शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउने भनिएको थियो।
नेपालले पहिलो चरणको दोस्रो खेलमा जापानलाई हराएर विश्वकप पुग्ने आधार बलियो बनाउन थालेको थियो। जापान सुपर सिक्स पुगेकाले उक्त जितको दुई अंक सुपर सिक्समा क्यारि ओभर भयो। त्यसयता सुपर सिक्समा नेपालले दुवै खेलमा कठिन जित हात पारेको छ।
पहिलो खेलमा यूएईलाई एक रनले हराएको थियो। नेपालले एक सय ४१ रनको लक्ष्य दिएकामा यूएईले नाटकीय पारामा एक रनको हार ब्यहोर्यो। यूएईलाई अन्तिम तीन बलमा ३ रन चाहिएका बेला उसले लगातार बलमा विकेट गुमाएको थियो।
यस्तै दोस्रो खेलमा नेपालले कतारविरुद्ध पनि त्यस्तै प्रदर्शन दोहोर्यायो। पहिला ब्याटिङ गरेको नेपालले एक सय ४८ रनको लक्ष्य दिएको थियो। कुवेतले अन्तिम २५ बलमा ६ विकेट गुमाएपछि ५ रनको हार ब्यहोरेको थियो। नेपालले जितेका चार खेलमा चार जना फरक खेलाडी चम्किएका छन् र प्लेयर अफ दी म्याच बनेका छन्।
आगामी फेब्रुअरीमा सुरु हुने टी-२० विश्वकपमा विश्वभरका २० टोलीको सहभागिता रहने छ। आयोजक दुई टोली श्रीलंका र भारत तथा गत विश्वकपमा आयोजकबाहेक शीर्ष ७ स्थानमा रहेका अफगानिस्तान, अस्ट्रेलिया,बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज छनोट भइसकेका छन्।
यस्तै यी टोलीबाहेक आईसिसी वरियतामा सबैभन्दा माथी रहेका तीन टोली आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि विश्वकपमा स्थान बनाएका छन्। अन्य ८ टोलीको टुंगो क्षेत्रीय छनोटबाट लागिरहेको छ। जसमा अमेरिका क्षेत्रबाट क्यानडा तथा युरोपबाट इटाली र नेदरल्यान्ड्स विश्वकप पुगिसकेका छन्। यस्तै अफ्रिकाबाट नामिबिया र जिम्बावेले विश्वकपमा स्थान बनाएका छन्।
टुंगो लाग्न बाँकी भनेको अहिले ओमानमा भइरहेको एसिया तथा इस्ट एसिया प्यासिफिकका लागि छुटंयाइएको तीनवटा कोटाको मात्र थियो। अहिलेसम्म नेपाल र ओमान छनोट भइसकेका छन्। अब जापान र यूएईमध्ये एक टोली विश्वकप पुग्ने छ यो छनोट प्रतियोगिताबाट।

