काठमाडौं। स्पेन र अर्जेन्टिना विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएपछि लियोनल मेस्सी-लमिन यमालबारे त थुप्रै जानकारी पाइसक्नु भएको होला ! यो प्रतिस्पर्धासँग जोडिएका अन्य महत्वपूर्ण र रोचक तथ्यबारे यहाँ चर्चा गर्ने छौँ
-स्पेन साविक युरो कप विजेता र अर्जेन्टिना साविक विश्वकप विजेता हो। अर्जेन्टिना साविक कोपा अमेरिका विजेता पनि हो। युरो कप र कोपा अमेरिका विजेताले प्रतिस्पर्धा गर्ने फाइनलिस्सिमा गत मार्चमा हुने तय भएको थियो तर खाडी त नावका कारण त्यो सन्चालन हुन सकेको थिएन। सन् २०२४ मा अर्जेन्टिनाले कोपा अमेरिका र स्पेनले युरो कप जितेका थिए। त्यसअघि सन् २०२२ मा भएको फाइनलिस्सिमा इटालीलाई हराएर अर्जेन्टिनाले जितेको थियो। सन् २०२१ मा कोपा अमेरिका जितेर मेस्सीले पहिलोपटक सिनियर राष्ट्रिय टोलीका लागि उपाधि हात पारेका थिए।

– स्पेनले सन् २००८ देखि २०१२ सम्म लगातार दुई युरोकप र एक विश्वकप जितेको थियो। स्पेन अहिले साविक युरो कप विजेता भएकाले त्यो इतिहास दोहोर्याउने प्रयाशमा रहेको छ। यता अर्जेन्टिनाले पनि सन् २०२१ यता लगातार दुई कोपा अमेरिका र एक विश्वकप जितेको छ। अहिले विश्वकप उपाधि रक्षा गर्ने प्रयाशमा रहेको छ। अन्तिमपटक ब्राजिलले विश्वकपको उपाधि रक्षा गरेको थियो, सन् १९६२ विश्वकपमा।
– सन् २०१० मा पहिलोपटक विश्व विजेता बन्दा स्पेन युरोपभन्दा बाहिर आयोजना भएका विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो। दक्षिण अफ्रिकामा भएको त्यस विश्वकपमा फाइनल पुग्ने दुवै टोली युरोपेली थिए। त्यसअघि युरोपभन्दा बाहिर भएका सबै विश्वकप दक्षिण अमेरिकी टोलीले जितेका थिए। त्यसपछि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जर्मनीले जितेको थियो, फाइनलमा अर्जेन्टिनालाई हराएर। त्यसको चार वर्षपछि युरोपमै आयोजना भएको विश्वकप उपाधि फ्रान्सले जित्यो। कतारमा भएको सन् २०२२ विश्वकप फ्रान्सलाई हराएर अर्जेन्टिनाले जितेको थियो। विश्वकपमा युरोप र दक्षिण अमेरिकाबीचको ल डाई निरन्तर छ। अहिले उत्तर अमेरिकाका तीन देशले आयोजना गरिरहेको विश्वकपमा अर्जेन्टिना र स्पेन फाइनल पुगेका छन्।
-विश्वकपमा स्पेन र अर्जेन्टिना पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोलीबीच अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा भएको थियो, मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा। उक्त खेल स्पेनले ६-१ गोलअन्तरले जितेको थियो। यी दुई टोलबीच ५ पटक प्रतिस्पर्धा भएकामा स्पेनले ३ पटक र अर्जेन्टिनाले २ पटक जितेको छ।
-अर्जेन्टिना १४ खेलयता अपराजित छ भने उसले यी सबै खेल जितेको छ। अन्तिमपटक गत अगस्टमा इक्वेडरसँग पराजित भएको थियो १-० गोलले।
विश्वकपका हकमा सन् २०२२ को विश्वकपको पहिलो खेलमा हार ब्यहोरेयता हरेक खेल जितेको छ। यता स्पेन विश्व कीर्तिमानी ३७ खेलयता अपराजित(नेसन्स लिगको फाइनलमा हार ब्यहोरेपनि टाइब्रेकरमा थियो ) छ। अर्जेन्टिनालाई हराउन सके नयाँ विश्व कीर्तिमान बनाउने छ।
– यो विश्वकपमा स्पेनले १३ गोल गरेको छ भने एक गोल मात्र ब्यहोरेको छ। बेल्जियमले क्वाटरफाइनलमा स्पेनलाई गोल गरेको थियो। कुनै पनि खेल अतिरिक्त समयमा पुगेको छैन। यता अर्जेन्टिनाले १९ गोल गरेको छ भने ७ गोल ब्यहोरेको छ। उसले पछिल्ला ५ खेलमा लगातार गोल ब्यहोरेको छ जसमा दुईवटा खेल अतिरिक्त समयमा पुगेर जितेको थियो।

