काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवशायी संघले आन्दोलन घोषणा गरेको छ। शुक्रबार रातीदेखि सरकारी सेवा नलिने र माग पुरा नभए भदौ १ गदेखि श्रमिक बाहिर नपठाउने म्यानपावर व्यवशायीले घोषणा गरेका छन्।
यसअघि संघले सरकारलाई १५ बुँदे माग अघि सारेको थियो। तर ती मागको सुनुवाई नगरिएको संघको गु नासो छ। आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए । संघ अध्यक्ष डिकबहादुर खत्रीले आजसम्म श्रम स्वीकृति लिइसकेकाको हकमा १ भदौसम्म वैदेशिक रोजगारीमा पठाइसक्न समय दिइएको बताए ।

विभागले पूर्व र अन्तिम श्रम स्वीकृति, विज्ञापन, मागपत्र प्रमाणीकरण लगायत सेवा प्रदान गर्दै आएको छ । संघले माग सम्बोधन नहुँदासम्म यी सेवा नलिने घोषणा गरेको हो । चरणबद्ध आन्दोलन घोषणा गरेको संघले माग सम्बोधन नभएसम्म म्यानपावरले आफ्ना कार्यालयको तालाचाबी सरकारलाई बुझाउने जनाएको छ।
श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क तोकिनुपर्ने, श्रमिक लक्षित श्रम गन्तव्य मुलुकको हवाई भाडादर न्यूनीकरण र कृत्रिम अभाव सिर्जना अन्त्य गर्नुपर्ने लगायत माग व्यवशायीले अघि सारेका छन्।


