काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने प्रकरणमा दुई पूर्वमन्त्रीसहित १५ जना दोषी ठहर भएका छन्ला। काठमाडौं जिल्ला अदालतले सात जनालाई भने सफाई दिएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर हुने फैसला सुनाएको हो । उनिहरुलाई कति सजाय हुने भन्ने निर्णय हुन बाँकी छ। त्यसका लागि असार २९ गतेका लागि पेसी तय भएको छ ।

काठमाडौँ जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । रिजालसहित केशवप्रसाद दुलाल र सानु भण्डारी पनि किर्तेको आरोपमा दोषी ठहर भएका छन् । भुटानी शरणर्थी प्रकरणलाई संगठित अपराधसँग जोडेर हेरेकाले मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते आरोपमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानासम्म सजाय निर्धारण हुन सक्छ ।
काठमाडौँ जिल्ला अदालतले नौ जनालाई ठगी एवं संगठित अपराधमा दोषी ठहर गरेको छ । केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा संगठित अपराधमा कसुरदार ठहरिएका छन् ।
उनीहरू बाहेक तत्कालीन सचिव टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी पनि संगठित अपराधमा दोषी ठहरिएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण ठगी र संगठित अपराधको कसुरमा मतियार ठहर भएका छन् । त्यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल संगठित रूपमा गरेको ठगीमा दोषी ठहरिएका छन् ।

