काठमाडौं। विश्वकप लिग-२ क्रिकेटमा नेपालले शानदार पुनरागमन गरेको छ। पछिल्लो एक महिनामा घरेलु मैदानमा खेलेका प्रतियोगिताका दुईवटा शृंखलाका ८ खेलमध्ये ६ वटा जितेको छ। यसक्रममा अंक तालिकाको शीर्ष तीन स्थानमा रहेका सबै टोलीलाई हराएको छ।
एक महिना अघिसम्म नेपाल अंक तालिकामा २० खेलबाट १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा थियो। तर दुईवटा शृंखला खेलेपछि नेपाल २८ खेलबाट २४ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा सकिएको पछिल्लो शृंखलाअन्तर्गत नेपालले शीर्षस्थानको अमेरिकासँग दुवै खेल जित्यो भने दोस्रो स्थानको स्कटल्यान्डसँग एक जित र एक हारको नतिजा निकाल्यो। अघिल्लो महिना नेपालले घरेलु मैदानमै ओमान र यूएईसँग खेलेको थियो। अंक तालिकाको तेस्रो स्थानमा रहेको ओमानसँग नेपालले दुवै खेल जितेको थियो भने यूएईसँग एक जित र एक हारको नतिजा निकालेको थियो।
२८ खेलबाट अमेरिका ३८ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अंक नै रहेको छ। ओमानको २८ खेलबाट ३१ अंक छ। चौथो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८ अंक रहेको छ। २४ खेल खेलेका क्यानडाको २१ र २८ खेल खेलेको नामिबियाको २२ अंक छ। २४ खेल खेलेको यूएईको १४ अंक छ।
नेपालले अब नेदरल्यान्ड्समा घरेलु टोलि र नामिबिया तथा ओमानमा घरेलु टोली र क्यानडासँग शृंखला खेल्ने छ।

