काठमाडौं। नेपालले त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा हार ब्यहोरेको छ।
यूएईसँगको दुई खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा सोमबार नेपाली टोली ६ विकेटले पराजित भयो। यूएईले डीएल मेथडमा १० ओभरमा ७८ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।

यूएईले ७ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। कप्तान मुहम्मद वासिम एक्लैले १५ बलमा ३३ रन जोडे। एलिसन सराफुले १८ र अक्सदिप नाथले १७ रन बनाए। नेपालका सन्दीप लामिछानेले २ओभरमा ८ रन खर्चिएर ३ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.१५ ओभरमा ८ विकेट गुमाएर एक सय २२ रन जोडेको अवस्थामा भारी वर्षा सुरु भएको थियो। त्यसपछि सुरु भएको खेलमा डीएल मेथडबाट लक्ष्य पाएको थियो।
नेपालको इनिङ्समा कप्तान दिपेन्द्रसिंह ऐरीले ३५ बलमा ३२, कुशल मल्लले २१ बलमा १७, कुशल भुर्तेलले ९ बलमा १६, अर्जुन साउदले ११ बलमा १३ र बासिर अहमदले ११ बलमा १४ रन बनाए। नन्दन यादबले पनि १३ रन जोडे।


