काठमाडौं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मदिरा सेवन गरेर फेसबुक लाइभमा बोलेको र उनको भनिएको अश्लिल भिडियोबारे प्रष्टिकरण दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले आरोपहरु निराधार भएको बताए।
उनले भने :

आज ममाथि गम्भीर किसिमको आरोप लागेका छन् । रक्सी खाएर जे पायो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन् । म सिंगो देशलाई साक्षी राखेर यो संसद्को रोष्ट्रममा उभिएर प्रतिनिधिसभाको एक सांसदको हैसियतले सम्माननीय सभामुख र सिंगो संसद्सँग अपिल गर्न चाहन्छु, यही संसद्मा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँचियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मदिराको एक थोपामात्रै पनि मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु । होइन भने यही संसद्का सदस्यहरू अल्गोरिदम फैलाउँदै आरोप फैलाउँदै गर्नेहरूको पनि स्वास्थ्य परीक्षण गरियोस् । यो संसद्मा म आज आफैंलाई अग्निपरीक्षा दिन उभिइरहेको छु । यो मेरोमात्रै होइन, नेपालको धेरैजसोको समस्या हो। नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले गलत र भ्रामक सूचनाका कारण आफैंले घाँटी रेटेर आत्महत्या गरेको इतिहास छ । आज त्यस्तै अवस्था म माथि आइपरेको छ । खाइ न पाइ छालाको टोली लाइ भनेजस्तो उखान चरितार्थ भएको छ ।




