काठमाडौं। कोर बैङ्किङ सिस्टम परिवर्तनपछि हिमालयन बैंकका अधिकांश सेवाहरु सुरु भएका छन्। हिमालयन बैंकले कात्तिक पहिलो साता सिस्टम अपग्रेड गरेको थियो।
हिमालयन बैंकका सीईओ अशोक राणाका अनुसार कनेक्ट आईपीएस, आरटीजीएस, कार्ड लगायतका सुविधाहरु सञ्चालनमा आइसकेको छ।

बैंकले तिहारको समयमा कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भन्दै ३ देखि १० कात्तिकसम्म मोबाइल बैंकिङ लगायत बैंकिङ सेवा नचल्ने बताएको थियो ।
बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गरेको थियो । सोही कारण कात्तिक ३ देखि १० गतेसम्म बैंकिङ सेवा नचल्ने सूचना जारी गरेको थियो।
अहिले मोबाइल बैङ्किङमा मात्र समस्या रहेको छ। यो पनि समाधान हुन लागेको राणाले बताए। उनले समस्याको पहिचान भइसकेकाले आगामी सातासम्म मोबाइल बैंकिङ सेवा पनि सूचारु हुने बताए ।
राणाले हिमालयन बैंक आफ्ना सेवाग्राहीलाई छिटो छरितो र सर्वोत्तम सेवा दिन सँधै अग्रसर रहेको बताउँदै आगामी दिनमा पनि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। सेवाग्राहीको विश्वास नै बैंकको सफलताको प्रमुख कारण रहेकाले त्यसका लागि धन्यवाद पनि दिए।


