काठमाडौं। सामाजिक सन्जाल र अन्तर्राष्ट्रिय मिडियाहरुमा दुई दिनयता क्रिस्टियानो रोनाल्डो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट र कुराकानी भइरहेका तस्विर र भिडियोहरु भाइरल भइरहेका छन्।
उनीहरुसँगै दिखिन्छिन् रोनाल्डोकी गलफ्रेन्ड जर्जिना रोड्रिगुएज पनि। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो अफिसियल युट्युबमा रोनाल्डो र हाँस्दै हिँडिरहेको भिडियो सर्ट्सका रुपमा राखेको छ। यतिबेला यो भेटघाटलाई लिएर अनेकन टिप्पणीहरु भइरहेका छन्। ट्रम्पले लियोनल मेस्सीभन्दा रोनाल्डोलाई भाउ दिएछन् ? सामाजिक सन्जालमा आइरहेका अधिकांश टिप्पणीहरुको सार यस्तै देखिन्छ।

रोनाल्डो किन अमेरिका गएका हुन्, उनलाई ट्रम्पले किन भेटे? अनि यो भेटघाटको समाचारमा मेस्सी किन जोडिए त ?
स्थानीय समयअनुसार मंगलबार राती राष्ट्रपती ट्रम्पले आयोजना गरेको विशेष रात्री भोजमा रोनाल्डो देखिएका थिए ह्वाइट हाउसमा। जर्जिना रोड्रिगुएज पनि सँगै थिइन्। त्यसअघि रोनाल्डो अमेरिका जान लागेको, ट्रम्पलाई भेट्न लागेकोबारे केही बाहिर आएको थिएन। त्यसैले ह्वाइट हाउसमा रोनाल्डको उपस्थिती दुनियाँका लागि सरप्राइजिङ थियो।
रोनाल्डो हाल साउदी अरबमा प्रो लिग खेलिरहेका छन्। सन् २०२२ को कतार विश्वकपपछि उनी व्यावशायीक फुटबल खेल्न साउदी अरब हानिएका थिए। रोनाल्डो पैसाकै लागि विश्वका स्तरीय लिग छाडेर साउदी अरब गएको टिप्पणी नभएको होइन।
रोनाल्डो आफैले साउदी अरबको लिग स्तरीय भएको बताउँदै आएका छन्। रोनाल्डो आएपछि साउदी अरबको लिग विश्वस्तरमा चर्चा हुन थाल्यो। नेमारसहित थुप्रै विश्व चर्चित खेलाडीहरु रोनाल्डोलाई पछ्याउँदै साउदी अरबमा खेल्न आए। रोनाल्डो अहिले पनि साउदी अरबमै खेलिरहेका छन्, अल नासरका लागि। उता रोनाल्डोका समकालिन कट्टर प्रतिस्पर्धी लियोनल मेस्सी पनि कम परिचित अमेरिकाको मेजर लिग सकर खेल्न पुगे। मेस्सी पुगेसँगै मेजर लिग सकरको चर्चा ह्वात्तै बढ्यो।
उनले इन्टर मायमीलाई पहिलो उपाधि दिलाए। दुई वर्षले जेठा कान्छा रोनाल्डो र मेस्सी दुवै यतिबेला साउदी प्रो लिग र मेजर लिग सकरमा चम्किरहेका छन्। उनिहरु दुवै जना औसत खेलाडीले सन्याश लिने उमेरभन्दा अगाडी बढिसकेपनि देशका लागि खेल्न छाड्ने संकेत पनि गरेका छैनन्।
विश्वकप जितेकोदेखि व्यक्तिगत अवार्डसहित थुप्रै सन्दर्भमा मेस्सी रोनाल्डोभन्दा अगाडि छन्। यही कारण मेस्सी उनीभन्दा सर्वोत्कृष्ट भएको तर्क गर्ने जमात ठुलो छ। तर रोनाल्डो त्यो मान्न कहिल्यै तयार छैनन्। उनी आफु बेस्ट भएको तर्क गर्न हिच्किचाउँदैनन्। अनि मेस्सीप्रति सम्मान पनि व्यक्त गर्छन्, जतिबेला उनीबारे प्रश्न सोधिन्छ। ह्वाइट हाउममा देखिएर रोनाल्डोले किनपनि छक्क पारेका थिए भने यसअघि मेस्सी र ट्रम्पबीच ह्वाइट हाउसमा भेट भएको थिएन।
