नेपालकी अल टाइम हाइ स्कोरर। कहाँ त्यति मात्र होर, दक्षिण एसियाकै अल टाइम हाई स्कोरर। युरोपका लिग फुटबलमा ह्याट्रिक गर्ने दक्षिण एसियाकै पहिलो महिला फुटबलर।
सावित्रा भण्डारी साम्बाका नाममा यस्ता थुप्रै सफलता छन्। उनी कतिसम्म प्रतिभावान् छिन् भने फ्रान्सको लिग वानदेखि अस्ट्रेलियाको ए लिगका क्लबसम्मको ढोका खोलिसकेकी छिन्।

साम्बाको यही सफलता देखेर नेपालदेखि दक्षिण एसियाली महिला फुटबल जिब्रो टोकिरहेको छ। उनले चालिरहेका पाइला र नापिरहेका बाटा लगभग अविश्वसनीय लाग्छन्।
अविश्वसनीय किन भनेको हो भने उनले प्रतितिधित्व गर्ने राष्ट्रिय टोलीले अहिलेसमम् एउटा पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। नेपाली महिला फुटबलमा उपाधिको खडेरी छ।
उनका सबै व्यक्तिगत सफलतालाई झन्डै विर्साउने एउटा असफलताले साम्बालाई पछ्याइरहेको छ- सावित्राले नेपालका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेकी छैनन्। त्यसरी पछ्याइरहेको छ जसरी लियोनल मेस्सीले विश्वकप नजित्दासम्म उनीबारे विभिन्न टिकाटिप्पणी हुने गर्थ्यो।
जति नै ठुलो खेलाडी भएर पनि के गर्नु, देशका लागि एउटा उपाधि जिताउन सकेको छैन, साम्बाका पछाडि यस्तै टिप्पणी हुने गर्छन्। यस्तो टिप्पणी साम्बाले लामै समयदेखि सुनिरहेकी छिन्। उनी व्यक्तिगत सफलताका सिँढिहरु दिनदिनै उक्लिरहेकी छिन्। मानिसहरु भन्छन् – तर के गर्नु नेपालले अझैसम्म उपाधि जित्न सकिरहेको छैन ?
नेपाली महिला फुटबल उपाधि जित्न नसकेर तड्पिइरहेको छ। खासमा अब कहिले उपाधि जित्ने भन्दै सम्पूर्ण नेपाली महिला फुटबल र समर्थक साम्बातिर फर्किएर हेरिरहेका छन्।
खासमा नेपाली फुटबल नै उपाधिबाट तड्पिरहेको छ। नेपालले जित्न सक्ने भनेर अपेक्षा गरिने प्रतियोगिता हो दक्षिण एसियाली फुटबल च्याम्पियनसिप जसलाई साफ च्याम्पियन पनि भन्ने गरिन्छ। महिला टोलीजस्तै नेपाली पुरुष टोलीले पनि हालसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन।
तर पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटबलमा उपाधि भने जितेको छ। धेरैपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको छ। सोलिडारिटी कपदेखि बंगबन्धु गोल्डकपसम्म हात पारेको छ। पुरुषतर्फ साफ च्याम्पियनसिप हुन थालेको धेरै पछि मात्र दक्षिण एसियालीस्तरमा महिला फुटबल आयोजना गर्न थालिएको हो, सन् २०१० मा आएर। त्यस वर्ष साफ महिला च्याम्पियनसिप भएको थियो भने दक्षिण एसियाली खेलकुदमा पनि महिला फुटबललाई समावेश गरिएको थियो।
नेपाल पहिलोपटकमै दुवै प्रतियोगिताको फाइनलमा पुग्यो तर उपाधि भिडन्तमा भारत बाधक बन्यो। सन् २०१२ मा साफ च्याम्पियनसिप भयो तर नियति उही पुरानै। नेपाल फेरी भारतसँग पराजित भयो। सन् २०१४ मा तेस्रो संस्करण आयोजना भयो। सावित्रा भण्डारी नेपालका लागि डेब्यु गर्दै थिइन्। फेरी कहानी उही।
नेपाल फाइनलमा पराजित भयो भारतसँग त्यो पनि ६-० गोल अन्तरले। सन् २०१६ मा भएको साफ च्याम्पियसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो। यसपटक भारतसँग सेमिफाइनलमै भेट भएको थियो। त्यसै वर्ष दक्षिण एसियाली खेलकुदको महिला फुटबलतर्फ स्वर्ण पदकका लागि भारत र नेपाल आमने सामने भएका थिए।
तर नेपाल यसपटक पनि पराजित हुन पुग्यो भारतसँग। साम्बाले व्यक्तिगत मिहनेतमा कुनै कमि गरिनन्। आफुलाई अझ राम्रो बनाउन स्ट्रगल गरिरहिन्
सन् २०१९ देखि साम्बालाई विदेशका क्लबले भित्र्याउन थाले। सुरुका केही वर्ष उनी भारतिय क्लबमै विजि भइन्। सन् २०१९ मा नेपाल र भारत दुईवटा प्रतियोगिताको फाइनलमा भिडेका थिए, साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा।
