काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेनको विवादित भारत भ्रमणबारे कुनै जानकारी नभएको बताएको छ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस विषयमा विभागीय मन्त्रालय अनविज्ञ रहेको बताए।

बेनले सुटुक्क दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललाई भेटेको विभिन्न रिपोर्टहरुले दावी गरेका छन्। बेनले भने अस्विकार गरिरहेका छन्। यस्तै सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ ।
क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।
‘राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ,’ उनले भने ।