अझ भनौँ ट्रम्पले मेस्सीलाई ह्वाइट हाउस बोलाएका थिएनन्। अरु कुनै संस्थाले आयोजना गरेको एक कार्यक्रममा ट्रम्प र मेस्सी एउटै स्टेजमा भने देखिएका थिए। उनिहरुबीच हाइ हेलोसम्म भएको थियो। तर मेस्सी त्यति ठुला खेलाडी हुन् भनेर ट्रम्पले उनलाई यसबीचमा भाउ दिएको देखिँदैन। यही पृष्ठभूमीमा रोनाल्डो भने ह्वाइट हाउसमा आयोजना भएको विशेष रात्रि भोजमा देखिए। त्यति मात्र होइन, त्यहाँ ट्रम्पले रोनाल्डोलाई सम्बोधन पनि गरे। ट्रम्पले रात्रिभोजमा सहभागी भएकामा धन्यवाद पनि दिए।
उनले आफ्नो कान्छो छोरा ब्यारोन रोनाल्डोको ठुलो फ्यान भएको पनि बताए। रोनाल्डोलाई भेट्न पाएर आफ्नो १९ वर्षीय छोरा इम्प्रेस भएको पनि उल्लेख गरे। उनले सम्बोधनका क्रममा भने : अब ब्यारोनले आफ्नो बुबालाई अझ बढि सम्मान गर्ने छ किनभने आज मैले उसलाई रोनाल्डोलाई चिनाई दिएको छु।
रोनाल्डो एपलका सीईओ टिम कुक र टेस्लाका मालिक एलन मस्कसँगै बसेर ट्रम्पलाई सुनिरहेका थिए। डिनरमा रोनाल्डोले सेल्फी पनि लिएका थिए। रोनाल्डोले त्यहाँ केही सम्बोधन गरेनन्। अझ भनौँ त्यहाँ उनी बोल्ने कार्यक्रम नै थिएन। तर यसअघि उनले ट्रम्पबारे खुलेर बोलेका थिए एक अन्तर्वार्तामा। त्यस अन्तर्वार्तामा उनले ट्रम्पसँग भेट्ने चाहना रहेको बताएका थिए।
ट्रम्पले भेटघाटको चाँजोपाजो मिलाउन सक्ने उनको भनाई थियो। उनले आफुलाई ट्रम्पलाई भन्दा बढी मानिसले चिन्ने बताए। आफु जति फेमस विश्वमा कोही नभएको उल्लेख गर्न पनि उनले भ्याइहाले। तर जे होस् रोनाल्डोले भनेजस्तै ट्रम्पलाई भेट्ने उनको चाहना पुरा भएको छ।
तपाईहरुलाई अघिदेखि कति बेला भन्छ भन्ने लागिरहेको होला ? रोनाल्डो कसले बोलाएर त्यहाँ पुगेका हुन् त ? खासमा ट्रम्पले बुधबार साउदी अरबका युवराज अर्थात क्राउन प्रिन्स मोहम्मद बिन सलमानका लागि उक्त रात्री भोज आयोजना गरेका थिए। क्राउन प्रिन्स मोहम्मद बिन सलमान हाल औपचारिक भ्रमणका क्रममा अमेरिकामा छन्।
रात्री भोजमा उनको टोलीबाट झन्डै ३० जना सहभागी थिए। तीमध्ये एक रोनाल्डो पनि भएको अल जजिराले उल्लेख गरेको छ। रोनाल्डो र जर्जिना कहिले अमेरिका गएका थिए ? की उनिहरु पनि क्राउन प्रिन्ससँगै गएका थिए ? त्यसबारे केही पनि स्पष्ट पारिएको छैन। तर क्राउन प्रिन्सका लागि आयोजित रात्री भोजमा रोनाल्डो दम्पत्ती पनि देखिए। क्राउन प्रिन्स र उनको टोली बुधबार अमेरिका पुगेका थियो
साउदी प्रो लिगमा रोनाल्डो खेलिरहेको अल नासरमा सरकारी स्वामित्वको पब्लिक इन्मेस्टमेन्ट फन्ड पीआईएफको ७५ प्रतिशत स्वामित्व छ। पीआईएफका अध्यक्ष क्राउन प्रिन्स मोहम्मद बिन सलमान हुन्। रोनाल्डो कसरी रात्री भोजमा पुगे भन्नेबारे यस्ता विभिन्न तथ्यहरुलाई अगाडि सारेर अनुमान भइरहेको छ। आगामी वर्ष हुने विश्वकपको एक आयोजक अमेरिका पनि रहेको छ। रोनाल्डोले उक्त विश्वकप खेल्ने नखेल्ने निश्चित भइसकेको छैन।



