विश्वकप इतिहासमा क्यानडाले पहिलो जित हात पार्यो, कतारलाई ६-० गोलले हराउँदै। कतार ३३ औँ मिनेटमा १० खेलाडी र ५३ औँ मिनेटमा ९ खेलाडीमा सिमित भएको थियो। क्यानडाका जोनाथन डेभिडले ३ तथा कायल लारिन र नाथन सालिबाले एक एक एक गोल गरे।
एक गोल कतारका खेलाडीबाट आत्मघाति भयो। क्यानडाले १६ औँ मिनेटमा अग्रता लिएको थियो। जोनाथनले २९ औँ मिनेटमा व्यक्तिगत खाता खोलेका थिए। उनले पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। जारी प्रतियोगितामा लियोनल मेस्सीपछि उनी ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। जोनाथन युभेट्न्सबाट व्यावशायीक फुटबल खेल्छन्।

क्यानडा तेस्रोपटक विश्वकप खेलिरहेको छ। पहिलोपटक सन् १९८६ र दोस्रोपटक सन् २०२२ मा विश्वकप खेलेको थियो तर दुवैपटक एउटा पनि खेल जित्न सकेको थिएन। अहिले जारी प्रतियोगिताको एउटा आयोजकका रुपमा क्यानडा रहेको छ।
२ खेलबाट क्यानडा ४ अंक जोड्दै पहिलो स्थानमा छ। पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो।स्वीट्जरल्यान्डको पनि यो समूहमा ४ अंक छ। उसले पछिल्लो खेलमा बोस्नियालाई ४-१ गोलले हरायो। स्वीट्जरल्यान्डले यो खेलमा ७४ औँ मिनेटमा पहिलो गोल गरेको थियो।
तीन मिनेट अघि मात्र मैदान छिरेका जोहान मन्जाबीले गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा बोस्निया १० खेलाडीमा सिमित भएको थियो। दुई मिनेटलगत्तै रुबेन भर्गसले अग्रता दोब्बर बनाए।
९० औँ मिनेटमा मन्जाबीले भर्गसको पासमा गोल गर्दै टोलीलाई ३-० गोलले अगाडि बढाएका थिए। इन्जुरी समयमा दुवै टोलीबाट एक एक गोल भयो। अर्को खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिकबीच १-१ गोलको बराबरी भयो। पहिलो खेलमा हार ब्यहोरेका यी दुई टोलीबीच भएको यो प्रतिस्पर्धा दक्षिण अफ्रिकाले अन्तिम समयमा गोल गरेर बराबरी गरेको हो।


