काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदै छ। हरेक वर्षको साउन १ गते नयाँ आर्थिक वर्ष सुरु हुन्छ भने असार मसान्तमा पुरानो आर्थिक वर्ष समाप्त हुन्छ। नीति तथा कार्यक्रम र बजेटमार्फट गरिएका घोषणाहरु साउन १ गतेदेखि लागु हुन्छन्।
यसपटक धेरै कर नीतिमा केही हेरफेर भएका छन्। व्यक्तिगत आयकर, भन्सार, अन्तःशुल्क, हरित कर तथा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर प्रणालीमा उल्लेखनीय परिवर्तन गरिएको छ।

व्यक्तिगत आयकरतर्फ १० लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत कर लाग्ने छ। १० देखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ देखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ देखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा २९ प्रतिशत कर लाग्नेछ।
आर्थिक ऐन, २०८३ अनुसार आजैदेखि विभिन्न नयाँ शुल्कसमेत कार्यान्वयनमा आएको छ । निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तथा निजी स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ कार्यान्वयनमा आएको छ।
यस्तै, घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ । अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने परिवारले ५ प्रतिशत भ्याट तिर्नुपर्ने भएको छ। सरकारले यसको भार अन्तिम उपभोक्तामा नपर्ने गरी वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म त्यससम्बन्धी स्पष्ट व्यवस्था सार्वजनिक गरेको छैन।
अब पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत ‘विलासिता शुल्क’ लाग्नेछ। मिनी क्यासिनोले तिर्दै आएको वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी ३ करोड रुपैयाँ पुर्याइएको छ। सुनचाँदीका गरगहना किन्नेले पनि थप कर तिर्नुपर्ने भएको छ। सुनचाँदीका गहना खरिद गर्नेले ०.५ प्रतिशत ‘सीप प्रवर्द्धन शुल्क’ तिर्नुपर्ने भएको छ। साथै, राइड सेयरिङ (पठाओ, इनड्राइभ आदि) सेवामा पनि ५ प्रतिशत सेवा शुल्क थपिएको छ।


