काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई कैद सजाय सुनाएको छ।
जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।

न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना तोकिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण भएको छ ।
अन्य दोषीलाई पनि कसुरको मात्रा हेरी फरक फरक सजाय निर्धारण गरिएको छ ।

