काठमाडौं। केपी शर्मा ओली पुन नेकपा एमाले अध्यक्ष निर्वाचित भएका छन्। ११ औँ महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको हो। ओलीले इश्वर पोखरेललाई हराएका हुन्। ओली र पोखरेल मात्र अध्यक्षको प्रतिस्पर्धामा थिए।
ओलीले एक हजार ६ सय ६३ मत ल्याए भने पोखरेललाई ५ सय ६४ मात्र मत प्राप्त भयो। २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। ३६ जनाले भने मत दिएनन्। अध्यक्ष जित्न कम्तिमा एक हजार १ सय १४ मत चाहिएको थियो।

चुनावी प्रतिस्पर्धामा ओली र पोखरेल प्यानल बनाएर उठेका थिए। पदाधिकारीमा पोखरेल प्यानलका दुई जनाबाहेक सबै ओली प्यानलले जित्यो। पोखरेल प्यानलका योगेश भट्टराईले उपमहासचिव र गोकर्ण विष्टले उपाध्यक्ष जिते।
एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिवसहित १९ पदाधिकारी गरी पदका लागि मतदान भएको थियो।



