काठमाडौं। ५ पटकको पूर्व विजेता ब्राजिललाई २-१ गोलले हराएर नर्वे जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। सोमबार बिहान भएको खेलमा नर्वेका दुवै गोल एर्लिङ हालान्डले गरे।
अन्तिम समयमा नेमारले पेनाल्टीमार्फत एक गोल गरेपनि ब्राजिल खेलमा फर्कन सकेन। २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेका लागि क्वाटरफाइनल यात्रा विश्वकपमा ऐतिहासिक सफलता हो। यसअघि अन्तिम १६ सम्म पुगेको थियो। नर्वेले अब सेमिफाइनल पुग्न इङ्ल्यान्डसँग खेल्ने छ।

इङ्ल्यान्डले सोमबार बिहान भएको खेलमा मेक्सिकोलाई ३-२ गोलले हरायो। इङ्ल्यान्ड यो खेलमा ५४ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। तर मेक्सिकोसँग उसले सम्हालिएर खेल्यो। जुड बेलिङ्घमले २ र हेरि केनले १ गोल गरे। बेलिङघमले २ मिनेटको अन्तरमा २ गोल गरेपछि इङ्ल्यान्ड सुरुको ३८ मिनेटमै २-० गोलले अगाडि बढेको थियो।
जुलियान क्विनोनेसले ४२ औँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयाश गरेका थिए। दोस्रो हाफको सुरुवातमै जारेल क्वानसाले रातो कार्ड पाएपछि इङ्ल्यान्डमा संकटमा परेको थियो। तर उल्टै इङ्ल्यान्डले गोल थप्यो। केनले ६० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। ६९ औँ मिनेटमा राउल जिमिनेजले पनि पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयाश गरेका थिए। तर त्यसपछि उसले गोल थप्न सकेन।


