काठमाडौं। लुकास जिदानले सम्हालेको अल्जेरियाको गोल पोस्टमा बुधबार बिहान लियोनल मेस्सीले तीन गोल गरेपछि यी गोलकिपर जिनेदिन जिदानका आफन्त हुन् की क्या हो भनेर खोजेको ठ्याक्कै छोरा पो रहेछन्। यति महान् खेलाडीका छोराले खेल्न किन अल्जेरिया रोजे होलान् ? लागेर यसो गुगल गर्न थालेको कहानी त रोचक रैच।
जिनेदिन जिदान जन्मनुभन्दा अगावै उनको परिवार अल्जेरियाबाट बसाई सरेर फ्रान्स आएको रहेछ। उनले पनि चाहेको भए अल्जेरियाको प्रतिनिधित्व गर्न सक्थे तर फ्रान्सबाटै खेले, विश्वकप जिते, बेलोन डीअर हात पारे। १७ वर्षकै उमेरमा भेट भएकी प्रेमिकासँग पछि विवाह गरे।

उनिहरुका चार सन्तानका रुपमा चार जना छोरा भए। जिदानले सन् २००१ देखि ५ वर्ष व्यावशायीक फुटबल रियल म्याड्रिडबाट खेले। पछि प्रशिक्षकका रुपमा पनि उनले रियल म्याड्रिडमा झन्डै ६/७ वर्ष विताए। जिदानले आफ्ना सबै छोरालाई रियल म्याड्रिडको एकेडेमीमा राखेका थिए।
जेठा छोरा इन्जो जिदान जो अहिले ३१ वर्षका भए उनले स्पेन र फ्रान्स दुवैको उमेर समूहको राष्ट्रिय टोलीबाट खेले। तर त्यहाँबाट उनी माथी उठ्न सकेनन्। व्यावशायीक फुटबल पनि उनका लागि राम्रो देखिएन।
माइला छोरा लुकास जो अहिले २८ वर्षका भए उनले फ्रान्सको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट खेले । तर, सिनियर राष्ट्रिय टोलीका लागि भने अल्जेरिया रोजे(फ्रान्सबाट सम्भावना नदेखेर पनि हुन सक्छ)। बाबुभन्दा फरक उनी गोलकिपर थिए। एक वर्ष मात्र भयो उनले सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको, अल्जेरियाबाट। उनी ग्रानडाबाट व्यावशायीक फुटबल खेल्छन्।
साहिँला छोरा थियो २४ वर्षका भए उनले फ्रान्सको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका छन्। तर सिनियर राष्ट्रिय टोलीमा उनको पालो आइसकेको छैन। यी मिडफिल्डर स्पेनको दोस्रो डिभिजन क्लब कोर्डोबाबाट व्यावशायीक फुटबल खेल्छन्।
कान्छा छोरा एलियाज जो अहिले २० वर्षका भए उनले पनि फ्रान्सको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। यी डिफेन्डर बेटिस बीबाट खेल्छन्। लुकासबाहेक अन्य तीन जना छोराको प्रभाव फुटबलमा खासै देखिएको छैन।
बुधबार अल्जेरियाले अर्जेन्टिनासँग खेल्दा बाबु जिदान पनि खेल हेर्न पुगेका थिए। रमाइलो के छ भने खेलाडी र प्रशिक्षक दुवै रुपमा मेस्सीसँग जिनेदिन जिदान आमने सामने भएका थिए। सन् २००५ मा रियल म्याड्रिड र बार्सिलोना भिड्दा यी दुई खेलाडी विपरित क्लबमा थिए। पछि जिदान रियल म्याड्रिडको प्रशिक्षक बनेर आए। त्यतिबेला मेस्सी बार्साबाटै खेलिरहेका थिए। तर जिदानविरुद्ध मेस्सीले कहिल्यै ह्याट्रिक गर्न सकेका थिएनन्।


