काठमाडौंं। एर्लिङ हालान्ड र केलियन एमबाप्पेको शानदार प्रदर्शनपछि नर्वे र फ्रान्सले विश्वकप फुटबलमा गतिलो सुरुवात गरेका छन्। बुधबार बिहान भएका खेलमा फ्रान्सले सेनेगललाई ३-१ तथा नर्वेले इराकलाई ४-१ गोलले हराए। हालान्ड र एमबाप्पे दुवैले २/२ गोल गरे।
फ्रान्स र सेनेगलबीच भएको खेलमा चारवटै गोल दोस्रो हाफमा भएका थिए। एमबाप्पेले ६६ औँ मिनेटमा खाता खोले। बार्कोलाले ८२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। इन्जुरी समयमा एमबाप्पे र सेनेगलका १८ वर्षे इब्राहिम एम्बायले गोल गरेका थिए।

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा एमबाप्पेले १४ गोलसहित मेस्सीलाई पछाडि पारेका छन्। मेस्सीको १३ गोल छ। यस्तै फ्रान्सको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनको ५८ गोल पुगेको छ भने ओलिभर गिरोडको कीर्तिमान तोडिएको हो।
यता २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले पहिलो खेलमा शानदार प्रदर्शन गर्दा क्लब फुटबलमा गोल मेसिनको छवी बोकेका हालान्ड पनि खह्रो उत्रिए। हालान्डले २९ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर एमेन हुसेनले ३९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। त्यसपछि हालान्डले नै ४३ औँ मिनेटमा फेरी गोल गर्दै अग्रता दिलाएका थिए। नर्वेका लियो ओस्टिगार्डले ७६ औँ मिनेटमा गोल थपेका थिए।
इराकका लागि गोल गरेका एमेन हुसेनबाटै इन्जुरी समयमा आत्मघाती पनि गोल भएको थियो।

