काठमाडौं। वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीहरूको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको सुरुको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर जम्मा १३.३ प्रतिशत मात्र थियो।
वैशाख महिनामा मात्रै रेमिट्यान्स संकलनमा ठुलो रेकर्ड कायम भएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ नेपाल भित्रिएको छ, जबकि अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र आएको थियो।

राष्ट्र बैंकका अनुसार नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या भने गत वर्षको ४ लाख ५ हजार ६१० बाट घटेर यसपटक ३ लाख ३५ हजार ५१० मा सीमित भएको छ।
तर, पुराना र अनुभवी कामदारहरू पुनः श्रम स्वीकृति लिएर विदेशिने क्रम भने बढेको छ। यसपालि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजारबाट बढेर ३ लाख २६ हजार ३६४ पुगेको छ।


