काठमाडौं। चारपटकको विजेता जर्मनीले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ। उसले पहिलो खेलमा क्युरासाओलाई ७-१ गोलले हरायो। विश्वकपमा सहभागी हुने सबैभन्दा कम जनसंख्या भएको देशका रुपमा इतिहास बनाएको क्यारेबियन टापु क्युरासाओ यो खेलमा निरिह देखियो।
जर्मनीको फराकिलो जितमा काई हाभार्ट्जले दुई तथा फेलिक्स मेचा, डेनिज उन्दभ, नाथानियल ब्राउन, जमाल मुसियाला, निको स्कल्टरबेकले एक एक गोल गरे। उन्दभले दुई गोलमा असिस्ट गरे।

जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो। विश्वकपमा डेब्यु टोलीले पहिलो खेलमै यति फराकिलो गोलअन्तरले पराजित भएको ७२ वर्ष यताकै धेरै हो। अन्तिमपटक दक्षिण कोरियाले हंगेरीसँग ९-० गोलको हार ब्यहोरेको थियो।
विश्वकप फुटबलमा सबैभन्दा फराकिलो हारको कीर्तिमान भने सन् १९८२ को विश्वकपमा हंगेरीले एल साल्भाडोरमाथी प्राप्त गरेको १०-१ गोलको रहेको छ। सन् २०१४ को विश्वकप जितेर त्यसपछिका लगातार दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको जर्मनीले यसपटक भने शानदार सुरुवात गरेको छ।
जर्मनीले विश्वकपमा अन्तिमपटक कम्तिमा ६ गोलअन्तरको जित ब्राजिलमाथी हात पारेको थियो सन् २०१४ को विश्वकप सेमिफाइनलमा, ७-१ कै अन्तरले जित हात पारेको थियो।
यस्तै अर्को खेलमा जापानले नेदरल्यान्ड्ससँग २-२ गोलको बराबरी खेल्यो। जापान दुईपटक पछाडि परेर खेलमा फर्किएको हो। नेदरल्यान्ड्सका भान डायक र क्रिसेन्सियो समरभायल तथा जापानका कैटो नाकामुरा र दाइची कामदाले गोल गरे।
चारवटै गोल दोस्रो हाफमा भएका थिए। ५१ र ६४ औँ मिनेटमा नेदरल्यान्ड्सले गोल गरेको थियो भने जापानले सुरुमा ५७ र त्यसपछि ८८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो।
यस्तै १२ वर्षपछि विश्वकप खेलिरहेको आईभरिकोस्टले इक्वेडरलाई १-० गोलले हराएको छ। वैकल्पिक खेलाडी अमाद डियालोले ९० औँ मिनेटमा गोल गरेका थिए। उनलाई ५६ औँ मिनेटमा मैदान प्रवेश गराइएको थियो। त्यसअघि इक्वेडरका तीनवटा प्रहार बारमा लागेको थियो।


