काठमाडौं। प्रहरीले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटमा फिक्सिङका लागि अप्रोच गरेको र बेटिङ गराएको आरोपमा २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दलप्रित सिंह र नेपालको बर्दिया घर भई भारतको चण्ढगड बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेकी छिन्।

प्रहरीका अनुसार रेविकाले सुरुमा प्रायोजन गर्ने प्रलोभन देखाएर खेलाडीलाई सामाजिक सन्जालमार्फत अप्रोच गरेकी थिइन्। त्यसपछि फिक्सिङका लागि प्रस्ताव गरेको प्रहरीको दावी छ।
ती खेलाडीकै उजुरीपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। यतिबेला नेपाल प्रिमियर लिगमा बेटिङको सरोगेट कम्पनीलाई प्रायोजक बनाएको भन्दै विवाद भइरहेको छ।
डाफान्युज नामक बेटिङको सरोगेट कम्पनीले प्रायोजन गरेको छ। सरोगेट कम्पनीसँग प्रायोजन गरेर नेपालमा क्यानले बेटिङलाई प्रवर्द्धन गर्न खोजेको टिप्पणी भइरहेको छ।
क्यानले भने सरोगेट कम्पनी मिडिया भएकाले आफुहरुले कुनै गल्ती नगरेको र कानुन सम्मत भएको दावी गरिरहेको छ। एन्टी करप्सन युनिट र आईसिसिले समेत अनुमति दिएको क्यानका अधिकारीहरु बताउँछन्।