तर दुवै भिडन्तमा भारतले नेपाललाई हरायो त्यो पनि नेपालकै मैदानमा। त्यसयता दुईपटक साफ च्याम्पिनयसिप आयोजना भइसकेको छ त्यो पनि नेपालमै। दुवैपटक नेपाल फाइनल पुगेको थियो दुवै पटक भारतलाई सेमिफाइनलमा हराएर। तर नेपालले उपाधि खडेरी टार्न सकेन। दुवैपटक बंगलादेशसँग पराजित भयो।
लामो समय भारतबाट चोट खेपेको नेपालसँग पछिल्लो समय बंगलादेशले उपाधि खोसिरहेको छ। साम्बालाई सन् २०२३ मा इजरायली क्लबले भित्र्याएको थियो। त्यसको एक वर्षपछि उनलाई फ्रान्सको ए डिभिजन क्लबले साइन गर्यो। यी दुवै लिगको प्रदर्शनले साम्बा अस्ट्रेलियाको ए लिग खेलिरहेको वेलिङटन फोनिक्सको नजरमा परिन्। गरिरहेका गोलले मात्र होइन, साम्बाले खेलिरहेका क्लबका कारण पनि उनको चर्चा यतिबेला अन्तर्राष्ट्रियस्तरमा चुलिरहेको छ।
यतिबेला साम्बा नेपालका लागि उपाधि जित्न कति व्यग्र छिन्, हामी अनुमान र अपेक्षा गर्न सक्छौ। नेपालले फेरी पनि उपाधि खडेरी टार्न सक्ने प्रतियोगिता हो साफ च्याम्पियनसिप। त्यसमा नेपालसामु लामो समय वाल जसरी उभिएको भारतलाई पछिल्लो समय नेपालले हराइरहेको छ
। सोमबार साँझ भारतमै भएको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल २-१ गोलले पराजित भयो। दुवै गोल साम्बाले गरिन्। दुवै गोल स्तरीय थिए। उनले फ्रिकिक गोललाई वेलिङ्टन फोनिक्सले सेयर गर्दै रकेटजस्तो प्रहार भनेको छ। साम्बा तीनै खेलाडी हुन् जसले एक वर्ष अघि नेपालमै भएको साफ च्याम्पियनसिपमा भारतविरुद्ध भएको सेमिफाइनलमा कमब्याक गोल गरेकी थिइन्।
जुन म्यान कन्डिसनमा उनले गोल गरेकी थीइन् त्योसँगै उनको सेलिब्रेसन अन्तर्राष्ट्रियस्तरमा चर्चा भएको थियो। भारतविरुद्ध गोल गर्नु र जित हात पार्नुको महत्व साम्बाले बुझेकि छिन्।
भारतलाई हराउनु मात्र पनि नेपालका लागि ठुलो सफलता हुने गरेको छ। विगतको लामो समयको दबदबाका कारण नेपाली खेलाडीहरुले यी जितलाई सेलिब्रेट गर्ने गरेका छन्। तर अब नेपालका लागि भारतजस्तै बलियो टोली बनेको छ बंगलादेश पनि। किनभने बंगलादेशले पनि नेपाललाई दुईपटक लगातार फाइनलमा हराइसकेको छ।
साफ च्याम्पिनयसिपको नेक्स्ट एडिसन आगामी वर्ष आयोजना गर्ने तयारी भइरहेको छ। फिफा वरियतामा अहिले नेपाल ८९, बंगलादेश एक सय ४, भारत ६३ औँ स्थानमा छन्।
यसपटक साम्बासामु उपाधि खडेरी टार्ने ठुलो अवसर र अपेक्षा छ। पहिलो, नेपाली टोलीमा केही वर्षयता धेरै जसो खेलाडी फेरिएका छैनन्। उनीहरु सेट छन् ।
दोस्रो, टिममा रहेका खेलाडीहरु अनुभवी र क्षमतावान् छन्। प्रिति राई, रेखा पौडेल, पुजा राना, एन्जिला तुम्बापो सुब्बासँग पनि विदेशका लिगमा खेलिरहेको अनुभव छ। फर्म र उमेरका हिसाबले पनि उनिहरु पिक टाइममा छन्।
यसलाई नेपालले क्यापिटलाइज गर्न सक्छ। यतिबेला भारत र बंगलादेशको टोलीलाई हेर्ने हो नेपालबाट बढी अपेक्षा गर्न सकिन्छ। भारतीय टोलिमा रहेका एक जना खेलाडी मात्र अहिले विदेशको क्लबबाट खेलिरहेकी छिन्।
यस्तै बंगलादेशको टोलीमा रहेका केही खेलाडीहरु भुटानी क्लबबाट खेलिरहेका छन्। सायद यतिबेला साम्बाले पनि उपाधि खडेरी टर्ने अपेक्षा गरिरहेको हुन सक्छिन्। साम्बालाई थाहा छ- उनी एक्लैले केही गर्न सक्दिनन्, टिम गेम हो, टिम वर्क चाहिन्छ।
साम्बालाई के पनि थाहा छ भने – उनलाई नेपालले मात्र होइन पुरा दक्षिण एसियाले हेरिरहेको छ। साम्बाले नेपालका लागि ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्। एसियाबाट सबैभन्दा बढी गोल गर्ने महिला खेलाडि जोर्डनकी मेसा जाबुराको नाममा एक सय ४३ गोल छ।

