काठमाडौं। नेपालको वैदेशिक व्यापार घाटा झन्डै ११ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सुरुको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षमा उक्त वृद्धी आएको हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहोरेका छ । १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा रहेको विभागको तथ्यांक छ।

गत फागुन मसान्तसम्म अर्थात यो आर्थिक वर्षको सुरुको ८ महिना नेपालले १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख वैदेशिक ब्यापार गरेको छ। त्यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागको तथ्यांक छ।
आयाततर्फ १२.५४ र निर्याततर्फ २९.८३ प्रतिशतले बढेको छ । सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग रहेको छ। विभागका अनुसार भारतसँगको व्यापार घाटा पाँच खर्ब ६७ अर्ब ३९ करोड छ ।
उक्त अवधिमा भारतबाट सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । यस्तै चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र ९८ करोड ३३ लाखको निर्यात भएको विभागले जनाएको छ।


