काठमाडौं। विश्वकप फुटबलअन्तर्गत बलिया टोलीहरु स्पेन, बेल्जियम र उरुग्वे पहिलो खेलमै बराबरीमा रोकिएका छन्। पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो।
४० वर्षीय गोलकिपर वोजिन्हाले शानदार प्रदर्शन गरे। उनले स्पेनका ७ वटा प्रहार विफल बनाएका थिए। स्पेनले खेलभर २७ वटा प्रहार गरेको थियो। अर्को खेलमा बेल्जियमले इजिप्टसँग तथा उरुग्वेेले साउदी अरबसँग १-१ गोलको बराबरी खेले।

इमाम आसौरले मोहमद सलाहको पासलाई सदुपयोग गर्दै २० औँ मिनेटमा इजिप्टलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बेल्जियम बराबरीमा पुगेको थियो तर आत्म घाती गोलमा। इजिप्टका डिफेन्डर मोहमद हानीबाट आत्म घाती गोल भएको थियो।
यता अर्को खेलमा ४१ औँ मिनेटमा अब्दुलेल अल अम्रीको गोलमा साउदी अरबले अग्रता लिएको थियो। उरुग्वेले ८० औँ मिनेटमा खेल बराबरीमा ल्याएको थियो। मेक्सिमिलियानो अराउजोले गोल गरेका थिए।
मंगलबार बिहान भएको अर्को खेलमा इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेल्यो। इरानले दुईपटक पछाडि परेर पनि खेल बराबरी गर्यो।
इरानका रमिन रेजाइयान र मोहम्मद मोहेबीले गोल गरे। रेजाइयानले दोस्रो गोलका लागि असिस्ट पनि गरेका थिए। उता न्युजिल्यान्डका दुवै गोल एलिजे हेनरी जस्टले गरे। न्युजिल्यान्डले ७ र ५४ औँ तथा इरानले ३२ र ६४ औँ मिनेटमा गोल गरेको थियो।


