काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा देशको विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ।

यसैगरी खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित) ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ३२.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ४ खर्ब ३८ अर्ब ५२ करोड अर्थात् २२.० प्रतिशतले बढेको थियो।
खुला बजार कारोबार र नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरी अधिक तरलता प्रशोचन गरिएकोले समीक्षा अवधिमा सञ्चित मुद्रा १.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.५ प्रतिशतले बढेको थियो। यद्यपि वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा सञ्चित मुद्रा ९.० प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत अर्थात् ६ खर्ब ८५ अर्ब ४१ करोडले वृद्धि भइ कुल ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ६.२ प्रतिशत अर्थात् ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँले बढेको थियो।
निजी क्षेत्रतर्फको कर्जा प्रवाहको अवस्था हेर्दा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्बले वृद्धि भइ कुल ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशत अर्थात् ३बखर्ब ६८ अर्ब ६८ करोडले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा ६.७ प्रतिशतले बढेको छ।
क्षेत्रगत रूपमा निर्माण क्षेत्रमा १२.८ प्रतिशत, उपभोग्य क्षेत्रमा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १०.९ प्रतिशत, औद्योगिक उत्पादनमा ६.८ प्रतिशत, सेवा उद्योगमा ३.३ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.० प्रतिशतले कर्जा बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको छ।


